शुक्रबार, चैत १६, २०८०

तीन वर्षसम्म ओलीलाई तह लगाउन नसक्नु हाम्रो पनि कमजोरीः प्रचण्ड

काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तीन वर्षसम्म अनेक उपाय गर्दा पनि तह लगाउन नसकेको बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध शुक्रबार काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले त्यसमा आफूहरुको पनि केही कमजोरी रहेको बताएका हुन् ।

उनले आफूहरुले कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाएर अघि बढ्न सकिन्छ भनेर ओलीलाई सुधार्नका लागि प्रयास गरेपनि असफल भएको बताए । उनले भने, ‘हामी सुशासन दिन प्रतिवद्ध हुनेछौं भनेर घोषणापत्रमा लेख्यौं, हामीले तीन वर्षमा घोषणापत्रमा भनेका कुरा पूरा गर्न सकेनौं । गर्न नखोजेको होइन । केपीजीले सहमति गर्ने तर सत्ता प्राप्ती गरेपछि कार्यान्वयन नगर्ने दाउ रहेछ । तीन वर्षमा हामीले केपीलाई तह लगाउन सकेनौं, त्यहाँ हाम्रा पनि कमजोरी पनि थिए होलान् । हाम्रो कमजोरीमा टेकेर अन्त्यमा ध्वंस गरे ।’

उनले ओलीले लोकतान्त्रिक गणतन्त्र र संविधान र शान्ति सम्झौता पनि विघटन गर्न चाहेको बताए । उनले राजामहाराजको श्रीपेच ढालेर जनताले लात्तीले हान्न सक्छन् भन्ने नजिर बसेको भन्दै त्यस्ता काम गर्ने कुदृष्टि नराख्न चेतावनी दिए ।

उनले न्यायाधीश, वकिल, पत्रकार, नेपाली जनता प्रतिगामी कदमको विरुद्धमा छ भन्ने कुरा देशभर भइरहेको प्रदर्शनबाट स्पष्ट भएको बताए । प्रतिगमनको विरोध गर्नेहरुको प्रधानमन्त्री ओलीको साइबर सेनाले सूची बनाएर कारबाही गर्ने धम्की दिएको आफूले सुनेको भन्दै अध्यक्ष प्रचण्डले साइबर सेनासँग नडराउन आग्रह गरे । उनले पूर्वप्रधानन्यायाधीशहरु, वकिल, पत्रकार तथा नगरिक समाजले त्यसै ओलीको कदमलाई असंवैधानिक नभनेको र जनता सडकमा त्यतिकै उफ्रिन नआएकाले अदालत, निर्वाचन आयोगको ध्यान यसतर्फ पनि जानुपर्ने बताए ।

उनले भने, ‘देशभर भइरहेका प्रदर्शनबाट यसको पुष्टि भएको छ । हामीले निर्वाचन आयोग र अदालतसँग पनि भरोसा गरेका छौं । केपीको सनकका भरमा कसैले पनि साथ दिन्छ भन्ने लाग्दैन । जनताको यो जनलहरबाट उनीहरुको मानसिकता के छ भन्ने स्पष्ट भएको छ । यसतिर पनि अदालतको पनि ध्यान जाओस् । प्रधानन्यायाधीश पत्रकारले सत्यका पक्षमा लेख्दा तिनलाई धम्की दिने, कर्मचारी पेशाकर्मीलाई आन्दोलनमा जाँदा रेकर्ड राख्ने रे । यो साइबर स्यालले रेडर्क राख्ने र अनि कारबाही गर्ने भनेर धम्की दिएको मैले सुनें । एउटालाई त छोएर देखाउ त । छिसिक्क रौं मात्र हल्लियो भने उनीहरुको संरक्षण हामी गर्ने छौं भोलिको सरकार पनि जनताको सरकार हो । गणतन्त्र ध्वस्त पार्नेको हालत के हुन्छ ?’

उनले पेशाकर्मी संगठनलाई संविधानको कु विरुद्ध लाग्न आग्रह गरे । उनले भने,‘कर्मचारी साथीहरु तपाईँहरु ढुक्क भएर निरंकुसताको लडाइँमा लाग्नुस् । हामी समाजवादप्रति इमान्दार, जनवादी केन्द्रीयतामा चल्ने पार्टी बनाउन चाहन्छौं । श्रमजिवी वर्गलाई राहत दिने पार्टी बनाउन चाहन्छौं ।’ उनले पूर्वमाओवादीका केही साथीहरु ओली पक्षमा लाखेको भन्दै दया लागेको बताए ।

उनले भने, ‘पूर्वमाओवादी भन्ने केही गएका छन् । पहिला पनि आउने जाने गर्थे । अहिले उनीहरु केपीको पछि लागेर खरानी धसेर चिन्नै नसक्ने भएका छन् ।’ अध्यक्ष प्रचण्डले ओली स्वार्थ केन्द्रित व्यक्ति भएको बताए ।

उनले ओलीलाई प्रधानमन्त्री नदिएको भए पार्टी एकता नै नहुने रहेछ भन्ने कुरा अहिले स्प्ष्ट भएको बताए । उनले भने, ‘प्रधानमन्त्री नदिएको भए पार्टी एकता नहुने रहेछ तर अहिले प्रचण्डलाई प्रधानमन्त्री नदिएर यस्तो भएको भन्छन् । यो त आठौं आश्चर्य हो । उनलाई प्रधानमन्त्री बाहेक केही चाहिएको रहेनछ ।’ उनले प्रधानमन्त्री ओलीलाई हावादारी कुरा नगर्न र गर्नसक्ने कुरा बोल्न आग्रह गर्दा नमानेको बताए । उनले भने, कोभिडबाट जनता आक्रान्त भएका बेला राहतका कुरा गरें उनी रेल, पानीजहाजको हावा कुरा गरेर हिंडे । यस्तालाई के भन्नु ।‘ उनले ओलीलाई अहिले एक नम्बरको अपराधी प्रचण्ड भन्ने लागेको बताए ।

उनले राजावादी, दक्षिणपन्थीसँग मिलेर प्रचण्ड सिध्याउने अनि माधवजीसँग फाटो ल्याउने योजनामा ओली लागेका बताए । उनले देशमा युद्ध अशान्ति होस् भन्ने चाहना आफूहरुको नभएको बताए । उनले आफूहरु पनि अब आत्मसमीक्षा गरेर अघि बढ्ने प्रतिवद्धता जनाए ।

उनले भने, ‘केपीको निरंकुशताको समर्थन कतैबाट भयो भने शान्ति प्रक्रियामा ढिालई हुन्छ भन्ने चिन्ता लागेको छ । धेरै मूल्य चुकाएर लोकतान्त्रिक गणतन्त्र ल्याएका छौं नेतृत्व सही आएपछि हाम्रो पार्टीले समृद्ध नेपाल बनाउँछ । केपीजी आन्दोलन सुरु भएपछि रुन थाल्नुहुन्छ । गणतन्त्रको आन्दोलन हुनुहुन्न भनेर नोट अफ डिसेन्ट लेख्ने मान्छे हो उहाँ । घरमा, गाउँमा टोलमा कसैको मृत्यु भएपछि शोकमग्न हुन्छ तर केपीको बानी हास्ने रहेछ । संविधान आइसियूमा छ उहाँ मजा गरिरहनु भएको छ । उल्टो खोपडीको मान्छे नेपालमा कसरी जन्मिएको होला ?’

उनले जनयुद्धको नामै सुन्न नचाहने ओली जनयुद्धको घाइतेले आयोजना गरेको कार्यक्रममा कहिल्यै नगएको बताए । उनले भने, ‘जनयुद्धको नामै सुन्न नचाहने मान्छे, उनीहरुको सम्मान कार्यक्रममा बोलाएँ तर उहाँ कहिल्यै जानु भएन । अरु साथीहरु जानुभयो । मैले यो नोट गरेको थिएँ । बरु जनयुद्धका अपांग घाइतेको उपचार र भत्ता नै खोसिएछ । अहिले संसद विघटनपछि यीनीहरुलाई प्रचण्डले हेर्नुपर्यो रे । अहिले कालीबहादुर खाम खोज्दैछन् विचरा उसलाई परेको गारो सारो हेर्न म दशौं वर्ष लागेको छु , प्रचण्डले जनमुक्ति सेनालाई नहेर्ने तर केपीले हेर्ने कस्तो होला ? जनमुक्ति सेनाको नाम इतिहासमा लेखिएको छ, त्यसमा कालो पोत्ने काम कतैबाट नगरियोस् ।’