आइतबार, बैशाख ०६, २०८३

दोरम्बा हत्यकाण्डमा मारिएका २१ जनाको शालिक १६ बर्षपछि निर्माण

मन्थली । नेकपा रामेछापले १६ औ दोरम्बा हत्यकाण्ड स्मृति दिवस मनाउदै छ । २०६० साल साउन ३२ गते दोरम्बामा बैठक बसिरहेको घरलाई कब्जामा लिएर तत्कालिन जिल्ला जनसरकार प्रमुख बाबुराम लामा सहित २१ जनाको सामुहिक हत्या गरिएको थियो ।

२१ जनाको अर्धकदका शालिक १६ बर्षपछि निर्माण गरिएको छ । शालिक निर्माण गर्नको लागि तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बजेट व्यवस्थापनमा भूमिका निर्वाह गरेका थिए ।

हरेक बर्ष नेकपाले दोरम्बा हत्याकाण्ड स्मृति दिवस मनाउदै आएको छ । प्रदेश नम्बर ३ सरकारको सहयोगमा दोरम्बा सहिद स्मृति प्रतिष्ठानले निर्माण गरेको २१ जनाको अर्धकदको शालिक आज पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनावरण गर्ने कार्यक्रम रहेको छ ।
प्रचण्ड दोस्रो पटक दोरम्बा आउने भएका छन् । गत बर्ष पनि प्रचण्ड डाँडाकटेरीमा स्मृति दिवस बनाउन आएका थिए ।

नेकपा रामेछापले आयोजना गरेको कार्यक्रममा शहीद परिवारलाई सम्मान गर्ने कार्यक्रम रहेको नेकपा रामेछापका सचिव शान्ति पौडेलले जानकारी दिए ।
तत्कालिन शाही नेपाली सेनाका मेजर राममणि पोखरेलको नेतृत्वमा गएको टोलीले दोरम्बामा बैठक बसिरहेको घरलाई कब्जामा लिएर २१ जनाको हत्या गरेको थियो । राष्ट्रिय मानव अधिकार आयोगले मेजर पोखरेलाई कारवाहीको लागि सिफारिस गरेपनि अझैसम्म कारवाही हुन सकेको छैन् ।

दोरम्बा हत्याकाण्डकै कारण तत्कालिन अवस्थामा सरकार र माओवादीबीच दाङको हापुरेमा चलिरहेको शान्ति वार्ता समेत भंग भएको थियो ।