बिहिबार, बैशाख १३, २०८१

पत्रकारिता क्षेत्रको नारा समृद्धिका लागि सञ्चार राख्न प्रस्ताव:सञ्चारमन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कोरोनाविरुद्धको खोप खरिदका लागि मूल्य निर्धारण नभएको बताएका छन् ।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले केही सञ्चारमाध्यममा कोरोनाविरुद्धको खोप ४ अमेरिकी डलर प्रतिडोजमा खरिद गर्न लागिएको भनेर आएका समाचारप्रति लक्षित गर्दै खोप खरिदका लागि मूल्य निर्धारण गर्न नभएको बताएका हुन् ।

मन्त्री गुरुङले सरकारले भारतीय खोप निर्माता कम्पनीसँग सोझै खोप खरिद गर्न लागेकोमा सार्वजनिक खरिद ऐनले केही बाधा गरेको भन्दै ऐनअनुसार देखिएको बाधा फुकाउनका लागि मन्त्रिपरिषदले आवश्यक निर्णय गरेको प्रस्ट पारे ।

मन्त्री गुरुङले पत्रकारिता क्षेत्रको नारा परिवर्तन गरी समृद्धिका लागि सञ्चार भन्ने नारा राख्नुपर्ने प्रस्ताव समेत गरेका छन् । प्रजातन्त्र दिवसका अवसरमा उनले अब विकासका लागि सञ्चारको नारा परिवर्तन गरी उक्त नारा राख्नुपर्ने प्रस्ताव गरेका हुन् । सरकार अब विकासभन्दा समृद्धितर्फ उन्मुख भएको उनको भनाई छ । यस्तै, सरकारले ७१ औं प्रजातन्त्र दिवसको अवसर पारेर ५ सय ८० कैदीको बाँकी कैद सजाय मिनाहा र १५ जनालाई आममाफी दिने निर्णय गरेको छ ।

यस्तै बैठकले नेपाल न्याय सेवाको विशिष्ट श्रेणीको सर्वोच्च अदालतको रजिष्ट्रार पदमा कार्यरत सचिव लालबहादुर कुँवरलाई नेपाल न्याय सेवाको राजपत्रांङ्कित विशिष्ट श्रेणीको सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार पदमा बढुवा गर्ने निर्णय पनि गरेको छ । सरकारले योगमाया आयुर्वेद विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको अध्यक्षमा प्राध्यापक अनुपकुमार श्रेष्ठ, सदस्यहरुमा डा. देवकला भण्डारी, डा. राजकिशोर शाह, राजकुमार घिमिरे र रामचन्द्र न्यौपानेलाई नियुक्ति गर्ने निर्णय गरेको छ ।