शुक्रबार, चैत १६, २०८०

हजारौंको बलिदान कुर्सीकै लागि थियो ?

-जीवन अर्याल
हिजो मनै अमिलो भो । तीन वर्षअघि चुनावी अभियानका क्रममा पार्टी प्रवेश कार्यक्रमको भिडियोमा एक्कासि नजर अडियो । भाइले पोस्ट गरेको रहेछ । मेरो सानो भाषणको अंश पनी थियो। पूरै सुनें । मनमा तरंग पैदा भयो । अनेक-अनेक लेख्न मन लायो ।

केही समयदेखि दिक्क लागिरहेकै थियो- राष्ट्रिय राजनीति देखेर । रसातलमा फ्याँकिएका राजा ब्युँताउन जुलुस निकाल्नेहरू देखेर एकमन हाँसो उठ्यो पनि । आफूलाई नै जोगाउन नसकेर नागार्जुन डाँडामा बुढ्यौली काटिरहेका बूढाले अब देश जोगाइदिन्छन् भनेर उफ्रिनेहरू देख्दा मलाई कहिलेकाहीँ हुटिट्याउँको कथा सम्झना आउँछ । ती बूढालाई नारायणहिटीमा बसाइ सार्न एकाध ठाउँमा लागेका नारा सुनेर आफैं अघि सर्दै देश बनाउनेहरू कहाँ होलान् ?

यस्ता विरक्तलाग्दा घटना देख्दा आजभोलि मनमा गाँठो परिरहन्छ । त्यति धेरै आशामा तुषारापात भएको देखेर छाती चिरिन्छ । देशले काँचुली फेर्छ भनेर चिच्याउँदै नारा लगाएको इतिहास सम्झेर आँखा भिज्छ । मेरो बाबाहरूजस्तै त्यागी नेताको इमान्दारी सम्झेर मन पग्लिन्छ ।

१३ वर्षदेखि अखिलमा लागें । राजनीति गर्नुपर्छ भनेर बाबाले कार्यक्रमहरूमा लिएर जानुहुन्थ्यो । उहाँको हात समात्दै राजनीति बुझ्ने भएँ । सानैदेखि केही बुझ्न र जिम्मेवार हुन उहाँकै प्रेरणाले सिकें ।
वाम गठबन्नधन भएर नेकपा बन्यो भनेको सुन्दा मनमा त्यस्तो उत्साह भएन । भिन्न-भिन्न उद्देश्य बोकेर भिन्न-भिन्न बाटो हिँडेका यात्रीहरू एउटै बाटोमा हिँड्नु मेरा लागि प्राकृतिक थिएन । तर, त्यति ठूला नेता र पार्टी पङ्क्तिले गरेको निर्णय स्वत:स्फूर्त स्वीकार गरें । बाहिर ठिक्क पार्ने, भित्रभित्रै आपसमा वैरीभाव राखेर एक हुनुको नतिजा अहिले देखिँदै छ ।

राजनीतिको मेरो गुरु भनेकै बाबा हुनुहुन्छ । उहाँले सधैं व्यक्तिभन्दा पार्टीलाई माया गर्नुभयो । ममा पनि त्यो गुण सरेर आयो । १० वर्ष निरन्तर एउटै संसदीय क्षेत्रको पार्टी इन्चार्ज बाबाले अहिलेसम्म कुनै पनि लाभको पद लिनुभएको छैन । पार्टीले पनि उहाँलाई कहिल्यै मूल्यांकन गरेन । भागबण्डा लगाउँदा यो क्षेत्र पूर्वमाओवादीको पोल्टामा पर्‍यो ।

राजनीतिमा टिकट पाउनैपर्छ भन्ने हुँदैन । सोचेको परिवर्तन भएको खण्डमा आफैं पदमा पुग्नुपर्छ भन्ने हुँदैन । तर, विभिन्न बहानामा देशैभरि हजारौं इमान्दार नेता-कार्यकर्ताको बलिदानको मूल्यांकन नगरी काम पनि नगर्दा देशले कोल्टे फेरेन ।

आजभोलि गन्यमान्य नेताज्यूहरूले नै दिक्कलाग्दा स्टाटस पोस्टिरहँदा मेरो मन चस्किन्छ । झन् पूरै जिन्दगी त्याग गर्ने बाबाजस्तै हजारौं इमान्दार नेता-कार्यकर्ताहरूमा कस्तो छाप पर्ला ? यस्ता कुरा सोच्दा मेरा आँखा रसाउँछन् । अनि यो भाषण गर्न जापानबाट हामफालेर गाउँ पुगेकी मभित्रको मलाई सम्झेर गिज्याउँछु । कुनै दिन ठीक होला भनेर चित्त बुझाउँछु । जिल्लामा केही राम्रा काम पनि भइरहेका छन् । स्थानीय सरकार लागिपरेका छन् । तर, देश हामीले सोचेजस्तो भएन । दु:ख यसमै छ ।

म विचरी त के नै हुँ र ! मभन्दा कयौं गुणा त्यागी नेतालाई नरुवाइयोस् । जुन उत्साह र उमंग थियो, त्यो नघटोस् । यति राम्रो अवसरको सदुपयोग हुन सक्नुपर्थ्यो । हामीभन्दा जान्ने-बुझ्ने पुराना नेताबाट यत्ति त आशा गर्न सक्छौं नि ! आँखैअगाडि विभिन्न चरण पार गरेर उहाँहरू यहाँसम्म आउनुभएको छ । त्यस्तो जेलनेल, हजारौंको बलिदान कुर्सीकै लागि मात्रै हो र ?
एकपटक पुगिसकेको ठाउँमा फेरि पुग्न खर्चिने समय देश निर्माण र पार्टी निर्माणमा खर्चिनु भयो भने जननेता बन्नुहुन्थ्यो । देशले काँचुली फेऱ्यो र बाँकी दुई वर्षमा सोचेजस्तै भयो भने मजस्ता लाखौं देशप्रेमकीको आशिष लाग्नेछ ।

रह्यो मेरो कुरा–परदेशमै बसेको भए केही लाख जम्मा हुन्थ्यो होला तर देश फर्किने हुटहुटी र राजनीतिको नशाले मलाई रोक्न सकेन । न अब नै रोक्नेछ ।

यहाँ अहिले खुलाउन नसकिने त्यागी नेताका दर्दनाक कथा समय आउँदा सुनाउँला !

– उही पार्टीलाई माया गर्ने इमान्दार कार्यकर्ता त्योभन्दा बढी देशलाई माया गर्ने देशभक्त युवा