Nepali date


सोमवार, जेष्ठ १२, २०७७

कोभिड–१९ रोकथाम र उपचारमा आयुर्वेद र योगको भूमिका

डा.रमेश केसी । सन् २०१९ को डिसेम्बर अन्तिम साता चीनको वुहान सहरमा देखिएको कोभिड–१९ हाल संसारभर महामारीको रुपमा फैलिएको छ । नेपालमा पनि कोरोना भाइरस संक्रमण दिनानुदिन बढ्दै गइरहेको छ। नेपालमा  अधिकांश संक्रमित लक्षणरहित देखिएका छन्, जुन सुखद कुरा हो। यही अवस्था आगामी दिनहरुमा पनि रहिरहे वैज्ञानिक अध्ययन–अनुसन्धानको लागि यो एउटा महत्वपूर्ण विषय बन्ने निश्चित छ। नेपालीले तुलनात्मक रुपमा स्वस्थकर एवं प्राकृतिक आहार सेवन गर्ने, शारीरिक श्रम गर्ने, हावापानी, विगतमा भएका–हुनसक्ने यस्तै प्रकृतिका संक्रमण, बिसिजी लगायतका खोपहरुको उच्च प्रयोग दर  आदिका कारणले संक्रमितहरुको अवस्था सामान्य रहेको हुनसक्छ। नेपालमा प्राकृतिक (वनस्पति स्रोतबाट प्राप्त) आहार सेवन बढी र प्रशोधित आहार (जंक फुड) र मांसाहार सेवन नगर्ने वा कम गर्ने गरिन्छ। यस्तो आहारको सेवनले मानव शरीरमा विद्यमान सूक्ष्म जिवाणु (नर्मल गट माइक्रोबायटा) को संरचना र संगठन विविधतायुक्त र स्वास्थ्यमैत्री हुने अनुसन्धानहरुले देखाएका छन्।

यी माइक्रोबायटाहरुले शरीरको इम्युनिटी र मेटाबोलिज्म सञ्चालनमा महत्वपूर्ण प्रभाव पार्छन्। मानव शरीरमा यस्ता माइक्रोबायटाहरुको संख्या शरीरमा हुने सबै कोषहरुको संख्याभन्दा १० गुणा बढी हुने बताइन्छ। यसका अलवा उच्च रक्तचाप, मोटोपना, मधुमेह, मुटुरोग, क्यान्सर, दीर्घ श्वासप्रश्वास सम्बन्धी रोग, मिर्गौला रोग आदि जस्ता रोगप्रतिरोधी क्षमता कम गराउने स्वास्थ्य समस्याहरुको अवस्था र शरीरको रोगप्रतिरोधी क्षमता बढाउन भूमिका खेल्ने भिटामिन डी, ई, सी, ए र अन्य सूक्ष्म पोषक तत्वहरुको शरीरमा उपलब्धता पनि यो परिपे्रक्ष्यमा सोचनीय विषयहरु हुन्। नेपालमा स्वास्थ्य प्रवद्र्घन र रोगहरुको उपचारको लागि आयुर्वेद चिकित्सा विज्ञान आदिमकालदेखि नै प्रयोगमा छ। हाल फैलिएको कोभिड–१९ रोगको रोकथामको लागि प्रभावकारी खोप र उपचारको लागि औषधिहरुको खोजीमा वैज्ञानिकहरु जुटिरहेका र अपेक्षाकृत सफलता नपाइरहेको अवस्थामा हाम्रो आफ्नै परम्परागत एवं मौलिक चिकित्सा विज्ञान आयुर्वेद यस रोग विरुद्घको लडाईंमा एक महत्वपूर्ण हतियार सावित हुनसक्छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले (चिकित्साशास्त्र अध्ययन संस्थान, आयुर्वेद क्याम्पससँगको सहकार्यमा) कोभिड–१९ को रोकथाम एवं उपचारको लागि आयुर्वेद एवं वैकल्पिक चिकित्सासम्बन्धी गाइडलाइन जारी गरिसकेको छ भने प्रदेश ५, सामाजिक विकास मन्त्रालयले पनि त्यस्तै गाइडलाइन जारी गरी क्वारेन्टिनमा रहेका मानिसहरुलाई रोगप्रतिरोधी क्षमता बढाउने प्रकृतिका आयुर्वेद औषधिहरु सेवन, योगाभ्यास र तनाव व्यवस्थापन सम्बन्धी कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गरिरहेको छ।

यसैबीच प्रदेश १ स्थित कोशी अस्पताल, विराटनगरले अस्पतालमा भर्ना भएका कोभिड–१९ संक्रमित बिरामीहरुलाई च्यवनप्रास, अश्वगन्धा र गुर्जो प्रयोग गरी उपचार गरिरहेको र संक्रमण निको भई डिस्चार्ज भएपछि पनि सोही औषधिहरु निरन्तर सेवन गर्न सिफारिस गरेको समाचार आएपछि धेरैको ध्यान आयुर्वेद चिकित्साप्रति तानिएको छ। यस्तै प्रकारको प्रयोग छिमेकी देश भारतमा पनि भइरहेको छ र नतिजा पनि अपेक्षा गरेभन्दा राम्रो पाइएको जनाइएको छ। चीनले कोभिड–१९ को रोकथाम र उपचारमा परम्परागत चिनियाँ चिकित्सा विज्ञानको अधिकतम सफल प्रयोग गरेको थियो। हालै विश्व स्वास्थ्य संगठनले कोभिड–१९ को रोकथाम र उपचारको लागि परम्परागत चिकित्सा विज्ञानको प्रयोग र अनुसन्धानलाई स्वागत गरिने र आफूले पनि यसमा अनुसन्धानहरु गरिहेको बताएको छ।

यसरी हेर्दा आयुर्वेद लगायत परम्परागत चिकित्सा विज्ञानको प्रयोग र थप वैज्ञानिक अध्ययन– अनुसन्धानको पृष्ठभूमि संसारभर तयार भएको देखिन्छ। यसर्थ यस कार्यलाई मूर्त रुप दिन र बढी फलदायी बनाउन हाल मुलुकभर सञ्चालित क्वारेन्टिन स्थल र कोभिड–१९ डेडिकेटेड अस्पतालहरुमा आधुनिक चिकित्सक, सरुवा÷संक्रामक रोग विशेषज्ञ, आयुर्वेद चिकित्सक, भेटेनरी चिकित्सक, जनस्वास्थ्य विज्ञ, इपिडेमियोलोजिस्ट, भाइरोलोजिस्ट, इम्युनोलोजिस्ट, पोषण विज्ञ आदि जस्ता सरोकारवालाहरुको संयुक्त टिम बनाई परिचालन गर्न आवश्यक देखिन्छ।

आयुर्वेद चिकित्सा विज्ञानको पृथक एवं मौलिक सिद्घान्त (त्रिदोष आदि) र विशिष्ट अभ्यास छ, जुन आधुनिक चिकित्सा विज्ञानका चिकित्सकहरुलाई विल्कुल नौलो लाग्न सक्छ। आयुर्वेद चिकित्सामा प्रयोग गरिने औषधि एवं जडिबुटीहरुले रस, गुण, विर्य, विपाक र प्रभावको सिद्घान्तमा काम गर्छन्, जुन छोटो समयमा अध्ययन गर्न र बुझ्न असम्भव छ। जडिबुटीमा निहित सक्रिय रसायनका (एक्टिभ फाइटोकेमिकल्स) आधारमा मात्रै गरिएको विश्लेषणले आयुर्वेद चिकित्सा अनुसार गरिने सबै प्रयोगलाई पूर्ण रुपमा वर्णन गर्न सक्दैनन्। यद्यपि यस लेखमा कोभिड–१९ रोकथाम र उपचारमा प्रयोग गर्न सकिने केही सामान्य र सर्वसुलभ रुपमा उपलब्ध हुने आयुर्वेद औषधिहरु च्यवनप्रास, अश्वगन्धा, गुर्जो र जेठिमधु एवं योगाभ्यासबारे केही शास्त्रीय र वैज्ञानिक तथ्यहरु प्रष्ट पार्न खोेजिएको छ।

आमनेपाली च्यवनप्रासबारे बाल्यकालदेखि नै परिचित छन्। विशेषगरी श्वासप्रश्वास सम्बन्धी रोगहरुबाट बच्न र बचाउन यसको प्रयोग नेपाली समाजमा परापूर्व कालदेखि नै गरिँदै आइएको छ। अमलासहित ४९ औषधि गुणयुक्त जडिबुटीहरुको प्रयोग गरी च्यवनप्रास बनाइन्छ। यसको निर्माण र प्रयोगबारे आयुर्वेदको शास्त्रीय ग्रन्थ चरक संहितामा उल्लेख गरिएको छ, जुन इशापूर्व करिब ५०० वर्ष पहिले लेखिएको आयुर्वेदको सामान्य चिकित्सा (जनरल मेडिसिन) विधाको आधिकारिक ग्रन्थ हो। वृद्घ च्यवन ऋषि यो सेवन गरी जवान भएकाले च्यवनप्रास नाम राखिएको पौराणिक मान्यता छ। च्यवनको अर्थ क्षय हुनु वा खिइनु र प्रासको अर्थ औषधि वा खाने कुरा पनि हुन्छ। यसरी हेर्दा च्यवनप्रास शरीरमा हुने डिजेनेरेटिभ चेन्जहरुलाई रोक्न सक्ने औषधीय गुणयुक्त खानेकुरा हो। च्यवनप्रासको रोगप्रतिरोधी क्षमता वृद्घि गर्ने कार्य यसैको एक पाटो मात्र हो। वैज्ञानिक अध्ययन–अनुसन्धानहरुले च्यवनप्रासमा विभिन्न भिटामिन, मिनरल्स एवं एन्टिअक्सिडेन्ट पाइने देखाएका छन्। च्यवनप्राशको मुख्य घटक अमला हो, जसमा अत्यधिक भिटामिन सी, पोलिफिनोल, फ्ल्याभिनोइड आदि पाइन्छ। सामान्यतयाः १०० ग्राम च्यवनप्रासमा ३५० किलोक्यालोरी शक्ति, ७५ ग्राम कार्बोहाइड्रेट, १.४ ग्राम प्रोटिन, २१ एमजी भिटामिन सी, २२ एमजी आइरन, ५ ग्राम फाइबर, ५० एमजी सोडियम, ३ एमजी जिंक लगायत कपर, म्याग्निज, भिटामिन ए, ई, बी वान, बी टु, क्यारेनिनोइड्स, स्यापोनिन, पाइपेरिन आदि पाइन्छ।

च्यवनप्रासमा प्रयोग गरिने सबै घटक र प्रक्षेप जडिबुटीहरुको आ–आफ्नै पृथक गुण र शरीरमा पार्ने प्रभावहरु छन्। सबै घटकहरुको कार्यलाई विश्लेषण गर्दा च्यवनप्रासले मुख्यगरी इम्युन, रेस्पिरेटरी, ग्यास्ट्रोइन्टेस्टाइनल, कार्डियोभास्कुलर, रिप्रोडक्टिभ, इन्डोक्राइन, रेलन र नर्भस सिस्टममा सकारात्मक प्रभाव पार्ने देखिन्छ। च्यवनप्रासमा हुने पिपली, कण्टकारी, भुइँआमलकी, काकडश्रृंगी, असुरो, पोखरमुल, पृश्निपर्णा, सालपर्णी, अग्निमन्थ, अमला आदिले रेस्पिरेटरी सिस्टमलाई बलियो बनाउँछन्। अध्ययनहरुले बालबालिकामा च्यवनप्रासको प्रयोगले सामान्य रुघाखोकी एवं भाइरल फ्लुको संक्रमण दर २ गुणा घटाएको देखाएका छन्। त्यस्तै क्षयरोगीहरुलाई एटिटीको साथमा च्यवनप्रास सेवन गराउँदा एटिटीको साइड इफेक्टहरु नदेखिएको, बिरामीले ऊर्जाशील र स्वस्थ महसुस गरेको एवं परीक्षणका नतिजाहरुमा चाँडो सुधार देखिएको पाइएको छ।

बिरादीकन्द, गुर्जो, अश्वगन्धा, सालपर्णी, पृश्निपर्णी आदिले स्नायु कोष र प्रणालीलाई स्वस्थ राख्नुको साथै स्ट्रेस (तनाव) घटाउँछन्। शतावरी, अमला, बिदारीकन्द, जिवन्ती, मुद्गपर्णी, मासपर्णी, अश्वगन्धा, गोखुर, पुनर्नवा, वंशलोचन आदि एन्टिअक्सिडेन्टका स्रोत हुन्। अनुसन्धानहरुबाट यिनीहरुले शरीरमा ग्लुटाथियोन, सुपरअक्साइड डिस्म्युटेज, क्याटालेजको मात्रा बढाउने देखाएका छन्। यी एन्टिअस्सिडेन्टहरुले शरीरमा मेटाबोलिज्म एवं सक्रमणको कारण उत्पन्न हुने फ्रि रेडिकलहरुलाई निष्क्रिय बनाई तिनीहरुको दुष्प्रभावबाट बचाउँछन्।

मुसाहरुमा गरिएको एक प्रयोगात्मक अनुसन्धान अनुसार च्यवनप्रासको सेवन गराउँदा एलर्जिनको प्रभाव कम भएको (हिस्टामिन र आइजी ईको मात्रा कम भयो) पाइयो। त्यस्तै च्यवनप्रासको सेवनबाट नेचुरल किलर सेलको मात्रा र सक्रियता बढेको, फागोसाइटिक इन्डेक्स बढेको, ट्युमर निक्रोसिस फ्याक्टर अल्फा, इन्टरल्युकिन वान, माइक्रोफेज इन्फ्लामेटरी प्रोटिन वान अल्फा घटेको पाइयो जुन भाइरस एवं रोगविरुद्घ लड्न धेरै महत्वपूर्ण र प्रभावकारी हुन्छन्। समग्रमा भन्नुपर्दा च्यवनप्रास इम्युनोमोडुलेटर, एन्टिअक्सिडेन्ट, रेडियोप्रोटेक्टिभ, साइटोप्रोटेक्टिभ, जिनोप्रोटेक्टिभ, एन्भिम्युटाजेनिक, एन्टिकार्सिनोजेनिक, कार्डियोटोनिक, नुट्रपिक, एड्याप्टोजेनिक, इम्युन बुस्टर सुपर न्युट्रासिउटिकल एवं फंसनल फुड सप्लिमेन्ट हो। अश्वगन्धा आयुर्वेद चिकित्सामा रसायन (एन्टिअक्सिडेन्ट एवं इम्युनुमोडुलेटर) को रुपमा प्रयोग हुने प्रमुख औषधि हो। एक अध्ययन (आरसिटी) अनुसार अश्वगन्धा आमवात (रुमाटोइड आथ्राइटिस) को उपचारको लागि हाइड्रोअक्सिक्लोरोकुइन जत्तिकै प्रभावकारी दखिएको छ। कोभिड–१९ को रोकथाम एवं उपचार पनि हाइड्रोअक्सिक्लोरोकुइनको प्रयोगबारे चर्चा भइरहेको परिप्रेक्ष्यमा अश्वगन्धा एक प्रभावकारी र सुरक्षित विकल्प हुनसक्छ।अश्वगन्धामा पाइने बिथानोलले कोरोना भाइरसको स्पाइक प्रोटिन रिसेप्टर वाइन्डिङ डोमेन र फोक्सोको अल्भोलीमा हुने एन्जियोटेन्सिन कन्भर्टिङ इन्जायम २ रिसेप्टरको बीच सम्पर्क वा संयोजन हुन दिँदैन जसले गर्दा अल्भोलिभित्र कोरोना भाइरस प्रवेश गर्न र संख्या बढाउन पाउँदैन। अश्वगन्धाले टी हेल्पर सेल १ लाई पनि सक्रिय बनाउँछ र साथै ट्युमर निक्रोसिस फ्याक्टर १ अल्फा, इन्टरल्युकिन १, ६ र १० घटाई साइटोकाइन स्टोर्म र इन्फ्लामेसन रोक्छ। त्यस्तै साइक्लोअक्सिजिनेज २ को सक्रियतालाई कम गरी प्रोस्टाग्ल्यान्डिन लगायतका इन्फ्लामेटरी र पाइरेटिक केमिकल्सहरु कम गरेर ज्वरो कम गर्छ।  गुर्जो अर्को एक प्रसिद्घ इम्युनोमोडुलेटर, एन्टिइन्फ्लामेटरी, एन्टिअक्सिडेन्ट, हेपाटोप्रोटेक्टिभ, एन्टिएलर्जिक एवं एन्टिस्ट्रेस औषधि हो। गुडुचीमा पाइने कार्डिफोलियोसाइड, म्याग्नोफ्लोरिन, टिनिकोर्डिसाइड, हाइड्रोअक्सिमुस्टाकोन, मिथाइपाइरोलिडोन आदिले इम्युनोमोडुलेटरको काम गर्छन्। त्यस्तै अल्फा डी ग्लुकन रसायनले लिम्फोसाइडहरुलाई सक्रिय गराउने र इन्फ्लामेटरी साइटोकाइनहरु घटाउने काम गर्छ।

गुर्जोले माइक्रोफेजको सक्रियता बढाउँछ र माइक्रोफेजबाट लाइसोजाइम, रियक्टिभ अक्सिजन स्पेसिस र नाइट्रिक अक्साइडको स्राव बढाई आफूले निलेका जिवाणु एवं विषाणुहरुलाई निष्क्रिय बनाउन सघाउँछ। ४०० बालबालिकालाई २ महिनासम्म गुडुची सेवन गराई ८ महिनासम्म नियमित फलो अप गरी गरिएको एक अध्ययन (आरसिटी) अनुसार गुडुची सेवन गरेका बालबालिकामा श्वासप्रश्वास सम्बन्धी संक्रमण, पखाला र पिसाब सम्बन्धी संक्रमण गुडुची सेवन नगरेका बालबालिकामा भन्दा ३ गुणा कम भएको पाइएको थियो।

यष्ठिमधु (जेठिमधु) श्वासप्रश्वासको समस्या एवं भाइरल फ्लुमा प्रयोग हुँदै आएको प्रभावकारी औषधि हो। अनुसन्धानहरुले कोरोना भाइरस–२ विरुद्घमा पनि यो अत्यन्त प्रभावकारी हुने देखाएका छन्। चीनमा परम्परागत चिकित्सामार्फत उपचार गरिएका सबै रोगीहरुमा प्रयोग गरिएका विभिन्न औषधिमध्ये यष्ठिमधु प्रमुख एक थियो। यष्ठिमधुमा पाइने ग्लाइसेराइजिन रसायनले संक्रमणको प्रारम्भिक अवस्थामा भाइरसको वृद्घि (रेप्लिकेसन) रोकेको अनुसन्धानहरुले देखाएका छन्। यसैगरी यष्ठिमधुले स्पाइक प्रोटिन, आर एन ए पोलिमरेज, प्रोटियज इन्जायम र एन्जियोटेन्सिन कन्भर्टिङ इन्जायम २ रिसेप्टर दबाउने पुष्टि भएको छ। अतः यष्टिमधु कोभिड–१९ को रोकथाम र उपचारमा निकै उपयोगी हुने देखिन्छ।

नियमानुसार गरिने योगाभ्यास (आसन, प्राणायाम, ध्यान) शारीरिक, मानसिक एवं आध्यात्मिक स्वास्थ्यको दृष्टिकोण निकै महत्वपूर्ण छ। कपालभाती, भस्त्रिका, अनुलोम विलोम जस्ता प्राणायाम र भुजंगासन, धनुरासन, उष्ट्रासन, शेतुबन्धासन, सूर्य नमस्कारले फोक्सो र श्वासप्रश्वासमा प्रयोग हुने मांसपेसीहरुको कार्यक्षमता वृद्घि गर्दछ। एक अध्ययनले २ हप्तासम्म २० मिनेट प्रतिदिन प्राणायाम गर्दा पल्मोनरी फङ्सन टेस्टमा सकारात्मक सुधार भएको देखिएको थियो। उनीहरुमा श्वास रोक्ने क्षमता (बे्रथ होल्डिङ टायम), फोस्र्ड भाइटल क्यापासिटी, पिक एक्पिरेटरी फ्लो रेट, फोस्र्ड भाइटल फ्लो, मेक्सिमम भुलुन्टरी भेन्टिलेसन आदिजस्ता इन्डिकेटरहरुमा वृद्घि भएको पाइएको थियो।

भस्त्रिका प्राणायाम (गहिरोसँग श्वास लिने र छोड्ने अभ्यास) ले श्वास भित्र लिने र बाहिर फाल्दा प्रयोग हुने मांसपेसीहरुलाई शक्तिशाली बनाउँछ। कपालभाती प्राणायाम (श्वास बाहिर फाल्ने अभ्यास) ले डायफ्राम र पेटका मांसपेसीलाई सक्रिय बनाउँछ र साथै ब्रोन्कियल ट्रिमा रहेका स्रावहरुलाई बाहिर निकाल्न सहयोग गर्छ। भ्रामरी प्राणायाम, योग निन्द्रा आदिले तनाव कम गर्न सहयोग गर्छ। अर्को एक अनुसन्धान अनुसार योगाभ्यास, मर्निङ वाक जस्ता एरोबिक व्यायाम गर्नेहरुको म्यकोजल लेयर (नाक, मुख, आँखा आदिको) मा आएजी ए इम्युनोग्लोबुलिन जिम एवं एथ्लेटिक्स टे«निङ गर्नेहरुको भन्दा ५० प्रतिशत बढी हुने पाइएको छ, जुन संक्रामक जिवाणु एवं विषाणु विरुद्घ पहिलो अवरोेधक हो। यसैगरी केही अनुसन्धानहरुले नियमित योग एवं प्राणायामको अभ्यास गर्नेहरुमा श्वासप्रश्वासमा संक्रमण हुने दर साविकभन्दा निकै कम भएको देखाएका छन्।

योगाभ्यास तनाव व्यवस्थापनको लागि एक सरल र सहज एवं प्रभावकारी साधन हो। ७० जना दन्तरोगीमा गरिएको एक अध्ययनमा नियमित योगाभ्यासले स्ट्रेस हर्मोन (कर्टिसोल) को मात्रा, एन्जाइटी र डिप्रेसन रेटिङ स्केलमा ठूलो सुधार भएको पाइयो। योगाभ्यासले स्नायु प्रणालीको सिम्पाथेटिक नर्भस सिस्टमलाई नियन्त्रित बनाउँछ र कोर्टिसोल हर्मोनको साथै हानिकारक साइटोकाइन एवं इन्फ्लामेटरी केमिकल्सहरुको मात्रालाई पनि कम गराउँछ।

निष्कर्षमा भन्नुपर्दा विश्व अहिले शताब्दीकै ठूलो र अनपेक्षित महामारीसँग जुधिरहेको छ। संक्रमणबाट बच्न प्रभावकारी खोप र उपचारको लागि औषधि उपलब्ध नभएको वर्तमान परिप्रेक्ष्यमा आयुर्वेद चिकित्सा विज्ञान सहयोगी हुनसक्छ। यसको अर्थ कोभिड–१९ को पूर्ण उपचार आयुर्वेदमा छ भनिएको होइन। यसका केही सीमितता पनि छन्। तर आममानिसमा रोगसँग लड्ने क्षमता बढाउन र लक्षणरहित एवं सामान्य लक्षणयुक्त बिरामीलाई उपचार गर्न तथा संक्रमितहरुमा रोगको सम्भावित जटिलता कम गर्न उपयोगी चाहिँ पक्कै छ।

(डा.केसी आयुर्वेद चिकित्सक एवं जनस्वास्थ्य विज्ञ हुन् ) 

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: