काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष एवम् नेपाल वायुसेवा निगमका जापानका प्रतिनिधि देवमान हिराचनले निगमले जापानको ओशाकामा आगामी जुलाई ४ तारिखबाट गर्ने भनिएको वाईडबडीको उडान स्थगित गरेकोमा गम्भीर आपत्ति जनाउनु भएको छ ।
नेपाल र जापान दुवै देशका सरकारी तथा प्राविधिक प्रतिनिधि बसेर उडानको लागि मिति नै तय गरिएको अवस्थामा निगमले एक्कासी विना कारण उडान स्थगित गर्नु आफैंमा अशोभनीय रहष्यमय भएको हिराचनको भनाई छ ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै हिराचनले टिकट बुकिङ नभएकै कारण उडान स्थगित गरिएको भन्ने निगमको भनाईमा कुनै सत्यता नरहेको बताउनु भयो । ‘नेपाल एयरलाईन्सको जापानी टिकट बुकिङ प्रणाली नै तयार भएको छैन । यस्तो अवस्थामा निगमले बुकिङ खुल्ला गर्नुपर्दथ्यो, बुकिङ नै नखुलाई टिकट बुक नभएको बहाना बनाएर ओशाका उडान स्थगित गर्नु रहस्यमयी छ । यसमा नेपाल सरकार खासगरी सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले विशेष ध्यान पुर्याउनुपर्छ,’ हिराचनले भन्नुभयो ।
उहाँले नेपाल एयरलाईन्सले जापानसँग उडानको लागि सम्झौता गर्नु ठूलो उपलब्धि भएपनि यसको लागि गर्नुपर्ने आवश्यक धेरै कामहरु नेपालको तर्फबाट द्रुत गतिमा नभएको तथ्य राख्नुभयो । ‘नेपालको तर्फबाट निगमले जतिसक्दो चाँडो प्राविधिक टोली जापान पठाई टिकट बुकिङ प्रणाली सुचारु गर्नुपर्दथ्यो, तर त्यसतर्फ निगमका नेतृत्वले ध्यान दिएन । यही कारण आज निर्धारित मितिमै ओशाका उडान भर्न सकिएन,’ हिराचनले भन्नुभयो ।
नेपालबाट जापान सिधा उडान भर्ने सम्झौता भएकै दिनदेखि जापानीहरु उक्त सम्झौताबारे खुशी रहेको आफूले पाएको सुनाउँदै हिराचनले भन्नुभयो, ‘जापानमा भएका पर्यटक विभाग र ट्राभल एजेन्टबाट डिसेम्बरदेखि नै टिकेटको माग आएपछि आशुका ट्राभल एण्ड टुर्सले बारम्बार काठमाडौंमा खबर गर्दा पनि नेपाल वायु सेवा निगमले टिकट चाँडै बजारमा निकाल्नको लागि कुनै चासो देखाएन । त्यही भएर टिकट मोनिटर गर्ने राउटर नै सेटअप गर्ने चाहनापनि देखाएन ।’
अघिल्लो वर्षदेखि नेपाल वायु सेवा निगमको ओशाका कार्यालय खोली नेपाल वायु सेवा निगमको उडान सुरु गर्ने योजना बनेको सुनाउँदै हिराचनले उक्त योजनालाई सफल तुल्याउन नेपालको तर्फबाट खासै चासो र चिन्ता नदेखाईएको गुनासो गर्नुभयो । ‘आज त्यही भएर समयमै उडान भर्न नसकिएको हो,’ हिराचनले भन्नुभयो ।
उहाँले गत अप्रिलदेखि सबै जापान सरकारको कानूनअनुसार नेपाल वायु सेवा निगमको उडानको लागि चाहिने आवश्यक कागजपत्र र अनुमति आफ्नै नेतृत्वमा दर्ता भैसकेको पनि स्मरण गराउनु भयो ।

