आइतबार, बैशाख ०६, २०८३

दोरम्बामा भएको घटनालाई स्मरण गर्दै दोरम्बा स्मृति दिवस मनाईयो

कैलाश खत्री,रामेछाप । १६ वर्ष अगाडि शशस्त्र द्धन्द्धको समयमा रामेछापको दोरम्बामा भएको घटनालाई स्मरण गर्दै दोरम्बा स्मृति दिवस मनाईएको छ ।
तत्कालिन शाही नेपाली सेनाले तत्कालिन माओवादीका २१ जना नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिई डडुवाको डाँडाकटेरीमा लगेर गोली हानी हत्या गरेका थिए ।

त्यसवेला विद्रोही माओवादी र सरकारका प्रतिनिधिविच दाङ जिल्लाको हापुरे भन्ने ठाउँमा शान्तिवार्ता चलिरहेको थियो । दोरम्वामा भएको त्यो घटनाले शान्तिवार्ता भंग भई पुन्ः शशस्त्र विद्रोह अगाडी वढ्यो । शाही नेपाली सेनाले त्यसवेला गरेको हत्या,दोरम्बा हत्याकाण्डको नामले अन्तराष्ट्रिय रुपमा मानवअधिकार हननको दृष्टिकोणले गम्भिर घट्नाको रुपमा रहेको छ ।
निशस्त्र रुपमा रहेका माओवादी नेता कार्यकर्तालाई हात बाँधेर गोली हानीनु मानवअधिकार उल्लंघनको दृष्टिले मानवअधिकार उल्लंघन भएको विभिन्न मानवअधिकारवादी संघसस्थाहरुले अनुसन्धान गरी पत्ता लगाएका थिए ।
त्यसैदिनको सम्झना स्वरुप साउन महिनाको ३२ गते नेकपा रामेछापले स्मृति सभाको आयोजना गरको हो ।
स्मृति दिवसकै अवसरमा घटनामा मारिएका माओवादीका तत्कालीन जिल्ला इन्चार्ज बाबुराम लामालगायत २१ जनाको अर्धकदको सालिक स्थापना गरी अनावरण समेत गरिएको छ । प्रदेश ३ को उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको २० लाखको लागतमा घटनामा मारिएकाको सम्पूर्ण विवरण झल्कने गरी सालिक राखिएको शहिद प्रतिष्ठान रामेछापका अध्यक्ष धन वहादुर तामाङले जानकारी दिनुभयो ।
डाँडाकटेरीमा आयोजित स्मृति सभालाई सम्बोधन गर्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आउने भनिएपनि मौसममा आएको खराबीले उहाँ नआउनुभएको नेकपा रामेछापका जिल्ला ईन्चार्ज देवशंकर पौडेलले बताउनुभयो ।
प्रचण्ड आउन नसकेपछि स्मृति सभालाई नेकपा प्रदेश नम्वर ३ का सहईन्चार्ज एंव प्रतिनीधि सभाका सांसद हित बहादुर तामाङले सम्बोधन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले शहिदहरुले गरको बलिदान खेर नजाने विश्वास ब्यक्त गर्नुभयो । जनआन्दोलन र संविधान–सभाबाट प्राप्त उपलव्धिलाई संस्थागत गर्न अहिले नेकपाले नतृत्व गरिरहेको दुईतिहाईको सरकार लागी परेको दावी गर्नुभयो । पुर्वमन्त्री समेत रहनुभएका प्रमुख अतिथि तामाङले नेकपाको लक्ष्य भनेकै जनवादी क्रान्ती सम्पन्न गरि समाजवादी ब्यवस्था लागु गर्नु भएको बताउनुभयो ।
सो कार्यक्रममा नेकपा ३ नं प्रदेशका सचिव एंव पुर्वमन्त्री आनन्द प्रसाद पोखरेल,नेकपा रामेछापका अध्यक्ष मैन बहादुर मोक्तान, शहिद परिवारको तर्फबाट हरि प्रसाद दहाल (ललित) लगायतले बोल्नुभएको थियो । स्मृति सभामा पुर्व मन्त्री एवम् नेकपा केन्द्रिय सदस्य कमल प्रसाद चौलागाँई,प्रतिनिधि सभाका सांसद एव्म पुर्वमन्त्री श्याम कुमार श्रेष्ठ,पुर्व सांसद देवशंकर पौडेल,संविधान सभाका सदस्य तारा नारायण श्रेष्ठ,नेकपा केन्द्रिय सदस्य युवराज चौँलागाँई,प्रदेश नम्वर तिनका सांसद राजन दाहाल लगायत नेकपाका केन्द्र तथा प्रदेश र जिल्ला स्तरका शिर्ष नेताहरुको सहभागीता रहेको थियो ।
यता शहिद परिवारका सदस्यहरुले आफुहरुलाई जिवनयापनको लागी उचित व्यवस्था मिलाईदिन नेताहरुको ध्यानाकर्षण गराएका थिए ।