शनिबार, बैशाख ०८, २०८१

स्वास्थ्य सामग्री खरिद प्रक्रिया पारदर्शी बनाउने नेपाली सेनाको दाबी

काठमाडौं । नेपाली सेनाले स्वास्थ्य सामग्री खरिद प्रक्रियालाई पारदर्शी बनाउने दाबी गरेको छ ।

सरकारले हालै मात्र कोरोना भाइरस कोभिड–१९ को रोकथाम तथा उपचारका लागि चाहिने स्वास्थ्य सामाग्रीहरु खरिदको जिम्मा नेपाली सेनालाई दिने निर्णय आलोचना भइरहदा पारदर्शी बनाउने दाबी गरेको हो ।

आइतबार दिउँसो पत्रकारहरुसँग भिडियो कन्फरेन्स गर्दै सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले विपदमा सरकारले प्रयोग गर्न सक्ने संवैधानिक व्यवस्था बमोजिम सेनाले स्वास्थ्य सामग्री खरिदको जिम्मेवारी पाएको बताए ।

मन्त्रिपरिषदको निर्णय हेर्नु भयो भने स्वास्थ्य मन्त्रायलसँग समन्वय गरी रक्षा मन्त्रायलले नेपाली सेनामार्फत जीटुजी प्रक्रियाबाट खरिद गर्ने भनिएको छ’, सहायक रथी पाण्डेले भने, ‘त्यसैले हामीले विभिन्न निकायसँग समन्वय गरेर यथाशिघ्र स्वास्थ्य सामग्री खरिद गर्ने प्रक्रिया थालिसकेका छौं । उनका अनुसार सेनासहित विभिन्न निकाय रहेको ‘कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर’ले खरिद गर्न आवश्यक सामग्रीको सूची तयार पार्ने काम गरिरहेको छ ।

सैनिक प्रवक्ता पाण्डेले कोभिड–१९ को स्थानीय संक्रमण देखिएको सन्दर्भमा सेना आफूलाई प्राप्त जिम्मेवारीबाट पछि नहट्ने समेत बताएका छन् ।