शुक्रबार, बैशाख १४, २०८१

काँग्रेसको जागरण अभियानमा नेकपा कार्यकताको उपद्रो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियानको दोस्रो चरणको कार्यक्रम अनुसार बिहीबार बाँकेको खजुरामा आयोजित कार्यक्रममा सत्तारुढ दल नेकपाका कार्यकर्ताले उपद्रो गरेका छन् ।

नेकपा कार्यकर्ताहरु कार्यक्रमस्थलमा प्रवेश गरेर आक्रमणमा उत्रिएको नेपाली काँग्रेस बाँकेका जिल्ला कार्य समिति सदस्य केदार गिरीले जानकारी दिए । उनले ठूलो संख्यामा आएका नेकपा कार्यकर्ताहरुले कार्यक्रम विथोलेको बताए ।

नेकपा कार्यकर्ताले काँग्रेसको कार्यक्रम विथोलेका छन् भने त्यहाँ झडपसमेत भएको छ । नेपाली काँग्रेस केन्द्रीय कार्यालयले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै घटनाको भत्सर्ना गरेको छ।

काँग्रेसले भनेको छ, ‘अभियानका क्रममा आज बाँके जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ को प्रदेश सभा क्षेत्र नं. २ को खजुरा गाउँपालिका वडा नं. २ सितापुर स्थित नेपाल रेडक्रसको हलमा कार्यक्रम भैरहँदा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का खजुरा गापा वडा नं १ का वडा अध्यक्ष सुमन मल्लको निर्देशनमा सोही वडाका सुनिल, मुमबहादुर वली, निर्मल खत्री लगायतका १३/१४ जनाको समूह सभाहलभित्रै प्रवेश गरी नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइराला, केन्द्रीय प्रतिनिधि विद्याप्रसाद खनाल लगायत पार्टीका दर्जनौँ कार्यकर्ताहरुमाथि सुनियोजित एवं सांघातिक हमला गरेको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ ।’

काँग्रेसका अनुसार जिल्ला सभापति किरण कोइरालाको हात भाँचिएको छ । अन्य दर्जनौ कार्यकर्ताहरु घाइते भएका छन् । काँग्रेसले भनेको छ, ‘नेकपाका ५०÷६० को संख्यामा रहेका कार्यकर्ताहरुले नेपाली कांग्रेसको कार्यक्रम विथोल्ने उद्देश्यका साथ सडकमा समेत नारावाजी गरेका थिए । यत्रो ठूलो घटना हुँदा पनि सुरक्षा निकाय परिचालित नहुनु र गृह प्रशासन समेत संवेदनशील नहुनुलाई नेपाली कांग्रेसले सुनियोजित एवं अत्यन्त गम्भीर घटनाको रुपमा लिएको छ । राजनीतिक दलले सांगठनिक कार्यक्रम गर्न पाउने संवैधानिक अधिकारमाथि सिधा आक्रमण प्रारम्भ गरिएको रुपमा नेपाली कांग्रेसले लिएको छ ।’

बढु्दो महंगी, भ्रष्टाचार, महिला हिंसा, बलात्कार, हत्याका विरुद्ध, अलोकतान्त्रिक विधेयकका विरुद्ध र कम्युनिष्ट सरकारको सम्पूर्ण कुशासनका विरुद्ध भन्दै काँग्रेसले जागरण अभियान चलाएको छ।

काँग्रेसले आक्रमणकारीहरुलाई तत्काल कडा भन्दा कडा कारवाही गर्न सरकारसँग माग गरेको छ।