कैलाश खत्री,मन्थली ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१ औ स्मृति दिवस,पुष्पलालको जन्मथलो रामेछापमा तीनलालको शालिकमा पुष्पगुच्छा चढाएर मनाइएको छ ।
सदरमुकाम मन्थली हाटेचौरमा रहेको सहिदहरु गंगालाल श्रेष्ठ, कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ र नेपाली साहित्यका प्रथम सहिद कृष्णलाल अधिकारीको शालिकमा पुष्पगुच्छा चढाएर उनीहरु प्रति सम्मान प्रकट गरिएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (नकेपा) रामेछापको आयोजनामा भएको सो कार्यक्रममा नेकपा रामेछाप जिल्ला इञ्चार्ज देवशंकर पौडेल, सहइञ्चार्ज एवं ३ नं प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङगेल, नेकपा रामेछापका अध्यक्ष मैनकुमार मोक्तान, सचिव एवं प्रदेश नं ३ का सांसद शान्तिप्रसाद पौडेल, जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्का, मन्थली नगरपालिका प्रमुख रमेश कुमार वस्नेत लगायतको सहभागिता रहेको थियो । सोही अवसरमा तीनलालको शालिक नजिकै रहेको नागकन्या माध्यमिक विद्यालयको परिसरमा प्राङ्गणमा वृक्षारोपण समेत गरिएको थियो । त्यस अवसरमा नेताहरुले संक्षिप्त प्रतिक्रिया दिँदै पुष्पलाल श्रेष्ठ नेपाली क्रान्तिको प्रमुख व्यक्तित्व भएको चर्चा गरेका थिए । रामेछापमा जन्मिएर पुष्पलालले नेपालको कम्युनिष्ट आन्दोलनलाई उचाईमा पु¥याएको भन्दै उच्च प्रशंसा गरेका थिए । पुष्पलालले देखाएको बाटोमा हिंड्दै नेपाली समाजलाई समुन्नत बनाउने नेकपा रामेछापका नेताहरुले संकल्प गरेका छन् ।
यता पुष्पलाल जन्मथलो रामेछापको पुरानो सदरमुकाम भंगेरी गाउँमा भने पुष्पलाल स्मृति प्रतिष्ठानले साउन ८ गते विहिबार एक कार्यक्रमको आयोजना गर्ने भएको छ । कार्यक्रमको प्रमुख अतिथिका रुपमा नेपाल कम्युनिष्ट पार्टीका स्थायि समिति सदस्य वेदुराम भुषाल आउनुहुने नेकपा रामेछापका जिल्ला ईन्चार्ज देवशंकर पौडेलले जानकारी दिनुभयो ।
नेपालमा कम्युनिस्ट पार्टीमार्फत जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ नेकपा स्थापना गर्नुभएका श्रेष्ठको २०३५ साल साउन ७ गते भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। पुष्पलालले विसं २००६ वैशाख १० गते नेकपा स्थापना गरेका थिए। नेपाली क्रान्तिका सिद्धान्तकारका रुपमा परिचित पुष्पलालले आफ्नो जीवनभर जनताको स्वतन्त्रताका लागि लडाइ लड्नुभयो । विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मिएका पुष्पलाल आफ्नो जीवनभर सङ्गठन विस्तारमै लाग्नुभयो ।उहाँले विश्व कम्युनिस्ट घोषणापत्रलाई २००५ सालमा नेपालीमा अनुवाद गरी प्रकाशित गर्नुभएको थियो । पुष्पलाल राणा विरोधी आन्दोलनका अगुवा शहीद गङ्गालाल श्रेष्ठका माइला भाइसमेत हुनुहुन्छ ।
पुष्पलाल पञ्चायती निरंकुशताको अन्त्यका लागि ‘संयुक्त जनआन्दोलनको कार्य्दिशा’ २०२५ सालमा अगाडि सार्ने पहिलो नेता हुनुहुन्थ्यो । स्मृति दिवसका अवसरमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले राजधानी काठमान्डौको पुष्पलाल स्मृति पार्क चम्पादेवीमा विशेष कार्यक्रमको आयोजना गरेको थियो । नेकपा स्थापना गर्दा पुष्पलालले घोषणापत्रमा सामन्ती एकतन्त्रीय शासनको अन्त्य गर्ने, वैदेशिक शोषण र दमन समाप्त पारी राष्ट्रियता, स्वाधीनता हासिल गर्ने, वालिग मताधिकार कायम गर्ने, संविधानको आधारमा जनताका लागि पूर्ण स्वतन्त्रता तथा प्रजातन्त्र सुरक्षण गर्ने, मजदूर किसान श्रमजीवी जनताको हितलाई प्राथमिकता दिने उल्लेख थियो। यस्तै घोषणापत्रमा सामन्तवाद, साम्राज्यवाद विरोधी शक्तिहरूको सरकार स्थापना गर्ने तथा क्रान्तिकारी भूमिसुधार लागू गर्नेसमेत समावेश थियो। नेकपाको स्थापना कोलकाताको श्यामबजारस्थित एक भवनमा पुष्पलाल, नरबहादुर कर्माचार्य, निरन्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठको सक्रियतामा भएको थियो। कम्युनिष्ट घोषणापत्रको नेपाली रूपान्तरण गर्दै पुष्पलालले ‘केही कुरा’ शीर्षक दिएर लेख्नुभएको थियो ।
घोषणापत्रमा , “विश्व मजदूर आन्दोलनलाई सही बाटो देखाउने शक्ति र साहस प्रदान गर्ने उक्त घोषणापत्रलाई नेपाली भाषामा प्रकाशित गरी नेपाली मजदूर वर्गको आन्दोलनलाई सही बाटोमा लैजान अत्यन्त आवश्यक भएको हुनाले मैले यस घोषणापत्रलाई यथासक्य परिश्रम गरी नेपाली भाषामा उल्था गरी नेपालको सम्मान राखेको छु।” यसलाई नेपाली माक्र्सवादीले माक्र्सवादी चेतना र साहित्यको थालनीका रुपमा समेत अथ्र्याएका छन्। दाजु गंगालाको हत्या पश्चात् राणाशाहीको जरो काट्ने प्रण पुष्पलालले गर्नुभएको थियो । त्यतिखेर उहाँ १५ वर्षको हुनुहुन्थ्यो । पिता भक्तलाल र माता तुलसीमाया श्रेष्ठका माइला सुपुत्रका रूपमा रामेछापको भङ्गेरीमा विसं १९८१ असार १५ मा जन्म भएको थियो।
निरंकुशता विरोधी, श्रमजीवी वर्गप्रति झुकाव उदार प्रजातन्त्रवादी, सिद्धान्तनिष्ठ, सरल तथा मिलनसार व्यक्तित्वका धनी पुष्पलाल राजनीतिज्ञ मात्रै हुनुहुन्थेन इतिहास, समाजशास्त्र, मानव शास्त्रका विषयमा समेत गहिरो ज्ञान थियो। बहुआयामिक प्रतिभा पुष्पलालको परराष्ट्र मामलामा समेत धेरै राम्रो सुझबुझयुक्त विचार रहेको बताइन्छ। उनी २०१७ सालको कदम पछाडि पनि भूमिगत निर्वा्सित जीवनमा नेपाल कम्युनिष्ट पार्टीलाई पुनः सङ्गठित गरी संयुक्त जनआन्दोलनको आवश्यकता र औँचित्य पुष्टि गर्न अहोरात्र लागे। उनको विचार र दर्शनका आधारमा आज नेकपाले आर्थिक समृद्धिको नारासहित दुईतिहाई जनमत प्राप्त सरकारको नेतृत्व गरिरहेको छ। देश र जनताप्रति समर्पण राख्ने, सिद्धान्तनिष्ठ अनुशासित र संघर्षमा रमाउने पुष्पलालबाट कोरिएको नेकपाको मार्ग्चित्रबाट नयाँ नेपाल निर्माण हुने विश्वास लिइएको छ।

