काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का पञ्जीकृत सदस्यको परिवारलाई लक्षित गरी एनआरएनए फेमिली कार्डको औपचारिक सुरुवात गरेको छ ।
आईतवार संघको सचिवालय बालुवाटारमा पत्रकार सम्मेलन गरी एनआरएनए फेमिली कार्डको सुरुवात गरेको हो ।
यस कार्ड संघका पञ्जीकृत सदस्यहरुका नेपालमा बसोबास गर्ने परिवारका बाबु–आमा, श्रीमान–श्रीमती, र छोराछोरीले यो कार्ड प्राप्त गर्न सक्ने जनाएके छ ।
विभिन्न व्यावसायिक प्रतिष्ठानहरुसँग सहमति गरी ति प्रतिष्ठानले आपूर्ती गर्ने सेवा वा वस्तुमा छुट वा सहुलियत दिने प्रणालीको विकास गरेको छ । जस अन्तर्गत ती प्रतिष्ठानले संघका कार्ड धारकहरुलाई आफ्ना वस्तु र सेवामा निश्चित मात्राको सहुलियत दिनेछन् ।
कार्ड पाएपछि संघमा पञ्जीकृत सदस्य र उनीहरुका परिवारका सदस्यले नेपाल भित्र र बाहिर संघसँग सहमति गरेका विभिन्न, अस्पताल, विविध स्वास्थ्य संस्थाहरु, बालबालिका तथा ज्येष्ठ नागरिक हेरचाह केन्द्र, विद्यालय तथा कलेज, होटेल, रेष्टुरेन्ट, सुपर मार्केट, एयरलाइन्स, ट्राभल, टुर एण्ड टिकट एजेन्सी, सूचना तथा सञ्चार सम्बन्धि क्षेत्र, बैकिंङ क्षेत्र, बीमा, फिटनेश सेन्टर लगायतका उद्योग प्रतिष्ठानबाट प्राप्त गर्नेछन् । कार्डको म्याद २ वर्षको हुनेछ । त्यस पश्चात कार्ड पुनः नवीकरण गराउनुपर्ने बताएके छ ।
यस्तो कार्ड प्राप्त गर्न सम्बन्धित सदस्यले सचिवालयमा कार्ड बनाउन चाहने परिवारका सदस्यको विवरण उपलब्ध गराउनु पर्नेछ । संघले आफ्ना सदस्यहरुको क्यू आर कोड सहितको कार्ड बनाउने प्रक्रियाको विगतदेखि नै सुरु गरेको एनआरएनए अध्यक्ष भवन भट्टले जानकारी दिनुभयो । भवन भट्टले गैरआवासीय नेपालीलाई संघको सदस्य बन्न थप प्रोत्साहन होस भनी यो व्यवस्थाको सुरुवात गरिएको बताउनुभयो ।
पत्रकार सम्मेलनमा अध्यक्ष भवन भट्टसहित उपाध्यक्ष सपिला राज भण्डारी लगाएत एनआरएनए अभियान्ता र पत्रकारहरुको उपस्थिती रहेको थियो ।

