शनिबार, बैशाख ०८, २०८१

ओलीलाई पार्टीको साधारण सदस्यबाटसमेत निस्कासन गर्ने प्रचण्ड -नेपाल समूहको निर्णय

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निस्कासन गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको समूहको केन्द्रीय कमिटीको बैठकले यस अघिको स्थायी कमिटीबाट आएको प्रस्ताव अनुसार प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्यबाट निस्कासन गर्ने निर्णय गरेको हो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निस्कासन गर्ने निर्णय गरेको जानकारी दिए ।

यस्तै बैठकले स्थायी कमिटीले महासचिव विष्णुप्रसाद पौडेललाई निस्कासन गरेको निर्णयलाई समेत अनुमोदन गरेको छ । बैठकले निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गर्ने निर्णय समेत गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

यसअघि पार्टीको बैठकले पदाधिकारीको फेरबदल गर्ने निर्णय सहित अद्यावधिक गर्न अनुरोध गरेकोमा निर्वाचन आयोगले अध्यावधिक नगरी पार्टीलाई पत्र पठाएको सन्दर्भमा पार्टीको आधिकारिकता दावी गर्दै निर्वाचन आयोगलाई पत्र लेख्ने निर्णय बैठकले गरेको उनले बताए ।