रोल्पा । विद्यार्थीमाथि कुटपिट गरेर मिलापत्र भएको ८ दिनपछि सोमबार शिक्षिका पक्राउ परेकी छिन् । रोल्पाको एक स्कुलमा शिक्षिकाको कुटाइबाट पाँच छात्राको हात भाँच्चिएको छ भने १४ जना घाइते भएका छन् ।
रुन्टीगढी गाउँपालिका–८ मगरगोरीस्थित भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनले प्रार्थना समयमा नआएको भन्दै विद्यार्थीहरुलाई जेठ १२ गते कुटपिट गरेकी थिइन् ।
विद्यालयका प्रधानाध्यापक झगबहादुर भण्डारी पुनलाई निमित्त प्रअको जिम्मेवारी दिएर गाउँपालिकाले गरेको एसआईटी ट्रेनिङमा गएका बेला लक्ष्मीले विद्यार्थीमाथि कुटपिट गरेकी हुन् । उनले प्रार्थना समयमा नआइपुगेको भन्दै १४ जनालाई कुर्सीको खुट्टाले कुटपिट गरेकी थिइन् ।
शिक्षिकाको पिटाइबाट भीमकुमारी बाँठा, गौरी घर्ती, निर्मला पुन, शान्ता नेपाल र विमला रोकाको हात भाँचिएको छ । ‘कसैको हड्डी चर्किएको र कसैको भाँच्चिएको प्रअ भण्डारीले आलाइनखबरलाई बताए ।
शिक्षिकाको कुटाइबाट हात भाँच्चिएको खबर एक सातासम्म गुपचुपजस्तै रहे पनि पत्रपत्रिकामा सार्वजनिक भएपछि प्रहरीले फेरि घटनाबारे चासो देखाएको छ । शिक्षिका पुनलाई सोमबार पक्राउ गरिएको छ ।
इप्रका होलेरीका प्रहरी निरीक्षक मेघनाथ चापागाईँका अनुसार अहिलेसम्म अभिभावकले जाहेरी दिएका छैनन् । जाहेरी दर्ता भए त्यसअनुसार कारबाही चलाइनेछ ।
‘नभए शान्ति सुरक्षामा खलल पु¥याएको कसुरमा कारबाही गर्छौं’ चापागाईँले भनेका छन् ।
जेठ १२ गते बिहान घटना भएको थियो । बेलुका स्कुल छुट्टी भएपछि विद्यार्थीहरु घर गए । उनीहरुमध्ये धेरै कुटाई खाएका पाँचजनाको हात राम्ररी नचलेपछि अभिभावकले विद्यालयमा भएको घटनाबारे थाहा पाए ।

