अब मैले के पाएँ होइन, के दिएँ भन्ने सोचले विचारको पालण पोषण हुनुपर्छ

डा. युवराज संग्रौला ।

राजनीति भेनेको पानी बग्ने खोला हो, पानी चैं विचार हो । यदि यो उपमा प्रयोग गर्ने हो भने, पानी बग्न पायो भने स्वच्छ हुन्छ । जब पानी तलाउमा थुनिन्छ, र निकास बन्द हुन्छ त्यो पानी दुर्गन्धित हुन्छ । स्वच्छ पानीमा स्वस्थ जलचर रमाउँछन्, तर दुर्गन्धित पानीमा भ्यागुता, भ्यात्लुङ्ग, गंगटा इतयादि । माछा बस्लान् तर हिले जो आफैं गन्हाउँछ । २००७ सालदेखि नेपाली समाज निरन्तर यस्तै दुर्गन्धित हुँदै आएको छ । राणा शासनले पाँच पुस्ता समाप्त पार्यो र २००७ सालदेखि फेरि पाँच पुस्ता समाप्त हुने क्रममा छ । यो १८० वर्षमा नेपालमा दुस्चक्रपुर्ण अवस्था निर्माण गर्ने प्रवृत्तिहरुको व्यापकता रह्यो । के के देखिए ?

१. समालोचनाहीन विचार जसले चेतना निर्माण गर्दैन, बरु अन्धवादको निर्माण गर्छ त्यो प्रवृत्ति समाजको एउटा रोगका रुपमा रह्यो । आज पनि मानिसको ठूलो हिस्सा यही प्रवृतिको घेरा भित्र छ । उसले तर्कलाई कुतर्कमा परिणत गरेको छ । उ सत्यको खोजी होइन भ्रमको हावा महलमा बाँच्दछ । यो प्रवृत्तिले मानिसलाई स्वार्थी बनाउँछ । नेपालमा अहिले यो रोग दुर्गन्धित पानीका जलचरमा लागेको संक्रामक रोग जस्तै छ । समाजमा दिनेपिच्छे प्रक्षेपित हुने सुचना हेरौं । मानिसलाई भ्रमित पार्ने भाषण, झुट्टो सपना, र आफ्नो अपराध छोप्ने चलाकी बाहेक केही हुन्न।

२. नैतिकता र सदाचारको बस्त्रहरण अर्को प्रवृत्ति हो । लाग्छ नेपाली समाजमा कोही सद्धे छैन । सबै कठ्पुतली बनिसके । प्रधानमन्त्री, मन्त्री, नेता, न्यायाधीश, वकिल, पत्राकार, प्राध्यापक, कर्मचारी कसैप्रति श्रद्धाको शिर निहुरिँदैन । एक किसिमको घृणा हुन्छ । नागरिकलाई अनुकरणीय उदाहरण पाउन सम्भव छैन । जसले जे गरेपनि हुन्छ । निरंकुश शासनमा मानिस पुलिससँग डराउँथे । आज मानिस पत्रकारसँग डराउँछन्, वकिललाई अनैतिक व्यापारको पुलिन्दा मानिन्छ, डाक्टर उपचारको होइन रोगको व्यापारी मानिन्छ, इन्जिनियर भ्रष्टाचारको मसिहा मानिन्छ, नेता अस्लिलता र ठगीको पर्याय मानिन्छ । यस्तै यस्तै ।

३. सम्पूर्ण राज्य संयन्त्र जनविरोधी देखिन्छ । राज्यको धन सीमित मानिसको पेवा बनेको छ । न्याय अन्यायमा रुपान्तरित भएको छ। न्यायाधीश जागिरमा परिणत भएको छ, वकालत मदारीको गफमा परिणत भएको छ । चिकित्सा कानुनी अपराधमा परिणत भएको छ। यस्तै यस्तै।

४. एकथरी मानिस सधैं झ्याउँकिरी कराए जस्तो फोहोर अलापी रहन्छन् । उनीहरुको दिमागमा विचार होइन बिकृति मात्र फुर्छ । उनीहरुले भाषाको पनि बस्त्रहरण गरिसके । नेपालमा अब नत कुनै शब्द अस्लिल छ न त बोल्न बाँकी । यी मानिसका दिमागहरुमा गहिरो कुण्ठा छ, त्यो कुन्ठा सुकिला लुगा लगाएर, महंगो गाडी चढ्न र हाकिम हुन नपाएको जलनको परिणाम वा रोगबाट सिर्जना भएको छ । एकथरीमा भविष्यबाट डराउने र अतित तिर जाने रोग लागेको छ किनकी अतितमा उनीहरुकोको रजगज थियो । उनीहरुलाई लाग्छ, अतीत फर्कियो भने फेरि त्यो रजगज प्राप्त हुन्छ। तर उनीहरुको दुर्भाग्य अतित फर्किएर कहिल्यै आउँदैन । अर्काएकथरीमा सबै भत्काउने र रमाउने रोग छ, त्यो महत्वकांक्षा पूरा नहुँदा पलाएको लघुताभाषको परिणाम हो। अर्काएकथरी आफ्नो जात निचिन्ने रोगबाट ग्रस्त छन् ।

उनीहरु आफूलाई नेपाली नै देख्दैनन् । त्यसैले कोही विदेशीको दलाली, कोही भारतीय साधुको दलाली, कोही कालाबजारीको दलाली गर्छन् ।
अब नेपाली समाजको बिगतको सामाजिक संरचनाको पट्टाक्षेप हुनुपर्ने समय आएको हो। अब नेपालले १८१४ देखि भोगेको अपमानित इतिहासलाई समाप्त गर्नुपर्छ । अब नेपालले १८० बर्ष देखिको चेतनाबिहीन समाजको इतिहास समाप्त गर्नुपर्छ । अब मालिक हुने सत्ताको राजनीति समाप्त हुनुपर्छ।

अब समस्या गिजोल्ने होइन मानिसको समृद्धि निर्माण गर्ने राजनीतिको निर्माण हुनुपर्छ। अब दुर्गन्धित पोखरी फुट्नु पर्छ। अब वैज्ञानिक चेतनाको जागरणको स्याहार गर्नुपर्छ। अब व्यक्ति पूजाको युग समाप्त हुनुपर्छ । गणेशको पूजा गरेर आफ्नो धोक्रो भर्नेहरुको कालो इतिहास लेख्नु पर्छ । अब मैले के पाएँ होइन के दिएँ भन्ने सोचले विचारको पालण पोषण हुनुपर्छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया