शुक्रबार, बैशाख ०७, २०८१

आदिवासी जनजाति महासंघको अगुवाइमा विरोध प्रदर्शन

काठमाडौं । लोकसेवा आयोगको विज्ञापन संविधान मर्म र भावन विपरीत रहेको भन्दै आदिवासी जनजाति समुदायहरुले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् ।

मंगलबार नेपाल आदिवासी जनजाति महासंघको अगुवाइमा ‘समानुपाति समावेशी सिद्धान्तको भावना र मर्मविपरीत प्रकाशित लोकसेवा आयोगको विज्ञापन तुरुन्त खारेज गर, आरक्षण सुनिश्चित गरी पुनःविज्ञापन गर’ भन्ने नारासहित प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा विभिन्न जातीय संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । प्रदर्शनमा किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, नेपाल मगर संघ, नेवा देय दबू, तामाङ घेदुङ, तमू गुरुङ राष्ट्रिय परिषद, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च लगायत संस्थाका प्रतिनिधि थिए । मञ्च भने कुमार लिङदेन नेतृत्वको राजनीतिक दल हो ।

प्रदर्शनकारीहरुले ‘राज्य व्यवस्था समितिको निर्देशन पालना गर, संविधान प्रदत्त आरक्षण सुनिश्चित गर, गुठी विधेयक खारेज गर’लगायत नारा लेखिएको कागज छातीमा टाँसेर विरोध गरेका हुन् ।

महासंघका अध्यक्ष जगत बरामले महासंघको संयोजन र विभिन्न जातीय संस्थाहरुको आव्हान र सहभागितामा प्रदर्शन गरिएको बताए । उनले आयोगको विभेदकारी विज्ञापन खारेज नभएसम्म आन्दोनल गरिने बताए ।