बिहिबार, बैशाख ०६, २०८१

निर्वाचन धाँधलीरहित गराउन सके भ्रष्टाचार नियन्त्रणमा सघाउ पुग्छः पूर्वराष्ट्रपति यादव

टेक्सस । नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित गराउन सके भ्रष्टाचार नियन्त्रणमा त्यसले सघाउ पुग्ने बताएका छन् । अमेरिकामा रहेको अमेरिका–नेपाल नीति अनुसन्धान केन्द्रको पाँचौँ वार्षिक सम्मेलनका अवसरमा शनिबार अनलाइनमार्फत पूर्वराष्ट्रपति डा यादवले निर्वाचनको निष्पक्षतासँग प्रजातान्त्रिक विधि गाँसिएको बताए । उनले निर्वाचन प्रक्रियामा सुधारको आवश्यकता औँल्याउँदै निर्वाचनप्रति गम्भीर बन्न सम्बन्धित सबैमा आग्रह गरे ।

नेपालको संविधानमा लेखिएका विषयहरुमा ज्यान भर्ने र देश तथा जनताको हितमा काम गर्ने जिम्मेवारी दलहरूको भएको भन्दै उनले नेपाललाई बलियो र समृद्ध बनाउन तथा नेपालको प्रजातान्त्रिक प्रणालीलाई सुधार गर्दै लैजान देशबाहिर रहेका नेपालीहरुले रचनात्मक सहयोग गर्नुपर्नेमा जोड दिए । पूर्वराष्ट्रपति डा यादवले पटकपटक सुशासनको चर्चा गरिए पनि यसका लागि आधार बनाउन चुकिएको भन्दै जनताको हक अधिकारको रक्षा र जनजीविकाको सवालमा राज्य र दलहरू गम्भीर बन्नुपर्नेमा जोड दिए ।

सो अवसरमा पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचनमा राज्यको भूमिका, दलहरुको अवस्था, उम्मेदवारहरुका व्यवहार र मतदाताको चेतनास्तरले प्रभाव पार्ने बताए । हरेक निर्वाचन प्रणालीभित्र राम्रा र नराम्रा विषयहरु रहने भन्दै उनले प्रणालीका कारणभन्दा पनि पात्रका कारण निर्वाचन पदतिमै असर पर्ने गरेको देखिएको उल्लेख गरे ।

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले मतदाताको अपेक्षासमेत व्यक्तिगत सहयोगका लागि केन्द्रीत हुने गरेकाले जनप्रतिनिधिको भूमिका र मतदाताको बीचमा हुनुपर्ने सम्बन्ध पनि अन्य विषयमा फस्ने गरेको उल्लेख गरे । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अन्सारीले परिवर्तनलाई संस्थागत गर्ने संवाहकको रूपमा रहेको निर्वाचन पैसा, बल र शक्तिका कारण प्रभावित हुने अवस्था आउनु दुःखको विषय भएको बताइन् ।