शनिबार, बैशाख ०८, २०८१

देहरादुनमा नेपाली विद्यार्थी कुटिएको घटनालाई गम्भीरतापूर्वक लिन सरकार समक्ष आग्रह

काठमाडौं । नेपाली कांग्रेसले भारतको देहरादुनमा नेपाली विद्यार्थी कुटिएको घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ । देहरादुनमा विजया दशमीकै दिन दर्जनौँ नेपाली विद्यार्थीमाथि भएको कुटपिटको घटनालाई गम्भीरतापूर्वक लिन, विरोध प्रकट गर्दै भारत सरकारको ध्यानाकर्षण गराउन र ती विद्यार्थीहरुको अविलम्ब उद्धार गर्न नेपाली कांग्रेसले नेपाल सरकारसँग माग गरेको छ ।
कांग्रेसले नेपाली विद्यार्थीहरुको सुरक्षा र सम्मानका बारेमा गम्भीर पहलकदमी गरेर आउँदा दिनमा यस्ता घटना कहीँ पनि हुन नदिन आवश्यक सतर्कताका लागि पनि सरकारसँग माग गरेको छ । गएको कात्तिक १० गते विजयादशमीको दिन देहरादुनको डिकिलिङमा रहेको शाक्य एकेडेमीका अध्यक्ष एवं प्रमुख लामा रिम्पोचे ज्ञानबज्रले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीलाई कुटपिट गरेको खबर सार्वजनिक भएको थियो ।
५१ जना विद्यार्थीले दशैँ–तिहारको बिदामा घर जान पाऊँ भन्दै निवेदन दिएपछि विवाद बढ्दा रिम्पोचे ज्ञानबज्रले विद्यार्थीमाथि निर्घात कुटपिट गरेको बताइएको छ ।