शनिबार, बैशाख ०८, २०८१

अतिक्रमित भूभाग फिर्ता ल्याउन कूटनीतिक कदम चाल्न सरकारलाई सुझाव

काठमाडौं । प्रमुख राजनीतिक दलका नेता र पूर्वप्रधानमन्त्रीहरुले भारतबाट अतिक्रमित भूभाग फिर्ता ल्याउन प्रभावकारी कूटनीतिक कदम चाल्न सरकारलाई सुझाव दिएका छन् । भारतले तिब्बतको मानसरोवर जान नेपाली भूमि अतिक्रमण गरेर लिपुलेकमा सडक बनाएपछि त्यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पूर्व प्रधानमन्त्रीहरु र संसदमा भएका प्रमुख दलका अध्यक्षहरुलाई बोलाएर छलफल गरेका हुन् ।

बैठकमा सहभागी सबैले एक स्वरमा विवाद भएको भूमि नेपालको भएको बताएका छन् । ‘सबैले एक स्वरमा अहिले जे विवाद भइरहेको छ, जुन क्षेत्रमा विवाद भइरहेको छ । त्यो नेपालको भूभाग हो भन्नेमा दृढ अभिमत प्रकट गर्नु भएको छ’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, ‘आफ्नो भूभाग फिर्ता गर्ने सरकारका हरेक प्रयासमा साथ रहने विश्वास र बचन दिनुभएको छ । उनले अघि भने, ‘सबै प्रतिनिधिले प्रभावकारी कूटनीतिक कदम चाल्न र त्यसका लागि जनतालाई साथमा लिन आग्रह गर्नुभएको छ । दलका नेताहरुले सरकारको कदम प्रभावकारी हुन नसकेको गुनासो गरेका छन् । प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाले वक्तव्यबाजी गर्नुको साटो उच्चस्तरमा सार्थक सम्वाद गर्न आग्रह गरे ।

यसैगरी पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अन्तरिक रुपमा राष्ट्रवादको कार्ड नखेल्न र उच्चस्तरीय राजनीतिक आयोग बनाएर काम गर्न सुझाएका छन् । साथै प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई विश्वासमा लिनुपर्ने उनको जोड थियो । राप्रपा अध्यक्ष मध्येका एक प्रकाशचन्द्र लोहनीले सरकारले जति तदारुकता देखाउनुपर्ने हो, त्यो हुन नसकेको बताए । उनले अघि भने, ‘अब भारतसँग कूटनीतिक माध्यमबाट सम्वाद गर्दा जनतालाई विश्वासमा लिएर जानुस्, भित्रभित्र राखेर लुकाउने काम गर्नु भएन ।

जवाफमा प्रधानमन्त्री ओलीले राष्ट्रिय हितमा प्राप्त भएको एकताका लागि धन्यवाद दिएका छन् र यो भोलिसम्म कायम रहने विश्वास व्यक्त गरेका छन् । ‘पूर्खाहरुले लडेर बचाएको नेपालाई हामीले अडेर बचाउनुपर्छ’ बैठकमा प्रधानमन्त्री ओलीले भनेका छन्, ‘सरकार राजनीतिक दल र जनताको साथ लिएर अगाडि बड्नेछ ।

भारतसँग असल मित्रता चाहेहेको तर नेपालको भूभागको रक्षा र राष्ट्रिय हितको रक्षा सर्वोपरी हुने परराष्ट्रमन्त्री ज्ञवालीले बताए ।