मङ्गलबार, बैशाख ११, २०८१

सुनको मूल्य बढेर ७० हजार रुपैयाँ पुग्यो,मूल्य आकासिँदा विक्री घट्यो

काठमाडौं । पछिल्लो एक महिनामा प्रतितोला ५ हजार ३ सय रुपैयाँ बढेर सुनको मूल्य ७० हजार रुपैयाँ पुगेको छ । मूल्य आकासिँदा विक्री भने निकै घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार अहिले दिनमा एक किलो पनि सुन विक्री हुँदैन । महासंघका बरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्य सुनको कारोबार ठप्प जस्तै रहेको बताउँछन् ।

यसअघि सुन चाँदी व्यवसायीहले बैंकबाट दैनिक २० केजीसम्म सुन उठाउँथे । तर सुन किन्ने ग्राहक घट्दा बैंकमा हाल करिब ७ सय किलो सुन छ ।

सरकारले काँचो सुन आयात र कारोबारको जिम्मा वाणिज्य बैंकहरुलाई मात्र दिएको छ । बैंकरहरुले सुन खरिदका लागि व्यवसायीसँग छलफल पनि गरेका छन् । तर बजारमा कारोबार नै नभएपछि समस्या भएको बरिष्ठ उपाध्यक्ष शाक्यले बताए ।

व्यवसायीहरुकाअनुसार बढ्दो मूल्यले सुन धेरै कारोबार हुने पर्व तीजलाई समेत प्रभावित पार्ने सम्भावना छ ।

व्यवसायीहरुकाअनुसार मुल्य बढ्दा पुराना सुनका गहना बेच्न आउनेहरुको संख्या बढ्दो छ । साथै सुन धितो वा जमानीमा राखेर ऋण लिनेहरु पनि आउने गरेका छन् ।

सुन चाँदी व्यवसायी महासंघले सुन धितो राखेर ऋण नदिन आफ्ना सदस्यहरुलाई आग्रह गरेको छ । मूल्य अस्थीर रहेकाले व्यक्तिगत कारोबारमा जोखिम उच्च भएको महासंघको भनाइ छ । ‘हामीले २ वर्षअघि बाटै सुन धितो राखेर व्यक्तिगत रुपमा दिइने कर्जा बन्द गर्न सदस्यहरुलाई भनिरहेका थियौं,’ महासंघका बरिष्ठ उपाध्यक्ष शाक्य भन्छन्, ‘मूल्य ह्वात्तै बढिरहँदा यस्ता कर्जामा जोखिम हुन्छ ।

व्यवसायीहरुले ग्राहकसँग लिएको सुन धितोमा राखेर बैंकबाट ऋण पनि लिने गरेका थिए । तर सुन धितोमा दिने ऋणमा हुने जोखिमलाई ध्यान दिँदै राष्ट्र बैंकले कडाइ गरेको छ ।