Nepali date


बुधबार, जेष्ठ २१, २०७७

लकडाउनको अवधिमा किसानलाई बाली लगाउन र उठाउन दिइने

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन सरकारले देशभर लकडाउन गरेको छ । लकडाउनको अवधिमा किसानलाई बाली लगाउन र उठाउन दिइने भएको छ । तर बाली लगाउँदा र उठाउँदा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन अपनाइएका सावधानीबारे भने अनुगमन हुनेछ ।

सरकारले देशभर लकडाउन चैत ११ गतेदेखि सुरु भएको यहि २५ गतेसम्म रहनेछ । तर कोरोना भाइरसको संक्रमितको संख्या बढ्दै गएका कारण लकडाउन लम्बिन पनि सक्ने बताइएको छ । लकडाउन लम्बिए बाली उठाउन र लगाउन समस्या हुने भएपछि सरकारले केही सहज बनाएको हो । ‘तत्काल लगाउनुपर्ने र उठाउनुपर्ने बालीको सम्बन्धमा किसानलाई लगाउन र उठाउन दिने निर्णय भएको छ’सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले भने । उनकाअनुसार बाली लगाउँदा र उठाउँदा किसानले न्युनतम सावधानी भने अपनाउनु पर्नेछ । कोरोना भाइरस फैलिन नदिनका लागि अपनाउने सावधानी र मापदण्ड पालना गरे नगरेको सम्बन्धित स्थानीय तह र त्यहाँका सुरक्षा निकायले अनुगमन गर्ने व्यवस्था मिलाइएको प्रवक्ता अधिकारीले जानकारी दिए ।

सरकारले स्थानीय तहहरुलाई खाद्यान्न बैंक स्थापना गर्न सुझाव पनि दिएको छ । केही स्थानीय तहहरुले यस्तो अभ्यास समेत सुरु गरिसकेको संघीय मामिला मन्त्रालयका सहसचिव अधिकारीले जानकारी दिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया