बिहिबार, बैशाख ०६, २०८१

नेपालमा तयार भएको कोरोना भाइरसविरुद्धको औषधिको परीक्षण प्रक्रिया शुरु

हेटौँडा । कोरोना भाइरसविरुद्ध औषधि तयार पारेको दाबी गर्ने त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक डाक्टर ललितकुमार दासले प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत आफूँले तयार पारेको औषधिको परीक्षण प्रक्रिया थालेका छन् ।

उनले वाग्मती प्रदेशका सामाजिक विकास मन्त्रीको संयोजनमा औषधिको औपचारिक तथा कानूनी परीक्षणको प्रक्रिया प्रारम्भ गरेका हुन् । औषधिका सम्बन्धमा मन्त्री युवराज दुलालले शुक्रबार प्रदेशका विज्ञ तथा देशका प्रतिष्ठित वैज्ञानिकसँग समेत छलफल गरेका थिए । छलफलपछि उक्त औषधिको औपचारिक परीक्षण प्रारम्भ गर्ने निर्णय भएको मन्त्री दुलालले जानकारी दिए । “अब नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मार्फत औषधिको परीक्षणलगायतको काम हुन्छ”, उनले भने डाक्टर दासलाई प्रदेश सरकारको साथ रहने तथा सरकारका तर्फबाट सबै प्रकारको सहयोग रहने उनको भनाइ छ । आफूँले तयार पारेको औषधिले कोरोना भाइरसविरुद्ध पूर्णरुपमा काम गर्ने जिकिर गर्ने डाक्टर दासका अनुसार उनले रोगको निदान गर्ने समूह र सङ्क्रमण हुन नदिने समूह गरी दुई भागमा नौ प्रकारका औषधि तयार पारेका छन् ।

सो मध्ये छ प्रकारका औषधिलाई सङ्क्रमण लाग्न नदिन सुईका रुपमा प्रयोग गर्न सकिने तथा तीन प्रकारका औषधिलाई सङ्क्रमण पछि उपचारका लागि र रोगको निदानका लागि प्रयोग गर्न सकिने उनको भनाइ छ । आफूँले कोरोना भाइरसको बनावट त्यसका रसायनिक तथा अन्य गुणको अध्ययन गरेको र विभिन्न १५ प्रकारका वनस्पतिमार्फत त्यसलाई नष्ट गर्ने औषधि तयार पारेको उनको भनाइ छ । डाक्टर दासले उक्त औषधिले कोरोना भाइरसको पहिलो पत्रमा हुने बोसो तथा प्रोटिनलाई समेत टुक्र्याउने र भाइरसलाई निष्क्रिय बनाउने बताए । द्रुत सङ्क्रमक भाइरस भएकाले भाइरसलाई ल्याबमा ल्याएर परीक्षण नगरेको तर अन्य वैज्ञानिक परीक्षण गरेको उनको भनाइ छ । वर्षौंदेखि मानव जातिले विभिन्न तरिकामा प्रयोग गर्दै आएका वनस्पतिको प्रयोगबाट औषधि तयार भएकाले यसको प्रयोगबाट कुनै पनि प्रकारको ‘रियाक्सन’ नहुने तर कसैकसैमा सामान्य खालको एलर्जीसम्म हुनसक्ने डाक्टर दासको भनाइ छ ।

वनारस विश्वविद्यालयबाट रसायन शास्त्रमा विद्यावारिधि गरेका डाक्टर दास त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थान, हेटौँडा क्याम्पसमा प्राध्यापन गराउँछन् । बाराको कलैयाका स्थायी बासिन्दा डाक्टर दासले हेटौँडाकै मकवानपुर बहुमुखी क्याम्पसलगायतका शैक्षिक संस्थामा समेत अध्यापन गराएका थिए ।

यसैबीच, डाक्टर दासलाई विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले कोरोनाविरुद्ध तयार पारेको औषधिलाई सुईमार्फत दिइने मात्र नबनाएर खाने झोल सिरपका रुपमा समेत उत्पादन गर्न सुझाव दिएको छ । भिडियो कन्फेरेन्समार्फत कुराकानी गरेपछि स्वास्थ्य सङ्गठनले इमेलमार्फत उक्त सुझाव दिएको डाक्टर दासले जानकारी दिए ।