कैलाश खत्री,मन्थली । रामेछापको मन्थली नगरपालिका वडा नम्वर–७ मा रहेको सदरमुकाम मन्थलीस्थित आकाशे पुल हुँदै पश्चिम क्षेत्र जोड्ने भटौली–चित्रेघट्ट–कल्लेरीसम्मको सडकको जेठ २४ गते (शुक्रबार) स्थलगत निरिक्षण गरिएको छ । मन्थली नगरपालिकाको नगरस्तरिय सडकभित्र पर्ने त्यस सडक चालु आर्थिक वर्ष २०७५÷२०७६मा नगरपालिकाबाट विनियोजित बजेटबाट स्तरोन्नती गरिएको हो ।
करिव १५ किलोमिटर सडक क्षेत्रमा स्तरोन्नतीको क्रममा सडकलाई चौँडा पार्ने,ग्याविन भर्ने र पर्खाल लगाउने कार्य गरिएको छ । सडकको स्तरोन्नती भएसंगै सदरमुकाम मन्थलीबाट जिल्लाको पश्चिमी भागका धेरै ठाउँमा यातायात संचालनमा सहजता आउनेछ । सडकबाट लाभान्वित उक्त ठाउँका स्थानिय वासिन्दाले सडकको स्तरोन्नती भएसंगै यात्रा गर्न सहज भएको प्रतिक्रिया दिएका छन् ।
सडक स्तरोन्नतीका लागी मन्थली नगरपालिकाले २६ लाख बजेट विनियोजन गरेको र सडक स्तरोन्न्तीको काम अहिले अन्तिम चरणमा पुगेको नगरपालिकाको इन्जिनियर डिल्लि वहादुर अधिकारीले जानकारी दिए । सिमित बजेटका कारण उक्त सडकको अधिंकास ठाउँमा सडक चौडा पार्ने र टेवा पर्खाल लगाउने कार्य अधुरो रहेको र बाँकी काम पुरा गर्नका लागी नगरपालिकाले थप बजेटको व्यवस्था गर्नुपर्ने बताईएको छ ।
उक्त सडक निरिक्षणको लागी इन्जिनियर अधिकारी सहित,सभ–इन्जिनियर लोकेन्द्र वुढाथोकी,सरोज सुवेदी लगाएतको टोली गएको थियो ।

