शुक्रबार, भदौ २६, २०८३

प्रधानमन्त्री साहले राष्ट्रसङ्घक महासभालाई आगामी असोज ८ गते सम्बोधन गर्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन साहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई आगामी असोज ८ गते सम्बोधन गर्ने भएका छन् ।महासभाको ‘उच्चस्तरीय सामान्य बहस’ आगामी असोज ६ देखि १२ गतेसम्म संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा सञ्चालन हुनेछ ।

महासभाको सामान्य बहसमा प्रधानमन्त्री साहले असोज ८ गते सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।यसपटकको महासभाको नारा ‘विश्वास पुनःस्थापना, रूपान्तरणको व्यवस्थापनः सबैका लागि परिणाममुखी संयुक्त राष्ट्रसङ्घ’ रहेको छ । संयुक्त राष्ट्रसङ्घबाट प्राप्त जानकारीअनुसार हालसम्म उक्त महासभामा ८१ मुलुकका राष्ट्रप्रमुख र नेपालसहित ५० मुलुकका सरकार प्रमुखहरू सहभागी हुनेछन् ।

मन्त्रालयका सचिव अमृतबहादुर राईले नेपालमा गत वर्ष भएको ‘जेनजी’ आन्दोलन, त्यसपछि भएको सफल निर्वाचन र सोमार्फत प्राप्त जनादेशसहित गठन भएको वर्तमान सरकारका प्राथमिकतालगायतका विषयहरू अन्तरराष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्न ८१औँ महासभा महत्त्वपूर्ण अवसर हुने बताए ।शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले अन्तराष्ट्रिय सहयोग एवं सद्भावको निरन्तरता र बढोत्तरीका लागि उच्चस्तरबाटै आह्वान गर्नसमेत यो महासभा महत्त्वपूर्ण अवसरका रूपमा रहेको उल्लेख गरे ।

यही भदौ १० गते रसुवाको भोटेकोसी नदीमा गएको विनाशकारी बाढीका कारण नेपालले अपूरणीय क्षति भोग्नुपरेको छ । यसले नेपाल जलवायु सङ्कटको दृष्टिले जोखिममा रहेको पुनर्पुष्टि गरेको छ ।साथै महासभामा नेपालले नगन्य कार्बन उत्सर्जन गरे तापनि जलवायु परिवर्तनका नकारात्मक असरहरू भोग्नु परिरहेको विषयलाई प्रस्तुत गरिने बताए । यस सन्दर्भमा हानि तथा नोक्सानीको सम्बोधनसम्बन्धी कोषलगायतका निकायबाट तत्कालै र उचित क्षतिपूर्ति प्राप्त गर्नेजस्ता जलवायु न्यायसम्बन्धी विषयमा विश्व समुदायलाई आह्वान गर्ने सरकारको तयारी छ ।

नेपालमा जलवायु उत्थानशील पूर्वाधार निर्माण गर्न, जलवायुमैत्री कृषि प्रवद्र्धन गर्न र सरोकारवालाहरूको क्षमता विकास गर्न आवश्यक प्रविधि र जलवायु वित्त सहज र सहुलियतपूर्ण रूपमा उपलब्ध गराउन धनी र विकसित मुलुकहरूलाई सो अवसरमा अपिल गरिने सचिव राईले उल्लेख गरे ।

साथै, नेपालले प्रकृतिमैत्री जीवनशैली, ४६ प्रतिशतभन्दा बढी जङ्गल, विशाल हिमालय क्षेत्र र बृहत् नदी प्रणालीमार्फत विश्व वातावरण संरक्षण र प्रवद्र्धनमा पुर्याउँदै आएको योगदानको बारेमा जानकारी गराउने तयारी गरेको छ ।

यस महासभामा नेपालले ‘सगरमाथादेखि समुद्रसम्मः जलवायु उत्थानशील भविष्य निर्माणका लागि कार्य आह्वान विषयक सहायक कार्यक्रम’ आयोजना गर्दैछ । विश्वव्यापी जलवायु परिवर्तनका कारण खासगरी हिमाली क्षेत्रमा परेका नकारात्मक प्रभाव र यसबाट सिर्जित विनासकारी परिणामका बारेमा छलफल गरी विश्व समुदायको ध्यानाकर्षण गर्नु यस कार्यक्रमको मूल उद्देश्य रहेको छ ।

यसमा तपाईको प्रतिक्रिया