शुक्रबार, बैशाख ०७, २०८१

झगडाको घटना बढेपछि जापानमा विदेशी संघसंस्थाको गतिविधिमाथि सुक्ष्म निगरानी

टोकियो । जापानमा नेपाली लगायत अन्य विदेशीहरुको सामुहिक गतिविधिमाथि निगरानी बढाउन थालिएको छ ।

बिना दर्ता खोलिएका संघसंस्थाहरुले विभिन्न उद्देश्य राखी विभिन्न आर्थिक गतिविधि गर्ने गरेको, त्यसको कुनै लेखाजोखा एवं करको दायराभित्र पर्ने नगरेको र समुह नै खडा गरेर हुल-इजतमा उत्रने गरेको पाईएकोले निगरानी बढाउन थालिएको स्रोतले जनायो ।

विभिन्न नामका संघसंस्था खोली देखासिकीका भरमा विभिन्न गतिविधि गरिने चलन नेपाली समुदायमा अलि बढि नै हुने गरेको पाईएको एक अधिकारीले बताए । छिमेकी मुलुक भारत, चीन, बंगलादेश, पाकिस्तान, थाइल्याण्ड, मलेसिया, फिलिपिन्स, कोरिया लगायतका जापानमा रहेका विदेशी समुदायमा संघसंस्था खोलेर विभिन्न समुहमा विभाजित हुने र त्यसकै नाममा गतिविधिहरु गर्ने चलन खासै नभएको ती अधिकारी बताउँछन् । उनले भने – ‘उनीहरु जे उद्देश्यका लागि जापान आएका हुन् त्यसमै केन्द्रित देखिन्छन् ।

जापानमा कुनै पनि देशका विदेशीले राजनैतिक आस्थाका आधारमा संघसंस्था नै खोलेर राजनैतिक गतिविधि गर्न वर्जित रहेको तथ्यलाई स्मरण गराउंदै तत्सम्बन्धमा पनि सम्बन्धित निकायले सुक्ष्म अध्ययन गरिरहेको स्रोतले बतायो ।

समुह नै खडा गरी हुल-इजत, झैं-झगडा र हातपातमै उत्रने घटना अलि बढि नै पाईएको र पटक पटक सचेत गराउँदा पनि दोहोर्‍याएर गल्ती गर्नेहरुका विरुध्द उजुरी आउने गरेकोले उद्वन्द्व स्वभाव र अराजक पृष्ठभूमिका विदेशीहरुको पहिचान गरी नामावली संकलन भईरहेको सुरक्षा निकायको भनाई छ । त्यस्ता पृष्ठभूमिका ब्यक्तिहरुलाई संरक्षण गर्ने संरक्षणकर्ताको पनि पहिचान गरी कानुनी दायरामा ल्याईने स्रोतले बतायो ।
आसन्न टोकियो ओलम्पिक र प्याराओलम्पिक तथा नयाँ भिसा प्रणालीअनुसार विदेशीहरुको संख्या अझ बढ्न सक्ने विषयलाई ध्यानमा राख्दै शान्ति सुरक्षा तथा अमनचयनमा असर नपरोस् भन्ने हेतुले सम्बन्धित निकायले थप सतर्कता अपनाउन थालेको बताइएको छ ।
@समुद्रपारि