शनिबार, बैशाख ०८, २०८१

एनआरएनए जापानका निवर्तमान महासचिव घिमिरेले दिए लमजुङका मजदुरलाई राहत

टोकियो । गैरआवासीय नेपाली संघ एनआरएनए जापानका निवर्तमान महासचिव वुद्धिराज घिमिरेले लमजुङको राईनास नगरपालिकाका विपन्नलाई खाद्यन्न सहयोग गरेका छन् । कोरोना भाईरस महामारीका कारण जारी लकडाउनले दैनिक गुजारा चलाउन समस्या भएका राईनास नगरपालिका वडा नम्बर  १, २ र ३ का ज्यालामजदुरी गरेर परिवार पाल्ने विपन्न परिवारलाई राहत स्वरुप खाद्यन्न सहयोग गरिएको हो । राहतमा प्रतिपरिवार ३० किलो चामल, दाल, तेल र नुन वितरण गरिएको जनाएको छ । दैनिक ज्यालादारी गर्ने र न्युनवर्गीय परिवारलाई पहिलो चरणमा सो खाद्यन्न दिइएको हो । राहत वितरण कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा वुद्धिजीविलगायतको उपस्थिती रहेको थियो । कोरोनाविरुद्धको सचेतना अभियानमा सक्रिय रहेका घिमिरेले यसअघि जापानमा ७ सय ५० थान मास्क वितरण गरेका थिए भने समस्यामा परेको विद्यार्थीलाई नगदसमेत सहयोग गरेका छन् । साथै घिमिरेले कोरोना लागेकाहरुका लागि अलग बस्न आवासको व्यवस्था समेत गरेका छन् ।

एनआरएनए जापानका निवर्तमन महासचिव तथा आईसीसी नियमावली मस्यौदा समितिका सदस्यसमेत रहेका घिमिरे लमजुङ समाज जापानका संस्थापक महासचिव पनि हुन् ।