कोरोना नियन्त्रणका लागि गरेको प्रयास दक्षिण एसियामै राम्रोः स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले गरेका प्रयासहरुलाई नकारात्मक रुपमा प्रचारबाजी गर्ने काम भइरहेको बताएका छन् ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालको १३१ औं बार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री ढकालले कोरोना नियन्त्रणका लागि सरकारले सीमित स्रोत साधनका बाबजुद पनि प्रभावकारी रुपमा काम गरेको भएपनि नकारात्मक टिकाटिप्पणी र प्रचारबाजी भइरहेको बताएका हुन् ।
जनता र राष्ट्रप्रतिको जवाफदेहितालाई मध्यनजर गर्दै सरकारले कोरोना नियन्त्रणका लागि गरेको प्रयास दक्षिण एसियामा नै राम्रो भएको उनले दाबी गरे । उनले कोरोना महामारी नियन्त्रणको बिषयलाई राजनीतिक नगर्न आग्रह गर्दै कोरोनाले कुनै पार्टी वा जात नभन्ने उल्लेख गरे ।
मन्त्री ढकालले काम गर्नेहरुलाई कमजोर बनाउनका निम्ति नियतीका साथै नै बदनाम गर्न केहीले कोरोनालाई अवसर बनाएको टिप्पणी पनि गरे । मन्त्री ढकालले कोरोना महामारीलाई अन्त्य गर्नका लागि एकतावद्ध भएर लड्न आह्वान गरेका छन् ।
मन्त्री ढकालले वीर अस्पताललाई जनताले अनुभूति गर्ने गरी वीर अस्पतालको सेवा हुन नसकेको भन्दै यसलाई सुधार गर्दै अघि बढ्नुपर्ने बताए । कार्यक्रममा अस्पतालका केही कर्मचारीहरुलाई सम्मान र पुरस्कृत गरिएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया