शनिबार, बैशाख ०८, २०८१

प्रचण्ड-नेपाल समूहद्वारा निर्वाचन प्रक्रिया रोक्न आयोगलाई आग्रह

काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहले निर्वाचन आयोगलाई निर्वाचनसम्बन्धी गतिविधि तत्काल रोक्न आग्रह गरेको छ । पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, र माधवकुमार नेपालसहित नेताहरु पुगेर आयोगलाई निर्वाचनसम्बन्धी गतिविधि रोक्न आग्रह गरेका हुन् ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकाले अहिले निर्वाचन गतिविधि सञ्चालन हुनु अदालतको विरुद्धमा हुने ठहर गर्दै चुनावी गतिविधि अघि नबढाउन समूहले आयोगलाई आग्रह गरेको हो ।

निर्वाचन घोषणासम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकाले फैसला नआएसम्म निर्वचान प्रक्रिया अगाडि नबढाउन आयोगलाई आग्रह गरेको नेता रामनारायण बिडारीले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरी आगामी वैशाख १७ र २७ गते आमनिर्वाचनको मिति घोषणा गरिसकेका छन् । संसद विघटनविरुद्ध सर्वोच्चमा एक दर्जन भन्दा बढी रिट परेका छन् । रिटको संवैधानिक इजलासमा सुनुवाई भइरहेको छ ।