सोमबार, बैशाख ०७, २०८३

प्रधानमन्त्री ओली जेनेभा प्रस्थान,आईएलओको सभालाई सम्बोधन गर्नु हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली झण्डै दुई साता लामो युरोप भ्रमणको क्रममा स्वीटजरल्याण्डको जेनेभा प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री ओली युरोपका तीन राष्ट्रको भ्रमणका लागि शनिबार साँझ जेनेभा प्रस्थान गर्नुभएको हो ।
भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, श्रममन्त्री गोकर्ण विष्ट, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल लगायत छन् ।

भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले जेठ २७ गते जनेभामा आयोजना हुने अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ)को शतवार्षिकीको अवसरमा चौथो वक्ताकारुपमा सम्बोधन गर्नुहुनेछ । सो समारोहमा ४० देशका राष्ट्र तथा सरकार प्रमुखको सहभागिता रहेन प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.राजन भट्टराईले जानकारी दिनुभयो । त्यहाँ केही द्विपक्षीय भेटवार्ता पनि हुनेछ ।

त्यस्तै जेठ २७ साँझदेखि नै प्रधानमन्त्री ओली बेलायतको भ्रमणमा निस्किनु हुनेछ । जेठ २९ गतेसम्म बेलायत भ्रमणमा रहनुहुने प्रधानमन्त्री ओलीले बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा जेठ २७ गते साँझ आयोजना गरिने एक विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

२९ गते फ्रान्स जाने कार्यक्रम छ भने प्रधानमन्त्रीले फ्रान्सेली समकक्षी इडोर्ड फिलिपसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको र प्रधानमन्त्री ओली आगामी असार १ गते स्वदेश फर्कनु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।