शुक्रबार, चैत १६, २०८०

कोरोना र अन्य विरामीको उपचार एउटै अस्पतालमा गर्दा समस्या

काठमाडौं । प्रतिनिधिससभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गत गठित कोभिड–१९ को सम्बन्धमा सरकारले गरेका काम कारबाहीको अनुगमन गर्न गठित उपसमितिले कोरोना र अन्य विरामीको उपचार एउटै अस्पतालमा गर्दा समस्या देखिएको निष्कर्ष निकालेको छ ।

आइतबार काठमाडौंको शिक्षण अस्पतालको स्थलगत अनुगमन गर्दै उपसमितिले कोरोना र अन्य विरामीको उपचार एउटै अस्पतालमा गर्दा अन्य सर्वसाधारणदेखि स्वास्थ्यकर्मी तथा अस्पतालमा नै समस्या देखिएको निष्कर्ष निकालेको हो । उपसमितिले शिक्षण अस्पातालमा कोरोना बिरामीको उपचार र अन्य बिरामीको उपचारको अवस्थाका बारेमा जानकारी लिएको थियो । अस्पतालमा कोरोनाका बिरामीको इएनटी भवनमा उपचार हुँदै आएको छ ।

उपसमिति संयोजक एवं सांसद जीवनराम श्रेष्ठले कोरोना र अन्य विरामीको उपचारमा कुनै कमजोरी नभएपनि यसले गर्दा समस्या देखिएको जानकारी दिए । शिक्षण अस्पतालमा धेरै बिरामी उपचारका लागि आउने गरेकाले संक्रमणको संभावना रहेको उनको भनाई छ ।

उनले अन्य बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीमा नै कोरोना देखिएको गम्भीर र संवेदनशिल बिषयमा सतर्कता अपनाउनुपर्ने बताए । त्यस्तै कोरोनाका कारण अस्प्तालमा आम्दानी घट्दै गएको भन्दै यसमा सरकारले बिषेश ध्यान दिनुपर्ने उनले उल्लेख गरे । त्यसक्रममा अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक दिनेश काफ्लेले अनुगमनका क्रममा अस्पतालमा भइरहेको उपचारका बारेमा जानकारी गराएका थिए ।

कोरोनाको उपचारका लागि सरकारले गरेका काम कारबाहीको बारेमा उपसमितिले बिभिन्न अस्पताल र आइसोलेशनमा पुगी स्थलगत अनुगमन गरिरहेको छ । अनुगमन सकिएपछि केही दिनमै समितिलाई अध्ययन प्रतिवदेन बुझाइने संयोजक श्रेष्ठले बताए ।