काठमाडौँ । नुवाकोटको पञ्चकन्या गाउँपालिकाका ज्येष्ठ नागरिकहरूले यसपटक सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि गाउँसम्म धाउनुपर्ने बाध्यताबाट मुक्ति पाएका छन्। रोजगार तथा अन्य सिलसिलामा काठमाडौँमा रहेका छोराछोरीसँगै बस्दै आएका वृद्धवृद्धाहरूलाई लक्षित गर्दै पालिकाले काठमाडौँमै पुगेर नवीकरण सेवा उपलब्ध गराएको हो।
तारकेश्वर नगरपालिकास्थित अनुपम द्वार पार्टी भेन्युमा भदौ २३ गतेदेखि सञ्चालित शिविरमार्फत भदौ २५ गतेसम्म ६५० भन्दा बढी ज्येष्ठ नागरिकले वृद्धभत्ता नवीकरण गराइसकेका छन्। भदौ २६ गतेसम्म सञ्चालन हुने यस शिविरमा पालिकाका ५ वटै वडाका नागरिकहरूले प्रत्यक्ष सेवा पाइरहेका छन्।
पञ्चकन्या वडा नं. २ का अध्यक्ष रामशरण श्रेष्ठको नेतृत्वमा खटिएको टोलीमा १ देखि ५ नं. सम्मका वडा अध्यक्षहरू—महानन्द ढकाल, रामशरण श्रेष्ठ, रामबाबु पराजुली, कार्यवाहक वडा अध्यक्ष रामकुमार तामाङ र माधव प्रसाद सिटौला, वडा सदस्यहरू रविन तामाङ, सरिता कँडेल र रामजंग बुढाथोकीका साथै वडा सचिवहरू रोशनी पराजुली, विष्णुमणि घिमिरे, केदारनाथ खनाल, धर्मराज न्यौपाने र पूर्णप्रसाद उपाध्यायको सक्रिय सहभागिता रहेको छ।
हालैको बाढीपहिरोका कारण सडक अवरुद्ध भएको र भौगोलिक दूरीका कारण गाउँ जान कठिन भइरहेका बेला पालिकाको टोली काठमाडौँमै खटिएपछि स्थानीयवासीले ठूलो राहत महसुस गरेका छन्। शिविरमा आफ्नी सासुको सामाजिक सुरक्षा भत्ता नवीकरण गराउन पुगेकी स्थानीय सावित्री बस्नेतले काठमाडौँमै सेवा उपलब्ध हुँदा समय र खर्च दुवैको बचत भएको बताउँदै पालिकाको यस कदमको प्रशंसा गरिन्।
स्थानीय सरकार नागरिकको घरदैलोमै पुग्नुपर्छ भन्ने भावनाका साथ सञ्चालित यस अभियानमा निःशुल्क स्थान उपलब्ध गराएर सहयोग गर्ने अनुपम द्वार पार्टी भेन्युका सञ्चालक किरण रिजाल र उनको टिमप्रति गाउँपालिका उपाध्यक्ष विमला पाठक के.सी. लगायत सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीहरूले हार्दिक आभार एवं कृतज्ञता व्यक्त गरेका छन्।

