Nepali date


शुक्रबार, भदौ ६, २०७६

रक्षात्मक बन्दै गएको झण्डै दुईतिहाइको ओली सरकार

-राजु तिवारी,

समकालीन नेपाली राजनितिक व्यक्तित्वहरु मध्य तुलनात्मक रुपमा बढि आषा भरोसा गरिएका व्यक्तित्व अर्थात वर्तमान प्रधानमन्त्री एवं नेकपा अध्यक्ष खड्ग प्रसाद ओली (केपि शर्मा ओली) वर्तमानमा बहुमत प्राप्त साम्यवादी पार्टी नेतृत्वको दुईतिहाइ को समाजवादी सरकारको दोश्रो बर्षको नेतृत्व गरिरहेका छन् । तत्कालीन ए नेकपा माओवादी र नेकपा एमाले बिचको एकताबाट बनेको नेकपा र त्यसका अध्यक्ष द्वय प्रधानमन्त्री केपि ओली र पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) बिचको सम्बन्धले अबको १/२ दशकको दिशा र दशा निर्क्यौल गर्ने देखिन्छ । पार्टी एकता र दुईतिहाइको सरकार बाट ठुलो अपेक्षा राखेका आम जनता र नेकपा समर्थित नेता कार्यकर्तामा नटुङ्गिएको पार्टी एकता र सुस्त सरकारको गतिले आम रुपमा निराशा छायको छ। सरकारको सुस्तता सँगै गठबन्धन जस्तो देखिएको पार्टी एकताले आम कार्यकर्तामा आवश्यक उर्जा को संचार हुन सकिरहेको छैन ।

खिइदै गएको सैद्धान्तिक धरातल, मजवुत हुन नसकेको पार्टी एकता प्रक्रिया र निरास जनताका बिच दुईतिहाइ प्राप्त समाजवादी सरकार र बहुमत प्राप्त साम्यवादी पार्टी रक्षात्मक बन्न पुगेको छ। यसको उदाहरणका रुपमा निर्मला बलात्कार पश्चातको हत्याकाण्ड, वाइडबढी विमान खरिद प्रक्रियामा भएको अनियमितता, वालुवाटार जग्गा प्रकरण, मेलम्ची आयोजनामा भएको ढिलासुस्ती हुदै सरकार बाट लेराएका मिडिया काउन्सिल विधेयक, मानवअधिकार सम्बन्धि विधेयक, गुठी सम्बन्धी विधेयक सहित अघिल्लो सातासम्म आइपुग्दा अाइफा अवार्ड गर्ने अनुमति दिने निर्णय, क्वारेन्टाइन चेक पोष्ट लाई प्रभावकारी बनाउने सरकारी निर्णय आदिमा एकपछि अर्को गर्दै सरकार रक्षात्मक बन्दै जादा आम जनता सँगै सत्तारुढ पार्टिकै कार्यकर्ता निरास छन्।

यसरि सरकार एकपछि अर्को गरि रक्षात्मक बन्दै जानु का पछाडि स्वयं सरकार आफै, नेकपा भित्रको शक्ति सन्तुलन, उग्रदक्षिणपन्थी र उग्रवामपन्थी को सक्रियता, सँगसगै पश्चिमाको तयारी दक्षिणको चलखेल र उत्तरि मौनता प्रमुख कारण हुन। मुलत हामिले यसलाई दुई भागमा विभाजन गरि हेर्दा उपयुक्त हुन्छ।

१, आन्तरिक कारण (Internal Cause)

२, बाह्य प्रभाव ( External Effect)
वर्तमान सरकार प्रतिरक्षात्मक बन्नुका पछाडि देश भित्र विकसित पछिल्लो परिस्थिति, नेपाली जनताका आमुल परिवर्तनको चहाना, सरकारको कमजोर प्रारम्भ, स्वयं प्रधानमन्त्रीको कमजोर स्वास्थस्थिती, नेकपा भित्रको आन्तरिक शक्ति सन्तुलन, प्रचण्ड मनोविज्ञान, प्रधानमन्त्री नजिकको साघुँरो घेरा, राजावादीहरु सहित विप्लव समुहको सक्रियता आदि आन्तरिक कारणहरु रहेका छन् । भने बाह्य कारणहरु प्रत्यक्ष रुपमा सतहमा नदेखिएपनि मुलत अप्रत्यक्ष रुपमा पश्चिमा शक्तिको प्रभाव विस्तार तिव्रगतिमा भईरहेको छ भने, विगतमा पश्चिमा सँगसगै देखिने भारत संविधान जारी भए पश्चात पश्चिमाको विपरित ध्रुवमा उभिएको छ र त्यहि अनुसारको चलखेल गरिरहेको छ। पश्चिमा र भारतको प्रभाव बाट पुन अस्थिर बन्न जाने नेपाली राजनिती आफ्नो प्रतिकुल हुन्छ भन्ने बुझ्दा बुझ्दै पनि देखिएको चिनको मौनताका कारण पनि नेपालको पछिल्लो अस्थिर राजनितिको सृजनाा भएको छ। मुलत यस अंसमा आन्तरिक कारणहरुको बारेमा चर्चा गरौ।

कमजोर प्रारम्भ:
वि.सं २०७४ सालमा निर्वाचन सम्पन्न भएर मतपरिणाम सार्वजनिक भइसके पश्चात तत्कालिन प्रधानमन्त्री, तथा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले सहज रुपमा सत्ता हस्तान्तरण नगरि भारतीय संस्थापन पक्षको सहयोगमा पुन शासन सत्ता लम्ब्याउने प्रयास गरेको सुचनाका आधारमा जुन एकता र उर्जाका साथ नेकपाले संविधानका विभिन्न धाराहरु आकर्षित गर्दै सत्ता हासिल गर्यो त्यस पश्चात नेकपाले न उक्त एकता प्रदर्शन गर्न सकिरहेको छ न उक्त उर्जा नै प्रदर्शन गर्न सकिरहेको छ। आमुल परिवर्तनको पक्षमा जनमत प्राप्त गरेको नेकपा र नेकपा नेतृत्वको वर्तमान सरकारको प्रारम्भका चरण अर्थात गएको डेढ बर्ष जनताका भावना अनुसारको आमुल परिवर्तनको दिशामा अघि बढ्नु भन्दा पनि सुधारलाई प्रमुख एजेण्डा बनाउदा सरकारको प्रस्तुति कमजोर देखिन पुगेको छ ।

मुलत पुराना संरचनाहरु एकहद सम्म जिर्ण र पुराना अभ्यासहरु विकास साथै सुशासन कायम गर्न असक्षम भइसक्दा त्यस्ता संरचना र अभ्यासहरुलाई आधारभुत तह देखिनै पुनं संरचना गरि नया संरचना र अभ्यासहरु स्थापित गर्नु पर्नेमा वर्तमान सरकार पुरानै संरचनालाई टालटुल गर्न लागेकोले जनतामा एक किसिमको निराशा पैदा भएको छ। यातायात व्यवसायिहरुको सिन्डिकेट को खारेजी, काला बजारीको अन्त्य, सरकारी जग्गा अतिक्रमणकारीहरुलाई कार्वाहि, समयमै काम नसक्ने र स्तरीय काम नगर्ने ठेकेदारहरुलाई कार्वाहि, विभिन्न कानुनहरुको निर्माण, पुराना आयोजनाहरुको निर्माण तीव्र, क्वारेन्टाइन चेक पोष्ट प्रभावकारी बनाउने जस्ता सुधारका कार्यक्रम लेराउने तर उक्त निर्णय कार्यान्वयनमा आवश्यक संरचना र अभ्यासहरु तयारि नगर्ने अनि निर्णयहरु निष्क्रिय हुने प्रक्रिया देखि जनता आक्रोशित छन्।

सरकारले लेराएको आ..ब. २०७५/७६ र आ.ब. २०७६/७७ को बार्षिक निति तथा कार्यक्रम एवं बजेट र आम जनताको अपेक्क्षा साथै नेकपाको चुनावि घोषणा पत्र बिच एक आपसमा तालमेल देखिदैन। संविधानले समाजवाद उन्मुख अर्थतन्त्रको कल्पना गरेको छ। वर्तमान सरकार, विगतका काँग्रेसी सरकारले नव उदारवादका (Neo-Liberalism) नाममा लेराएका अराजकतावादी अर्थतन्त्रमा केहि सुधार गरेर अगाडि बढ्न खोजिरहेको देखिन्छ। जुन नेपाली वामपन्थि आन्दोलन, सम्पुर्ण शोषित पिडित जनता र समग्रमा देशकै हित विपरित हुन जानेछ।

सरकारका यि र यस्ता कामहरुले सरकारका प्रारम्भ कमजोर देखिन पुगेको छ भने, आम रुपमा निरासा, आक्रोष पैदागरेको छ र त्यहि कुरा सरकार विरुद्ध को आवाजको रुपमा देखिन थालेको छ जस्ले गर्दा सरकार प्रतिरक्षात्मक बन्न पुगेको छ।

प्रचण्ड मनोविज्ञान :

तत्कालीन नेकपा एमाले र ए नेकपा माओवादि बिचको एकता दुई पार्टिका नेताहरुको इच्छा चहाना मा कम र तत्कालिन परिस्थिति को वाध्यतामा धेरै केन्द्रित थियो भन्ने तथ्य कसैसामु छिपेको छैन। स्थानिय निर्वाचनमा के पि ओली को राष्ट्रवादी रुझानको असर देखिएपछि तत्कालिन सरकारका सहयात्री ए नेकपा माओवादि र काङ्ग्रेसले निर्वाचनलाई कुन हद सम्म प्रदुषित गरे भन्ने तथ्य भरतपुर महानगरपालिकाको निर्वाचनले प्रष्ट संकेत गरेपछि झस्किएका एमालेजन दोश्रो चरणको प्रदेश र संघिय निर्वाचन प्रति थप सशंकित बन्यो र देउवा नेतृत्वको माओवादि सम्मिलित सरकार को बहिर्गमनको विकल्प माथि ध्यान केन्द्रित गर्यो। उता आफै प्रधानमन्त्री रहदारहदै र औपचारिक रुपमा काँग्रेस सँग गठबन्धन गर्दागर्दै पार्टि को लज्जास्पद प्रदर्शन पछि झस्किएका प्रचण्ड गर या मर को स्थितीमा पुगिसकेका थिए।

वि.सं २०५२ साल फागुनबाट शसस्त्र युद्दमा होमिएका प्रचण्ड वि. सं २०६४ मा आइपुग्दा नेपाली राजनितीको केन्द्र भागमा स्थापित भइसकेका थिए। झण्डै ३ दशक देखि निरन्तर पार्टिको शक्तिशालि कमाण्डर रहेका प्रचण्ड मुलत आफु केन्द्रित राजनितिमा रमाउने पात्र हुन्। जुन र जस्तो सुकै परिस्थितिमा पनि शक्तिको अभ्यास गर्न रुचाउने प्रचण्ड वर्तमान राजनितिक नेतृत्व मध्येका चलाख पात्र हुन्। निरन्तर फस्ट म्यान रहेका प्रचण्ड पार्टी एकता पश्चात भने समय र परिस्थितिले केपि वलि को छाँयामा परेका देखिन सकिन्छ। जुन कुरा प्रचण्डको लागि असैह्य हुदै गएको प्रष्ट देखिन्छ। प्रचण्डका पछिल्ला अभिव्यक्तिहरु, एकताका क्रममा भएको भनिएको गोप्य सहमति पत्र सार्वजनिक, भेनेजुएला र अमेरिकी तनावको बिच जारि विग्यप्ति, मन्त्रीमण्डल पुनर्गठन बारेका अभिव्यक्तिहरुले आम पार्टि पङ्ति मा अन्योलता छाएको छ। भने सरकार समेत एकपछि अर्को प्रचण्डको अभिव्यक्ति सँगै कमजोर बन्दै गईरहेको छ। प्रचण्डको सधै शक्तिमा रहन चहाने मनोविज्ञान ले पनि वर्तमान सरकार थप प्रतिरक्षात्मक बन्न पुगेको छ।

नेकपा भित्रको बहु केन्द्र:

वर्तमान सरकार नेपाली जनता र विश्व समुदायको लागि भलै स्पष्ट बहुमत प्राप्त नेकपा को सरकार होला तर नेकपा भित्रको शक्ति सन्तुलनलाई हेर्ने हो भने यो सरकार मुलत प्रचण्ड, केपि वलि र माधव नेपालको गठबन्धन सरकार हो। यसको स्पष्ट संकेत नेकपाका नेताहरुको अभिव्यक्तिबाट स्वत पुष्टि हुन्छ। नेकपा भित्र स्थायी रुपमा विगत २ दशक भन्दा बढि समय देखि प्रमुख दुई गुट सक्रिय छन् १, केपि समर्थक २, केपि विरोधी ।

५० को दशक को सुरुवात सँगै मदन कुमार भण्डारीको रहस्यमयी तरिकाले हत्या पश्चात २०२८/२९ को झापा विद्रोहका नेतृत्वकर्ता ओेली पुन राजनितिको केन्द्र भागमा देखिए। वि. सं. २०५१ सालको मनमोहन नेतृत्वको सरकारका गृहमन्त्री समेत भएका ओली २०५८-६२ सम्म उग्रवामपन्थी भड्कावका विरुद्द आफ्ना प्रस्तुतिबाट चर्चाको शिखरमा रहिरहे। जस्ले उनलाई राजनितिको केन्द्र भागमा स्थापित गरायो र उनको अभिव्यक्तिको वरिपरि नेपाली राजनिति घुमिरह्यो।। यसरि उनका अभिव्यक्तिका आधारमा उनका समर्थक र विरोधि खेमामा आम रुपमा विभाजनको श्रृखला चलिरह्यो।

हाम्रा देशका हरेक पार्टिहरु गुट उपगुटहरुको अभ्यासमा अभ्यस्त भईसकेका छन्। सामान्यतया कुनैपनि नेताको विचार त्याग र समर्पणको सम्मानमा, उक्त नेतालाई स्थापित गर्न लाग्नेहरुको समुहलाई गुट भन्ने बुझिन्छ। तर यो परिभाषा तत्कालिन एमाले भित्र दुई दशक देखि मेल खाईरहेको छैन। ५० को दशक सँगैको केपि वलिको उदय तत्तकालिन एमाले भित्रको एउटा समुहलाई पाच्य भएन र पुर्वाग्रह पुर्ण ढङ्गले केपि ओली विरुद्द लागिरहे। दुखत पक्षत यो रह्यो कि ओली पार्टी सत्तामा हुदा या नहुदा निरन्तर सो समुहको निशानामा भने परिरहे। निति सिध्दान्त र कार्यशैलीका आधारमा भन्दापनी वदलाको भावनाबाट उक्त समुह अभिप्रेरित जस्तै देखिन्छ।

उक्त समुहले विगतमा सि.पि मैनाली देखि वामदेव गौतम, झलनाथ खनाल, असोक राई र माधव नेपाल सम्मलाई पटकपटक केपि ओली विरुद्द प्रयोग गर्न सफल भईसकेका छन्। त्यहि समुह अहिले यो वा त्यो नाममा नेकपा भित्र बहु केन्द्रहरु स्थापना गर्ने र ओलीलाई कमजोर बनाउने र सम्भव भएसम्म ओली बाहेकका प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ रामबहादुर थापा सम्मलाई एकिकृत गर्दै ओली र उनि निकटस्थहरुलाई राजनैतिक रुपमा समाप्त गर्न प्रयासरत देखिन्छ। जस्को प्रभाव पार्टि एकता र सरकारको कामकार्बाहिमा प्रष्ट देख्न सकिन्छ।

संकुचित घेरा भित्र हराएका प्रधानमन्त्री:

वर्तमान दुईतिहाइ सरकार रक्षात्मक बन्नुको पछाडि अर्को महत्वपुर्ण कारक भनेको स्वयं प्रधानमन्त्रीको निजि सचिवालय, सल्लाहकार र क्याविनेटका थोरै बिश्वास पात्र मात्र सम्मिलित एउटा सानो घेरा हो। निजि सचिवालयले प्रधानमन्त्रीका कार्यक्रमहरुलाई प्राथमिकताका आधारमा वर्गिकरण गर्न सकिरहेको देखिदैन भने सल्लाहकारहरुको एक पछि अर्को गलत सल्लाहको सिकार प्रधानमन्त्री बन्न पुगेको देख्न सक्छौ, साथै क्याविनेटका केहि मन्त्रीका अभिव्यक्ति व्यक्त गर्ने शैलीले समेत प्रधानमन्त्री आलोचनाका पात्र बन्न पुगेका छन्।

नेकपा अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपि शर्मा ओली विगतका अन्य पार्टीका अध्यक्ष र विगतका प्रधानमन्त्री जस्तै वालुवाटारमा अर्को एउटा फोटो झुन्ड्याउन आएका पात्र हुन भन्ने बुझाई आम जनतामा हुन्थ्यो भने सायदै यति बिध्न आसा र भरोसा आम जनताले राख्ने थिएनन्। के पि ओली एउटा गरिब किसानका छोरा, प्रजातन्त्र प्राप्तिका लागि १४ बर्ष कष्टकर जेल जिवन बिताएका सहासिक व्यक्तित्व, आफ्ना तर्क स्पष्ट सँग आम नेपाली जनताले बुझ्नेगरी राख्न सक्ने स्पष्ट वक्ता, प्रथम कार्यकालमा भारतद्वारा गरिएको अघोषित नाकाबन्दि विरुद्द सति सालझै उभिएका राष्ट्रवादी नेता, वि.सं. २०७२ को महाभुकम्प पश्चात सब सकियो टुङ्गियो रित्तियो भन्ने जस्ता विकसित निरासावादी नेपाली मनोविज्ञानका विरुद्द एक्लै लड्दै, दृढ विश्वासका साथ बन्छ, गर्छौ, हुन्छ, उठ्छौ भनेर सकारात्मक दिशामा जनताका मनोविज्ञान विकास गर्ने एउटा दृढ इच्छाशक्ति बोकेका नेता भएकाले उनको सार्वजनिक जिवन विगत झै यथावत रहनुपर्दथ्यो। त्यसको ठिक विपरित प्रधानमन्त्रीको किचेन क्याविनेटले बुझेर वा नबुझि प्रधान मन्त्रीलाई आम जनताबाट अलग्याउदै लगिरहेको देखिन्छ।

आम जनताका मनोभावनाहरु प्रधानमन्त्री सम्म पुर्याउने र प्रधानमन्त्रीले गरेका सम्बोधनका प्रयासबारे जनतालाई जानकारी गराउने जिम्मेवारी बोकेको सचिवालय ले आफ्नो जिम्मेवारी बहन गर्न नससकिरहेको स्पष्ट देख्न सक्छौ। जस्ले गर्दा प्रधानमन्त्री दिन प्रतिदिन अलोकप्रिय बन्दै गइरहेका देखिन्छ।

मुलत माथी उल्लेखित बाहेक प्रधानमन्त्री स्वयंको स्वास्थ्य स्थिती, पुरानै संरचना र मनस्थितीको कर्मचारी तन्त्र, अफवाह फैलाउन माहिर केहि मिडिया हाउस, कमजोर प्रशासनिक संयन्त्र, सुधारवादमा अल्झिएको सरकारि निति तथा कार्यक्रमका अलवा बाह्य चलखेलले समेत वर्तमानको बहुमत प्राप्त साम्यवादी पार्टी नेतृत्वको दुईतिहाइको समाजवादी सरकार प्रतिरक्षात्मक बन्न बाध्य छ ।

इमेलः [email protected]

Loading...

फेसबुकबाट तपाइको प्रतिक्रिया