शुक्रबार, बैशाख १४, २०८१

श्रमजिवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक लागू गर्न उपराष्ट्रपतिद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले श्रमजिवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक लागू गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबार नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशनलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले श्रमजिवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक लागू गर्न र साना लगानीको सञ्चारमाध्यमहरुलाई माथि उठाउनका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् ।

जनतालाई सुसूचित गर्दै नागरिक आन्दोलनको पक्षमा उभिने तथा लोकतन्त्रको रक्षाको निम्ति पहरेदारी गर्ने पत्रकारिता क्षेत्रमा नयाँ पुस्तालाई आर्कषित गर्न पत्रकारहरुको श्रमको सम्मान हुने व्यवस्थाको सुनिश्चितता गर्नु जरुरी रहेको उनले बताए ।

सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रियता लगायतका विषयमा सञ्चार क्षेत्रले ध्यान दिनुपर्ने कुरा संविधानमै उल्लेख भएको भन्दै उनले पत्रकार आचारसंहिता समेत रहेको अवस्थामा कानुनहरु प्रेसमैत्री बनाउन पनि सुझाव दिए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकारिता क्षेत्रका विकृति, बिसंगतीलाई हटाई सम्मानित र जवाफदेही बनाउन आफ्नो ध्यान केन्द्रित रहेको बताए । पत्रकारिकता क्षेत्रमा रहेका विकृति, विसंगति र अनुशासनहीन गतिविधिहरुलाई कसरी सुधार गर्न सकिन्छ भन्नेमा आफ्नो अर्जुनदृष्टि रहेको उनले बताए ।

मन्त्री गुरुङले पत्रकारहरुले भोग्ने गरेको प्रेस पासको समस्या समाधान गर्न आफूले ध्यान दिएको बताए । प्रेसपास वर्षैपिच्छे नविकरण गर्ने व्यवस्थाको अन्त्य गर्दै प्रेस पासको अवधि न्युनतम पाँच वर्ष पुर्याउनका लागि मन्त्रालयको तर्फबाट प्रक्रिया अगाडि बढाउने पनि उनले जानकारी दिए ।