टोकियो ।नेवाः अन्तर्राष्ट्रिय फोरम जापानले गत शनिवार नेपाल सम्वत ११४० शुभकामना आदन प्रदान तथा सामुहिक म्हः पूजा कार्यक्रम सम्पन्न गरेको छ ।
टोकियो कोउतोकुस्थित दान्चीहलमा सम्पन्न यस कार्यक्रमा नेवार मात्र नभएर अन्य नेपाली तथा जापानीहरूको सहभागी रहेको थियो ।
कार्यक्रमको सुरूवात नेपाल सम्वतको प्रवर्तक शंखधर शाख्वको तस्बिरमा माल्यार्पणसँगै दीप प्रज्जवलबाट गरिएको थियो । संस्थाको संस्थापक अध्यक्ष माधव नारायण मानन्धरले नेपाल सम्वत ११४० को शुभकामना व्यक्त गर्दै म्हः पुजामा सहभागी सबैलाई स्वागत गर्नुभएको थियो । त्यस लगतै म्हः पूजा सुरू भएको थियो । झण्डै साठी जनाको सहभागिता रहेको यस सामुहिक म्हः पूजालाई दुई चरणमा गरिएको थियो ।
नेवारी खाना र पेयपदार्थको समेत व्यवस्था भएकोले नेपालमै बसेर नेवारी भोज खाँदै म्हः पूजा गरेको जस्तो अनुभव भएको अमेरिकाबाट केही समयका लागि जापान आउनुभएकी रमिता बदे श्रेष्ठले बताउनुभयो । त्यस्तै म्हः पूजाले जापानीलाई पनि आकर्षित गरेको थियो । टोकियो बाहिर गिफुबाट सहभागी हुन आएकी जापानी कियोमी आमानोले नेपाली मध्येको नेवार जातीको यो परम्परा जहाँ शरीरको पुजा गरिन्छ पहिलो पटक अनुभव गर्न पाएको बताउनुभयो ।
कार्यक्रममा आयोजक संस्थाको अध्यक्ष दीपरत्न शाक्यले नेपाल जापानमा रहेर पनि आफ्नो कला संम्कृतिलाई जगेर्णा गर्दै भावी सन्ततीलाई पनि देखाउन र सिकाउनुपर्ने बताउँदै नेवार समुदयालाई मात्र होइन अन्य जातजतिका नेपाली र जापानीलाई समेत यस्ता सांस्कृतिक पर्वहरुको परिचय दिँदै जानुपर्छ भन्ने उदेश्य सहित संस्थाको स्थापना कालदेखि नै हरेक वर्ष कार्यक्रम गर्दैआएको बताउनुभयो ।
संस्थाको महा सचिव शिव तण्डुकारले म्हँ पूजाको दिनमै यो कार्यक्रम किन नगरेको भन्ने प्रश्नमा नेपालमा गरिने दिनमै गर्दा विदेशमा बिदा मिलाउन धेरैलाई समस्या हुने र सहभागिता कम हुने र धेरैले आफ्नै घरमा पनि गर्ने भएकोले बढीभन्दा बढीको सहभागिताका लागि जापानको सार्वजनिक विदाको दिन गर्ने गरेको बताउनुभयो।


