सोमबार, कार्तिक ११, २०८२

राज्यमन्त्री मानन्धरले स्टेजमा एकल सांगीतिक प्रस्तुति दिएर मन्त्रीको कीर्तिमान

काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले स्टेजमा एकल सांगीतिक प्रस्तुति दिने पहिलो बहालवाला मन्त्रीको कीर्तिमान राखेका छन् । वर्ल्ड बुक अफ यूकेमा आफ्नो नाम लेखाउने क्रममा शुक्रबार उनी ४ घन्टाभन्दा बढी समय स्टेजमा गुञ्जिए ।

बालाजुस्थित अष्टनारायण चलचित्रहलमा शुक्रबार दिउँसो सवा एक बजेदेखि राज्य मन्त्री मानन्धरको कन्सर्ट सुरु भएको थियो । कन्सर्टमा उनले ५९ वटा गीत गाएका थिए । ती गीतहरुको रोयल्टीसमेत आफूले तिरेको उनले बताएका छन् ।

कार्यक्रममा मन्त्री मानन्धरले केही राष्ट्रिय गीत, आधुनिक गीत र नेवारी गीतहरु गाएका थिए । नारायण गोपाल, भक्तराज आचार्य, प्रेमध्वज प्रधान, प्रकाश श्रेष्ठ, दीप श्रेष्ठ, तारा देवी, अरुणा लामालगायतले गाएको गीतको ट्रयाकमा उनले गाए । मानन्धरले ‘देशले रगत मागे मलाई बली चढाऊ’, ‘जहाँ छन् बुद्धका आँखा’, ‘ठूला ठूला महल होइन’ लगायतका गीत गाएका थिए ।

वर्ल्ड बुक अफ रेकर्ड युकेको ‘बहालवाला मन्त्रीको एकल कन्सर्ट’ विद्यामा मानन्धरको रेकर्ड कायम भएको हो । कार्यक्रममा मन्त्री मानन्धरले नेपालको कला र संगीत विश्वलाई चिनाउने प्रयास गरेको बताए ।