बिहिबार, चैत १५, २०८०

प्रवासीमा अलपत्र नेपालीलाई स्वदेश ल्याउन प्रधानमन्त्रीलाई पत्र

प्रिय प्रधानमन्त्रीज्यु । कालापानी–लिपुलेकको विषयमा तपाइँको सरकारले चालेको अभुतपूर्व कदमका लागि म तपाइँलाई हृदयदेखि साधुवाद दिन चाहन्छु । विस्तारमा आफ्ना भनाई राख्नुपूर्व म मेरो पार्टीका दुई महान नेताद्वय क. मदन र क. जीवराजलाई हार्दिक रुपमा स्मरण गर्दछु ।

मलाई थाहा छ कि म केन्द्रिय कमिटिको सदस्य भए तापनि बैठक नडाकिनाले तपाइँसमक्ष मैले नेतृत्व गरेका साथीहरुको र आम प्रवासी जनसमुदायको समस्याहरु राख्न समय पाउने छैन । त्यसैले यो विरोधपत्र/मागपत्र खुलारुपमा तपाइँसमक्ष प्रस्तुत गर्दैछु ।

मैले तपाइँबाट जागिर पाउनका लागि वा अन्य कुनै मेरो व्यक्तिगत स्वार्थ पूरा गर्नका लागि यी मागहरु पेश गर्दै छैन । म आफै विदेशमा मोटर आदि सुविधासहितको लाखौंको जागिर त्यागेर देश र जनताको लागि आफुलाई समर्पण गर्दै पार्टीमा पेशेवर बनेको पनि दुई दशक भैसकेको छ । त्यसैले मेरो लागि पार्टीमा नियुक्ति, जागिर वा कुनै पद आकर्षणको विषय होइन । मेरा भनाईहरु विशुद्ध रुपमा विदेशी भूमिमा अलपत्र परेका नेपाली नागरिकहरुको आफ्नो मातृभूमि फर्किन पाउनु रोदन, क्रन्दन र चित्कारसंग सम्बन्धित छन् । यो समय आरोपप्रत्यारोपको होइन तर केही विषयहरु भने नउठाइ नहुने छन् ।

राज्यले कुनै पनि बहानामा यो अभूतपूर्व महासंकटका बेला आफ्नो दायित्वबाट पन्छिएर आफ्ना नागरिकलाई विदेशी भूमिमा अलपत्र पार्न मिल्दैन । तर दुखको कुरा भारतलगायत मलेशिया र खाडीका मुलुकहरुबाट संकटग्रस्त नेपालीहरुले उद्धारको माग गर्दा तपाइँकै मन्त्रिमण्डलका जिम्मेवार सदस्यहरुबाट ‘शेयर्ड रेस्पान्सबिलिटि’ को कुरा आउने गरेको छ अर्थात् जुनजुन देशमा नेपालीहरु छन् उनीहरुलाई हेर्ने दायित्व तत्तत् देशका सरकारहरुको रहेको । सामान्य अवस्थामा त यो कुरा ठिकै होला । अझ एकजना तपाईकै निकट मानिने कमरेडबाट त ‘भारतले प्रवासी नेपालीहरुको सम्बन्धमा डब्लुएचओको मापदण्ड पालन गरेन’ भन्ने कुरा पनि आयेको छ । तपाइँको घरमा आगो लाग्यो भने तपाइँ आगो निभाउने नियम पुस्तिका खोज्न लाग्नु हुन्न प्रधानमन्त्रीज्यु जतिसक्यो छिटो जलिरहेको घरबाट आफु र आफ्नो परिवारलाई बाहिर निकाल्नु हुन्छ । भारतलगायतका देशले पनि त्यही गरेका छन् । कोरोना महासंकटका बेला स्वाभाविक नै हो ती देशका आफ्नै नागरिकहरु प्राथमिकतामा पर्दछन् । तपाइँकै सहयोगीहरुमा यति साधारण ज्ञानको पनि अभाव देखिएपछि विदेशमा फसेका नेपालीहरुको सरकारले कस्तो उद्धारको योजना बनाउला भन्ने मलाई चिन्ता लागेको छ । यस्तो बेलामा ‘शेयर्ड रिस्पान्सबिलिटि’ का र ’डब्लुएचओको मापदण्ड’ का कुरा गरेर आफ्नो अक्षमता छोप्ने छुट कसैलाई पनि छैन प्रधानमन्त्रीज्यु कमसे कम मजदुर मुक्तिको कसम खाएर सरकारमा बस्ने तपाइँ र तपाइँको टिमलाई त यो छुट छैन नै । अझै अर्को दुखको कुरा के छ भने तपाइँकै कतिपय कमरेडहरुका तर्फबाट यो महाविपत्तिलाई ‘प्रवासी नेपालीहरु अलि बडी आतंकित भएको, अलि बढी भावनामा बगेको’ भनेर अवमूल्यन हुने गरेको छ । यो साच्चिकै दुखदायी छ । के कोरोना महामारी भावनाको कुरा हो । के विश्वका सात अर्ब जनता बढी भावुक भएर यो समस्या भयेको हो ? यसबीचमा भारतमा केही नेपालीहरुले आत्महत्या गरेका छन् । केही बाटोमै सुत्केरी भयेका छन्, केहीको गर्भपतन भयेको छ । खाडीमा र मलेशियामा एउटै भवनमा १०० जना सम्म मजदुरहरुलाई राखिएको छ । उनीहरुसंग काम छैन । खाने खर्च छैन । भिसा अवधि सकिएको छ । के यो भावनाको मात्र कुरा हो त प्रधानमन्त्रीज्यु अमेरिकामा आफन्त भेट्न गएका आफ्नो जीवनको अन्तिम कालमा रहेका थुप्रै ज्येष्ठ नागरिकहरु कहिले मातृभूमि टेक्न पाइएला भनेर छटपटाई रहेका छन् । के यो पनि भावना नै हो त प्रधानमन्त्रीज्यु । भारतका नेपालीहरुको बारेमा तपाइँले पनि ‘होटलमा नबसेर किन सीमामा दशा देखाएको’ भन्नु भयो । सरकारले यस्ता त्रुटिपूर्ण चिन्तन सच्चाओस् भन्न चाहन्छु ।

लेट अस फर्गेट द पास्ट प्रधानमन्त्रीज्यु । कामको कुरा गरौं । अब तत्काल तपाइँको सरकारले ढिला नगरी निम्न दुई काम गर्नु पर्दछ :

१. भारतमा अलपत्र परेका लगभग ५० हजार नेपालीहरुका लागि भारत सरकारसित सरकारले आवश्यकतानुसार रेल र बसहरु भाडामा लिने । उनीहरुलाई सुरक्षित र सम्मानित तरीकाले नेपालको सीमाको निकटतम रेलहेड सम्म ल्याउने र त्यहाबाट क्वारेन्टाइनमा देश भित्र पुराउने व्यवस्था अविलम्ब गर्नु पर्दछ । यसका लागि लगभग ५० वटा रेल भाडामा लिनुपर्ने हुन्छ जसको खर्च सक्नेहरुबाट तिराएर बाकी खर्च राज्यले बेहोर्नु पर्दछ ।

२. खाडी र मलेशिया लगायतका मुलुकहरुमा भिसा सकिएर/ काम सकिएर/ निकालिएर अलपत्र भएका कामदारहरुका लागि तत्काल जहाजहरु चार्टर गर्ने । सम्भवत: २०/ ३० वटा विमान चार्टर गरेपछि समस्या हल हुन्छ । युरोप अमेरिका अष्ट्रेलियामा अलपत्र परेको खास समस्या देखा परेको छैन तर त्यहाँ पारिवारिक भेटघाटमा गएका आफन्तहरु र केही विद्यार्थीहरु समेतलाई एअर लिफ्ट गर्नु पर्ने देखिन्छ । साथै हङकङ जापान आदिमा पनि आफन्त भेटन गएका र रोजगारीमा समस्या भएका आउन चाहनेहरुलाई देशभित्र एअर लिफ्ट गरेर ल्याउनु पर्ने हुन्छ । यो संख्या ५। ७ हजार भन्दा बढी रहेको देखिन्न ।

प्रधानमन्त्रीज्यु, यतिखेर माथिका दुइवटा कामहरु तपाइँले राज्यको सम्पूर्ण साधन स्त्रोत प्रयोग गरेर भए पनि जसरी भए पनि गर्नु पर्ने हुन्छ । साधन स्रोतले थेग्दैन वा महामारी फैेलिन्छ भन्ने कुरा गरेर यो विषयलाई पर सार्ने छूट तपाइँ र तपाइँको सरकारलाई छैन ।

अन्तमा म अनुरोध गर्दछु प्रधानमन्त्री कमरेड, हिम्मतका तपार्इँले घोषणा गर्नुहोस् विदेशमा म नेपालीलाई अलपत्र पर्न दिन्न । साधन स्त्रातको कमी हुन दिन्न । १०० वटा विमान चार्टर गर्नु परे पनि ५०० वटा गर्नु परेपनि म मेरा नागरिकलाई आफ्नो देशमा ल्याउछु । क्वारेन्टाइनमा राख्छु । ५० वटा रेल भाडामा लिनु परे पछि १ हजार वटा रेल भाडामा लिनु परे पनि म भारतमा भयेका नेपालीलाई अलपत्र पार्दिन । सम्मान र सुरक्षाका साथ मातृभूमिमा भित्राउंछु । आवश्यकता परे बालुवाटारको मेरो निवासलाई पनि सरकारले निलाम गरेर साधन स्रोत जुटाउनेछ । म सामान्य घरमा बस्ने छु । बस यत्ति काम गर्ने, यत्ति घोषणा गर्ने हिम्मत गर्नुस् । प्रधानमन्त्रीज्यु तपाइँ युगौयुग सम्म अमर बन्नुहुनेछ । हेक्का राख्नुहोस् , अढाई शताब्दीको आधुनिक नेपालको इतिहासमा जनताको यो मानवीय संकटमा सेवा गर्ने यो सुनौलो अवसर पाउने तपाइँ एकमात्र भाग्यमानी प्रधानमन्त्री हुनुहुन्छ ।

तपाइँ र तपार्इँको परिवारको सुस्वास्थ्य र दीर्घायुको कामनासहित,

 

लक्ष्मण पन्त -केन्द्रीय कमिटि सदस्य तथा

सहइन्चार्ज ,प्रवास समन्यव समिति

काठमाडौ १७ मे २०२०