काठमाडौं । संघीय राजधानी काठमाडौंमा बुधबारदेखि आयोजना हुन लागेको ‘राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा उत्कृष्ट लघु घरेलु तथा साना उद्यमी पुरस्कार–२०७६’ को तयारी पुरा भएको छ ।
नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग विभागको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग महासंघको सह–आयोजनामा २०७६ जेठ २२ देखि २६ गतेसम्म भृकुटीमण्डप, काठमाडौंमा ३० औं राष्ट्रिय लघु, घरेलु तथा साना औद्योगिक प्रदर्शनी–२०७६ को नामबाट आयोजना गरिन लागेको सोमबार राजधानीमा पत्रकार सम्मेलनमार्फत जानकारी गराईएको छ ।
‘आर्थिक समृद्धिका लागि उद्योग खोलौं, औद्योगिकरणका लागि सबै जुटौं’ भन्ने मूल नाराका साथ आयोजना गरिन लागेको उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंहले जानकारी दिनुभयो । २०४२ सालमा १६ वटा जिल्लाका १६ जना उद्यमीहरुलाई भृकुटिमण्डपमा भेला पारि घरेलु तथा साना उद्योग विकास समितिले सरकारी तबरबाट केन्द्रियस्तरमा शुरु गरेको सानो औद्योगिक प्रदर्शनी विभिन्न आरोह अवरोह पार गर्दै ३० औँ श्रृङ्खलामा आइपुगेको उहाँले बताउनुभयो ।
विगतमा घरेलु तथा साना उद्योग विकास समितिले राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा उत्कृष्ट लघु घरेलु तथा साना उद्यमी पुरस्कार कार्यक्रमका नामबाट महत्वपूर्ण र विशेष प्राथमिकताका साथ सञ्चालन गरिरहेको यस कार्यक्रमले मुलुकभर छरिएर रहेका लघु घरेलु तथा साना उद्योगका उत्पादनलाई राष्ट्रिय बजारमा मूलप्रवाहिकरण गर्ने र उद्यमीलाई सम्मान तथा पुरस्कृत गरि हौसला प्रदान गर्दै आएकोे छ । २०४६ सालदेखि कार्यक्रममा उत्कृष्ट उद्यमी पुरस्कार समेत समावेश गरि सञ्चालन हुदै आएको कार्यक्रमले अहिलेसम्म आइपुग्दा सयाँै लघु घरेलु तथा साना उद्यमीलाई पुरस्कृत गरि सकेको छ ।
महासंघका अध्यक्ष श्याम प्रसाद गिरीले हालसम्म चार लाख १८ हजार ५२ घरेलु र साना उद्योगहरु दर्ता भएको भए तापनि आर्थिक वर्ष २०७४÷७५ सम्मको तथ्याङ्क हेर्दा मुलुकभर दर्ता कायम रहेका घरेलु तथा साना उद्योगहरुको संख्या तीन लाख २१ हजार १३ देखिएको बताउँदै तीमध्ये घरेलु उद्योगको संख्या १७ हजार २८९ रहेको जानकारी दिनुभयो ।
प्रदर्शनीमा जम्मा २०० लघु घरेलु तथा साना उद्योगका उत्पादनहरुको स्टल रहने छन् जसमध्ये ७७ जिल्लाबाट प्रति जिल्ला कम्तीमा एक उद्यमीको सहभागिता सुनिश्चिता गरिएको छ । प्रदर्शनी अवधीमा १ लाख ५० हजारले अवलोकन गर्ने र पाँच करोड भन्दा बढिको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । नेपालका ७७ वटै जिल्लाका लघु घरेलु तथा साना उद्यमीहरुको सहभागिता रहने यस प्रदर्शनीमा प्रदेशस्तरीय उत्पादनहरुको छुट्टै प्याभिलियन रहने, महिला उद्यमशीलता प्रदर्शनी तथा उत्कृष्ट उद्यमीहरुलाई पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको छ ।
प्रदर्शनी आयोजना गर्नमा घरेलु तथा साना उद्योग विकास समिति, नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल हस्तकला महासंघ, साना तथा मझौला व्यवसाय महासंघ र राष्ट्रिय लघु उद्यमी महासंघसँग सहकार्य गरिएको छ ।

