शुक्रबार, बैशाख ०७, २०८१

प्रचण्डको ध्यान कसरी सत्ता कब्जा गर्ने भन्नेमा केन्द्रित हुँदा समस्या भयोः प्रधानमन्त्री

काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनःस्थापना नहुने बताएका छन् । बुधबार पार्टीको उपत्यकामा उपलब्ध सुदुरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले संसद पुनःस्थापना नहुने बताएका हुन् ।

उनले संविधानत्ः संसद पुनःस्थापना गर्न नमिल्ने बताए । प्रधानमन्त्रीले आफू संसदको ६४ प्रतिशत मतले बनाएको प्रधानमन्त्री भएको र बाँकी ३६ प्रतिशतले बिकल्प दिन नसक्ने भएकोले संविधानको धारा ७६ को उपधारा ४ बमोजिम संसद विघटन गरिएको बताए ।

प्रधानमन्त्रीले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जालझेल र षड्यन्त्रको राजनीति गरेको आरोप लगाए । आफूले मित्रताले अंगालो हालेपनि प्रचण्डले धृतराष्ट्रले जसरी अंगालो मार्ने गरेको प्रधानमन्त्री ओलीको भनाई छ ।

प्रचण्डको ध्यान कसरी कब्जा गर्ने र हत्याउने भन्ने मात्रै रहेको उनले बताए । एकीकरणका बेला पार्टीलाई एकताबद्ध बनाउनको निम्ति, स्थिरता र स्थायित्वको लागि प्रचण्ड–माधवलाई बहुमत दिएको भएपनि बहुमतको दुरुपयोग गरेको उनको भनाई छ ।

प्रधानमन्त्रीले लोकतन्त्रमा जनताबाट बेलाबेलामा अनुमोदित भइरहनुपर्ने भन्दै निर्वाचनको तयारी गर्न प्रचण्ड–माधव पक्षलाई आग्रह गरेका छन् । चुनाव गर्दा लोकतन्त्र, गणतन्त्र नसकिने ओलीको भनाई थियो ।

ओलीले प्रचण्ड माधव पक्षले पार्टी एकतालाई टुंग्याउन नदिएको, संवैधानिक आयोगलाई पूर्णता दिन नचाहेको तथा प्रधानमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न खोजेको, राष्ट्रपति लगायत संवैधानिक आयोगहरुलाई महाअभियोग लगाउन खोजिएको आरोप लगाए । उनले आगामी चुनाव निष्पक्ष र धाधँलीरहित रहने पनि जिकिर गरे ।