सोमबार, बैशाख ०७, २०८३

बाग्लुङ समाज जापानद्वारा संकलित रकम रामु गौतमलाई स्तान्तरण

टोकियो । क्षयरोगबाट ग्रसित भै बिगत ३ महिना देखि योकोहामा हस्पिटलमा उपचाररत रामु गौतमको उपचारको लागी संकलित रकम हस्तान्तरण गरिएको छ ।
बाग्लुङ समाज जापानको नेतृत्वमा उपचाररत रामु गौतमलाई हस्पिटलमै पुगेर संकलित १ लाख ६० हजार जापानी येन रकम हस्तान्तरण गरिएको हो ।

बाग्लुङको ताराखोला गाउँपालिका ५ तारा स्थायी ठेगाना भएका ३७ बर्षिय गौतम ३ बर्ष अघिदेखि रोजगारीको सिलसिलामा जापानमा कार्यरत हुनुहुन्थ्यो । यसअघि जापानमै बिरामी परेपछि उहाँका निकटका साथीभाइ, आफन्तजनको सहयोगमा उपचार खर्च जुटाइ नेपाल फर्केर उपचार गरेर निको भएपछि पुन: जापान आउनुभएको थियो ।

बाग्लुङ समाज जापान र खानागावा नेपाली कम्युनिटीका पदाधिकारीको रेखदेखमा उपचार गराई रहनुभएका गौतम अहिले लगभग पुर्ण रूपमा स्वस्थ हुनुभएको र उहाँको आगामी साता हस्पिटलले डिस्चार्ज गर्न लागेको बाग्लुङ समाजका अध्यक्ष सिद्धार्थ श्रेष्ठले बताउनुभयो । अभियानमा साथ दिने सबै सहयोगदाताहरुलाई धन्यबाद ज्ञापन गर्दै आगामी दिनमा पनि मानबीय र समाजिक सेवाका लागि चलाइने अभियानमा यसैगरी साथ र सहयोगको अपेक्षा रहेको समेत अध्यक्ष श्रेष्ठले जानकारी गराउनुभएको छ । उहाँ उपचारपछि पटक पटक निको हुदै पुनः स्वास्थमा गम्भीर समस्या देखिने गरेको र हस्पिटल भर्ना भै लामो समय औषधि सेवन गरि रहनु पर्ने तथा पारिवारिक अबस्था कमजोर रहेको पाइएकोले उपचारमा सहयोग पुर्याउन अभियान संचालन गरिएको बताईएको थियो ।

  रकम हस्तान्तरण बाग्लुङ समाज जापानका अध्यक्ष सिद्धार्थ श्रेष्ठ कोषाध्यक्ष यमकान्त कंडेल खानागावा नेपाली कम्युनिटीका अध्यक्ष हरी सापकोटा सचिब राजेन्द्र श्रेष्ठ र उपाध्यक्ष राजु कंडेलको रोहबरमा गरिएको थियो ।