Nepali date


आइतवार, भदौ २९, २०७६

‘जिटिभी सारेगमप’मा तेस्रो भए एघार वर्षीय नेपाली प्रितम आचार्य

नयाँदिल्ली । भारतीय टेलिभिजन च्यानल ‘जिटिभी’ बाट प्रसारण हुँदै आएको ‘सारेगमप लिटल च्याम्प्स’ को आइतबार फाइनलमा इटहरी-५ का एघार वर्षीय प्रितम आचार्य तेस्रो भएका छन् ।

छ जनाको ‘टप-६’मा परेका अर्का नेपाली भक्तपुरका आयुष केसी भने अन्तिम तीनमा पर्न सकेनन् । यो प्रतियोगिता सुगन्धा दातेले जितेकी छन् भने दोस्रो भए मोहम्मद कैफ।
प्रतियोगिता नजिते पनि नेपालबाट जिटिभी ‘रियालिटी शो’ को अन्तिम प्रतिस्पर्धासम्म पुगेका दुई नेपालीले आइतबारको ‘ग्र्यान्ड फाइनल’ मा पनि निर्णायक र पाहुनाहरूको वाहवाही बटुले। आयुषको प्रदर्शनपछि निर्णायक मण्डलका शानको प्रतिक्रिया थियो, ‘रोमान्टिक गीतमा तिमी अरू प्रतिस्पर्धीभन्दा एक कदम अगाडि छौ।’
कार्यक्रममा तेस्रो भएका प्रितमले सुरूआतदेखि नै निर्णायक मण्डल र ‘सेलेब्रिटी’ पाहुनाहरूको मन जित्दै आएका थिए। उनले गाएको ‘सन्देशे आते हैं’ र ‘तडप तडपके’ गीत खुबै रूचाइएका थिए ।
संसारकै एक ठूलो फिल्म उद्योग ‘बलिउड’ र सवा अर्ब जनसंख्याको बजारयुक्त भारतमा गीत-संगीतलाई राम्रो करिअरका रूपमा लिइन्छ। लाखौं केटाकेटी भविष्यमा किशोर कुमार र मोहम्मद रफी बन्ने सपना देख्दै हुर्कन्छन् । त्यहीअनुसार उच्चस्तरीय तालिम लिन्छन्।
नेपालजस्तो सानो बजार र गीत-संगीतले करिअरको दर्जा नपाएको देशका प्रतिस्पर्धीले भारतीयहरूकै माझ उभिएर अब्बल प्रदर्शन गर्नु र उनीहरूलाई नै पछार्दै फाइनलसम्म पुग्नु आफैंमा तारिफयोग्य हो। प्रितम र आयुषले त्यही कोटीको प्रदर्शन गरे, यसपालिको ‘सारेगमप’ सिजनमा।
प्रितमले आफ्नो सुमधुर आवाजबाट गृहजिल्ला सुनसरीमा धेरैलाई ‘मन्त्रमुग्ध’ पारेको पाँच वर्षभन्दा बढी भयो।

फेसबुकबाट तपाइको प्रतिक्रिया