सामाजिक विभेदको अर्को पाटो

दुर्लभ बन्धु पोखरेल :- सामाजिक विभेद भन्नाले अहीले हाम्रो समाजमा रहेको कथित जातिगत विभेद र छुवाछूत भन्ने सम्झन्छाै। अनी यो प्रथाबाट कथित तल्लोजाती भनिनेहरुमात्र पिडित हुन्छन् भन्ने हाम्रो सोचाई हुन्छ जून सत्य पनि हो तर पुर्ण सत्य भने हैन ।
यो कुप्रथा कहिले बाट सुरुभयो भनेर यकिन भन्न नसकिएपनि पैंतिससय वर्ष पहीलादेखी यो प्रथा चल्दै आएको मान्न सकिन्छ । किनकी उतीबेला लेखिएको मानीने ऋगवेदमा वर्ण बिभाजन को बारेमा लेखेको पाईन्छ। तर उतिबेलाको वर्ण बिभाजन भने विभेद र छुवाछूत युक्त भने थिएन । त्यो त केवल श्रम बिभाजनमात्र रहेको पाईन्छ। तर त्यो तत्कालीन समयको श्रम बिभाजन गाैतम बुद्धको पालामा आइपुग्दा चन्डालको छोरीको हातबाट पानी खाएको आरोपमा गाैतम बुद्ध नै आलोचीतहुने तहमा पुगीसकेको थियो । काठमाडौं खाल्टोलाइमात्र नेपाल ठान्ने नेपालको इतिहास हेर्ने हो भने किरातहरुले राज्य गरेको बिक्रम संबत सुरु भएको दुई तीन सय वर्ष सम्मपनि विभेद र छुवाछूत नरहेको पाईन्छ। भन्नत जयस्थिती मल्लले चार जात चाैसठ्ठी वर्णमा बिभाजन गरेर जातिय प्रथा शुरुगरेको भनियएतापनि त्यो भन्दा धेरै सय वर्ष पहिले लिक्ष्वी कालमानै चारजात र अठार वर्णमा बिभाजन गरेको ईतिहास पाइन्छ, पछी पृथ्वीनारायण शाहले चारजात छत्तीस वर्ण मा बिभाजन गरेपछी यो कुप्रथाले अझ झांगिने मैंका पाएको देखिन्छ । जब नेपाल एकीकरण गरियो एकीकरणको बेला सहयोग गरेकाहरु र राज परिवारलाई खुशी पार्न सक्नेहरुलाई बृता दिने चलनको सुरुवात गरियो। यो प्रचनल पछि जातिय विभेदसगै वर्गीय दमन थपियो। राजपरिवार र राणाहरुलाई खुसी पारेकाहरु गाउँ जिल्ला नै बृता लिदै आफुलाई उपल्लो दर्जा र अरु जनतालाई रैती सम्झदै दमन गर्न थाले । यसरी बृता लियर स्थानीय तहमा शासन गर्नेहरुमा पश्चिम पहाडमा खस आर्यहरु थिएभने पुर्वी पहाडमा मतवाली, तराइमा थारु र मधेसी नै थिए । तर जब जंगबहादुरले १९१० मा मुलीकी एैन ल्याए र त्येसमा जातको आधारमा सजाय तोके जसमा ब्राह्मणलाई मृत्युदण्ड को सजाय थिएन । त्यसकारण नेपालमा ब्राह्मणवाद हावी भएको आरोप लागेको हो यथार्थमा त्येस्तोभने होइन । त्योबेला ब्राह्मण अर्थात बाहुन भएकाले ती सामन्तहरुले मात्र सजायमा छुट पाँउथे, जसको राजपरीवार अथवा राणाहरुसँग नजिकको सम्बन्ध हुन्थ्यो। एउटा निम्न वर्गको गरीब बाहुन को त्यो न्याय व्यवस्थामा कुनै पहुच थिएन, उस्ले त गल्तीगरे पहिला उस्को जात काटिन्थ्यो र जातै नरहेसी उ पनि अरु जस्तै सजायको भागी बन्नपर्थ्यो।

अब यसको अर्को पाटो हेराै हामीले जातिबाद र छुवाछुतले ब्राह्मण लगाएत उपल्लो जाती मानिनेहरुलाई न्याय गरेको र दलित लगएत तल्लो जाती मानिने समुदाय लाई अन्याय गरेको मान्छाै त्यो सत्य पनि हो तर पुर्ण सत्य चाहि हैन । जब यो कु प्रथा हिन्दु धर्म सँगै गासिएर संस्कार बनेर दलितहरुमाथी छुवाछुत को विभेद लिएर आएको थियो । यसले ब्राह्मणहरुलाई संकुचित दायराभित्र बाधेर राखेको थियो । ब्राह्मण कुलमा जन्मने बित्तिकै उसले अन्य जातीसँग दुरी कायम गर्नुपर्थ्यो ,उसले गर्ने काममा पनि सिमितता थियो । बाहुनले हलो जोत्न , अरुकोमा काम गर्न, कपडा सिलाउन, आरन लगाउन,कुखुरा पाल्न, पशुपालन गर्न वर्जित मानिन्थ्यो भने सेनामा जागिर खान असक्षम मानिन्थ्यो । उसले यी वर्जित कार्य गरेमा सामाजिक बहिस्कार गरिन्थ्यो,उसको जातकाटिन्थ्यो, भात , पानी काटिनथ्यो, कयाैलाई त गाउँ निकालानै गरिन्थ्यो । भलै आजका अधिकांस बाहुन ले त्यो सिमित दायरा तोडेका छन् । त्येस समयमा एउटा निम्न वर्गीय गरिब बाहुन जसले गरिबीलेगर्दा पढ्न सकेन र पुरेत्याई गर्न जानेन भने उसले आफ्नो गुजरा कसरी गर्थ्योहोला ? एउटा सानो टुक्रा जमिन भएपनि त्येसमा हलो जोत्न अरुलाईनै बोलाउन पर्थ्यो, घरमा लक्का जवान छोरो छ तर उसले हलो छुनै हुदैन! जुन प्रथाले जसको रोजी रोटीको अवसर खोस्यो त्यो प्रथाले उसलाई न्याय गरेको कसरी मान्न सकिन्छ र ? त्यो अवस्था उसमा रहेको उच्च जातिय ब्राह्मण सोचले नभई हाम्रो समाजमा संस्कार बनेर आएको सामन्तहरुले बसाएको सामाजिक विभेद र छुवाछूत जस्ता कुप्रथाले आएको हो। दलितहरुमाथी छुवाछूत जस्तो अमानविय कार्य त थियो नै , तर श्रमको अवसरपनि थियो । दलितहरु माथिको मुल समस्या भनेको श्रमको उचित ज्याला नदिइनु हो । दलितहरूमाथी बालीघरे जस्ता कु-व्यवस्था लादेर सामन्तहरुले दमन गरेका थिए । ति सामन्तहरुले आफुले गरेको अपराधलाई ढाकछोप गर्न सिङ्गो बाहुन समुदायलाई नै उचो वर्गको भनी प्रयोग गरे, तर सामन्तहरुले एउटा निम्न वर्गीय बाहुनलाई त्यस्तै व्यबहार गर्थे जस्तो व्यबहार तल्लो समुदायका व्यक्तिहरुसग गर्थे। बाहुन, क्षेत्री हरुलाई उपल्लो जातको त भनियो तर उनिहरुलाई श्रममा निषेध गरियो ताकि उनहरुको आर्थिक हैसियत कहिलेपनि नसुध्रियोस। सधै उनै सामन्तहरुकोमा चाकडी गरि रहुन्।
तपाईहामी धेरैले हलो क्रान्ति को बारेमा सुने पढेका छाै ।२००६ साल साउन ११ गते लमजुङ को दुरा डाँडा मा पण्डित तोयानाथ अधिकारी,हरिभक्त अधिकारी,शेषकान्त अधिकारी, तोयानाथ पाैडेल लगायतका छब्बीस जनाले ले हलो जोते । हलो जोतेकै कारण उनिहरुको पानी काटियो, मेलो पैचो बन्द भयो भने हलो जोतेको हेर्न जानेहरुमासमेत छुवाछूत सुरुभयो। धरै को जात गयो र तल्लो जातमा झारियो कयाै पण्डितले त देश नै छोड्न बाध्य भए । उक्त आन्दोलन को एक वर्षपछी २००७ साल साउन ११ कै दिन सामाजिक प्रचलन बिगारेको, थिती बिगारेको, समाजमा अराजकता फैलाएको आरोप लगाएर तोयानाथ अधिकारी, शेषकान्त अधिकारी सहित अधिकांश पण्डितहरुलाई पक्राउ गरियो । कानुन त पण्डितले हलो जोत्नु अपराध थिएन तर कु प्रथाले जगडिएको हाम्रो समाजले बाहुनले हलो जोत्नु अपराध ठान्यो । दलित ले बाहुनको चुलो छुन नहुनु र बाहुन हलो छुन नहुनु समान किसिमको विभेद हो तर हामी एउटा पक्ष मात्र अन्यायमा परेको ओकालत गर्दै आएका छाै। त्यो हलो क्रान्ति कुनै रहर र लहडले भएको भने अवस्य हैन । त्यो त केबल हाम्रो समाजमा रहेको धर्म र संस्कार सगै जगडिएर आएको जातिय विभेद र छुवाछूत जस्ता कुप्रथाले निशासिएको चित्कार मात्र हो ।
आजको राज्य संयन्त्रलाइ हेर्न हो भने सेना बाहेक सरकार, अड्ढा, अदालत जता हेरेपनि बाहुन ,क्षेत्रीहरुकै बाहुल्यता देखिन्छ। जसले गर्दा लाग्छकि जातिय विभेद तथा छुवाछूत जस्ता कुप्रथा बाहुन क्षेत्रीलेनै बसाएका हुन र जातका आधारमा नै दमन गरेका हुन। त्यसो मान्ने हो भने के सर्वसाधारण बाहुन , क्षेत्रीको राज्य संयन्त्रमा उत्तिकै पहुच छ त ? जती हिजोका बृता धारी अन्य जातीको छ ? अहिलेको समाजको राजनीतिक घराना कोइराला परिवार देखि आजसम्म रिटायर भएका सेना,प्रहरी, लगायत प्रशासकीय ठुला हाकिमहरुको तीन पुस्ने मात्र पल्टाएर हेराै त तिनीहरु अधिकांश तिनै हिजोका बृता धारी घरानीया सामन्त परीवारका सन्तानहरुमात्र छन् । सामन्त हरुको वर्ग हुन्छ जात हैन । आज तिनै सामन्तहरुसग थर मिलेका कारणले सबै बाहुन क्षेत्रीहरुलाई सामन्तको नजरले हेरीएको छ । ती सिमीत सामन्ती परीवारको अधिकार कटौती गर्ने नाममा आज सम्पूर्ण बाहुन क्षेत्री को ४५% अधिकार काटिएको छ। कुनै बर्गका मानिससँग थर मिलेकै कारणबाट अधिकार काटिने समाजलाई आधुनिक समाज भन्न मिल्लाकी नमिल्ला ? यो सामाजिक विभेदको बारेमा कसले आवाज उठाइदिने ? यो सामाजिक विभेदको फरक पाटोलाई नजरअन्दाज गर्न मिल्छकि मिल्दैन ?

के आरक्षणले सामाजिक विभेद अन्त्य गर्ला ?
आज हाम्रो संविधानमा जातीय हिसाबले आरक्षको व्यवस्था गरिएकोछ । हिजका दिनमा राज्यले गरेको विभेदको भरपाई भन्दै आरक्षणको पक्षपोषण गरिएकोछ, यसलाई केहिहदसम्म जायज मान्नपनि सकिएला । तर मुलकुरा के हो भने हिजोको विभेदको मुल कारक को हुन भनेर खोजीगर्नु जरुरी छ । मुलत विभेदको मुल कारक भनेको सामन्ती राज्यव्यवस्थानै हो , जसले स्थानीय स्तरसम्म पुगेर शासक बनेर शासन गर्थ्ये । ती सामन्तहरु तिनै समुदायको हुन्थ्ये जुन स्थानमा जुनसमुदायको बाहुल्यता थियो, तर हाम्रो सामन्ती राज्यव्यवस्था हिन्दुधर्मसगँ जोडिएको र हिन्दुधर्ममा बाहुनहरुलाई उपल्लो जातको भनिएको हुदा सामन्त भनेकै बाहुन हुन् भन्ने बुझाइ हाम्रो समाजमा रहेको छ । यही सोचाइको आधारमा आजको आरक्षणको कोटा निर्धारण गरिएको छ। यो सोचाइले घुमाई फिराई फेरीपनि हिजका सामन्तीहरुलाईनै फाइदा पुर्याएको छ । हाम्रो आरक्षण व्यवस्थामा ५५% खुल्ला भनिएको छ जसमा सबै जातजातिले प्रतिस्पर्धा गर्न पाउछन । पिछडिएका वर्गकोलागि जातीकै आधारमा निश्चीत प्रतिशत छुट्टाइ्एको छ। लोकसेवालाई आधार मान्ने हो भने खुल्ला भनिएको कोटामा प्रतिस्पर्धा गर्ने अन्य जातजातिको संख्या न्युनमात्र छ ।एकछिनको लागि मानैं एउटा सम्पन्न दलित परिवार (जो हिजो सामन्तनै थियो) को सदस्य जसले शहरीया आधुनिक बिधालयमा शिक्षा लिने अवसर पायो, उसले खुल्ला प्रतिस्पर्धामा जादैन र आफ्नो समुदायलाई छुट्टाईएको कोटामा प्रतिस्पर्धा गर्न जान्छ जहाँ उसको प्रतिस्पर्धा भनेको बिपन्न परिवारबाट आएको दलितसँग हुन्छ र उ सजिलै नाम निकाल्न सफल हुन्छ। बिपन्न परिवारको लागि आरक्षण कागलाइ बेल पाकेजस्तो भएको छ । जातको आधारमा गरिएको आरक्षणले जातलाई समावेशी त बनाउला तर त्यो समाबेशीता हिजोका सामन्तहरु बिचको समाबेशीता नै हुने छ ।

लेखक :-पोखरेल उपाध्यक्ष नेपाल पत्रकार महासंघ दक्षिण कोरिया हुन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया