शुक्रबार, बैशाख ०७, २०८१

कोरोना नियन्त्रणमा सरकारले अकर्मण्यता प्रस्तुत गरेको कांग्रेसको आरोप

काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको कोभिड–१९ अनुगमन समितिले पूर्ण लकडाउन मुलुकले धान्न नसक्ने भन्दै कोरोना परीक्षणको नतिजाको आधारमा सङ्क्रमित स्थानहरुमा लक्षित लकडाउन र आइसोलेशनको उचित व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

कांग्रेस पार्टी कार्यालय सानेपामा सोमबार पत्रकार सम्मेलन गरी कोरोना सङ्क्रमण समुदायमा पुगिसकेको स्थिति भएकाले सम्भावित सङ्क्रमित स्थानहरुको सघन अनुगमनका आधारमा त्यस्ता क्षेत्रहरुमा लक्षित गरी परीक्षणको दायरा व्यापक बनाउन सरकारसँग आग्रह गरेको छ ।

समिति संयोजक एवं काँग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले लकडाउन खोलिएयता पनि मुलुकको आर्थिक सामाजिक क्षेत्र पूर्णरुपमा पुनःसञ्चालन हुने अवस्था नभएको र शिक्षा तथा अर्थतन्त्रका धेरै क्षेत्रहरु लामो समय जोखिममा रहने अवस्था रहेकाले जोखिम न्यून गर्ने उपायतर्फ सरकारलाई गम्भीर बन्न माग गरे।

यस्तै, नेपाली कांग्रेसले कोरोना नियन्त्रणमा सरकारले अकर्मण्यता प्रस्तुत गरेको आरोप लगाएको छ । कांग्रेसले कोरोना भाइरस नियन्त्रणमा सरकार असफल भएकोले जनतालाई आफै सुरक्षीत रहन समेत आग्रह गरेको छ ।