Nepali date


सोमवार, जेष्ठ १२, २०७७

नेकपा सचिवालयमा ओलीको प्रस्ताव : गौतम प्रधानमन्त्री,नेपाल तेस्रो अध्यक्ष

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा बुधबार नेताहरुविच घम्साघम्सी परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी सकिएपछि उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा अघि सारेका छन् । साथै पार्टीमा वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने उनको प्रस्ताव छ ।

नेकपामा आन्तरिक विवाद चर्किएका बेला बुधबार साँझ बालुवाटारमा नेकपा सचिवालय बैठक बसेको थियो । बैठकमा सुरुमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बोल्न दिएका ओलीले बीचमा रोक्दै माधव र बामदेवबारे प्रस्ताव राखेका हुन् । ओलीले अहिले भने प्रधानमन्त्री वा अध्यक्ष कुनै पनि पद त्याग गर्न तयार नभएको बताएका छन् । अहिले आफूले पद त्याग्नु जगहँसाइ मात्र हुने उनको तर्क छ । सरकारले राम्रो काम गरेको भन्दै ओलीले राम्रा कामको बचाऊ सबै पार्टी नेताहरुले गर्नुपर्ने बैठकमा बताए । सरकार फेर्नु नै पर्ने भए कोरोना भाइरसको संकट सकिएपछि पार्टी उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउन आफू तयार रहेको उनले बताए । यसका लागि राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुनसक्ने गरी संविधान संशोधन गर्न वा प्रतिनिधिसभाको कुनै एक सिट खाली गरेर बामदेवलाई ल्याउन आफू तयार रहेको उनको भनाइ थियो । साथै पार्टीमा तीन अध्यक्ष रहने व्यवस्था गरेर माधवकुमार नेपाललाई ल्याउने उनको प्रस्ताव थियो ।उनले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाएका सबै आरोप खारेज गर्ने समेत उनले बताए ।

ओलीभन्दा अगाडि बोलेका नेकपा कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीमाथि पार्टी एकताविरुद्ध सक्रिय भएको आरोप लगाएका थिए । पार्टी एकतापछि केन्द्रीय समितिको बैठकलगत्तै ओलीले गुटको भेला गरेर एकताविरोधी काम गरेको तर आफूहरु एकताको त्यान्द्रो समातेर बसेको प्रचण्डले बैठकमा बताए ।

उनले ओलीलाई प्रधानमन्त्री पद त्याग गर्दा राम्रो हुन्छ भनेर सल्लाह दिएको स्रोतको दाबी छ । निकै कडारुपमा प्रस्तुत भएका प्रचण्डले प्रधानमन्त्री ओलीलाई महाथिर वा लि क्वान यू बन्छु भन्ने भ्रम नपाल्ल सल्लाह दिएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: