रामेछाप । शैक्षिक सुधारमा टेवा पुर्याउने उद्देश्यले रामेछापमा विद्यार्थी तथा शिक्षकहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । कालिन्चोक फाउण्डेशन नेपालले मन्थली नगरपालिका वडा नम्बर ११ र १२ मा रहेका विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको हो ।
फाउण्डेशनले बुधबार, बिहीबार र शुक्रबार गरी जम्मा १२ वटा विद्यालयका १ हजार ३ सय ६७ जना विद्यार्थीलाई पोशाक, झोला र शैक्षिक सामग्री प्रदान गर्नुका साथै शिक्षकहरुलाई पनि झोला र पोशाक वितरण गरेकाे छ । फाउण्डेशनले शारदा माबि गेलुलाई २० थान सि.सि टिभि क्यामेरा हस्तान्तरण गरेकाे छ ।
जिल्ला भरि नै शैक्षिक सामग्री वितरण गर्ने अभियान संचालन गरेकाे उक्त फाउन्डेसनले हालसम्म श्रीमाबि सिक्राल, पशुपति आधारभूत विद्यालय भुल भुले, शारदा माबि गेलु, मनकामना मा,बि, तामाकोसी, ज्ञानदान, कालिका देवि, रानिकुञ्ज, लहरेबर, कालिका अाधारभुत बिद्यालय लगायत १२ विद्यालयका बिद्यार्थी तथा शिक्षकहरुलाई शैक्षिक सामग्री बितरण गरिसकेकाे छ ।
संस्थाले उक्त शैक्षिक सामग्री विभिन्न संघसंस्था तथा सहयोगदाताहरुबाट जुटाई विद्यालयसमक्ष पु¥याउने काम गरेको संस्थाका अध्यक्ष दिनेश खड्काले जानकारी दिए ।

