कैलाश खत्री,काठमाडौं ।
चितवनको नारायणी नदीमा निर्माणाधीन मिनी पानीजहाज‘रिभर क्रुजसिप’ केहि महिना भित्र सञ्चालनमा आउने भएको छ ।
राइनो वाटर ईन्टरटेन्मेन्ट प्रा.लिले काप्रेघाटमा निर्माण गरिरहेको क्रुजसिपलाई पानीमा राखेर गरिएको परीक्षण सफल भएको छ । दशै अगाडी नै संचालनमा ल्याउने तयारी भइरहेको छ ।
राइनो वाटरले शनिबार भरतपुरमा पत्रकार सम्मेलन गरी क्रुजसिप दशैं अगाडि निर्माण सकेर सञ्चालनमा ल्याइने जानकारी दिएको छ । नर्वेजियन प्रविधि प्रयोग गरेर भारतीय प्राविधिकको सहयोगमा नारायणी किनारामै ‘क्रुजशिप’ निर्माण गरिरहेका छन् । भारतीय र नेपाली गरी ५० जना खटिएका छन् ।
‘क्रुजशिप’ राख्नको लागि पानीको च्यानल काटेर १५ फिट गहिरो पार्किङ स्टेशन निर्माण भइसकेको छ ।
भारतीय ग्राउण्डीमल मरिन इन्टरनेशल कम्पनीले यसको प्राविधिक पक्षको काम गरिरहेको छ । कम्पनीका निर्देशक ओजस सेवास्टिएनले नेपालमा पहिलो पटक निर्माण गरिएको क्रुजशिपले पर्यटन क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
‘मिनी पानीजहाज’ सञ्चालनका लागि आवश्यक क्र्यू मेम्वर र प्राविधिक हाल विदेशी हुने छन् । तर दीर्घकालिन रुपमा नेपाली जनशक्ति नै उत्पादन गर्नको लागी आवश्यक तालिम केन्द्र सञ्चालन गर्ने योजना बनाएको कम्पनीको भनाइ छ ।
पहिलो चरणमा काप्रेघाटबाट देवघाटसम्म सञ्चालन गरिनेछ भने त्यसपछि मुग्लिन र तल त्रिवेणीधामसम्म लैजान थप अध्ययन गरिने निर्माण पक्षले जनाएको छ ।
‘मिनी पानीजहाज’मा १५ जना क्यू मेम्बर हुनेछन् भने एकै पटक दुईसय जनाले यात्रा गर्न सक्ने छन् । पानी जहाजको दुबै तलमा सयसय जना अटाउनेछन् । मिनी पानीजहाज एक सय फिट लम्वाई र २५ फिट चौडाईको हुनेछ, जसको माथिल्लो तलालाई दृश्यावलोकन गर्न सकिने गरी बनाइने बताइएको छ ।
‘मिनी पानीजहाज’लाई दिनमा तीन सिफ्ट चलाउने योजना छ । भरतपुर महानगरपालिका वडा नः १६ काप्रेघाटलाई मुख्य केन्द्र बनाएर देवघाटदेखि गोलाघाटसम्मको क्रुजिङ करीव तीन घण्टाको हुनेछ । कम्पनीका प्रवन्ध निर्देशक कँडेलले भने,‘नेपालको जल पर्यटनमा यो एउटा कोशेढुंगा सावित हुनेछ भन्ने विश्वास छ ।
बर्षाको तीन महिना भने ‘मिनी पानीजहाज’ बन्द गरिनेछ ।
पानीजहाज सञ्चालन गर्ने स्थानमा नदी नियन्त्रण गर्न प्रदेश ३ सरकारले ९५ लाख रकम दिएर निर्माण गरेको छ ।
राइनो वाटरलले ‘मिनी पानीजहाज’सँगै रिर्सोट पनि सञ्चालन गर्नेछ । यसका लागि पर्यटन उद्योग सेवा प्रवाह निर्दे्शिका २०७० अनुसार सञ्चालन स्वीकृति लिएको छ भने रिसोर्टका लागि ज्ञानेश्वर सामुदायिक वनसँग २० बर्षका लागि जग्गा भाडामा लिएको छ । त्यहाँ ‘सी’ रिर्सोट निर्माण हुने राइनो वाटर इन्टरटेन्टमेन्ट कम्पनीका निर्देशक दीपक ढुङ्गेलले जानकारी दिए ।
रिर्सोटसहित झण्डै ३५ करोडको लागत अनुमान गरिएको छ । ज्ञानेश्वर सामुदायिक वनका अध्यक्ष राजन अधिकारीले डेढ विगाहा जग्गा बार्षिक तीन लाख पचास हजार भाडा लिने गरी भाडामा दिएको जानकारी दिए ।

