सोमबार, बैशाख ०७, २०८३

नारायणहिटी सङ्ग्रहालयभित्र नवनिर्मित गणतन्त्र स्मारकको अनावरण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नारायणहिटी दरबार सङ्ग्रहालयस्थित नवनिर्मित गणतन्त्र स्मारकको अनावरण गर्नुभएको छ । वुधवार विशेष समारोहका बीच बाह्रौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति भण्डारीले स्मारकको धातुपत्र अनावरण गर्नाका साथै सञ्चालनमा आएको गणतन्त्र सङ्ग्रहालयको अवलोकन पनि गर्नुभयो ।
समारोहमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, मन्त्रिगणलगायत विशिष्ट व्यक्तिको उपस्थिति थियो ।

शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालका अनुसार आर्थिक वर्ष २०६५\०६६ को बजेटदेखि निर्माण शुरु भएको स्मारक गोरखा भूकम्पका कारण निर्माण अवधि लम्बिएको बताउनुभयो ।
करीब ३५ रोपनी जग्गामा निर्मित स्मारकमा गणतन्त्र स्थापनाका लागि ज्यान गुमाएका, घाइते, बेपत्ता र गणतन्त्रका योद्धाका स्मृतिमा चार स्तम्भ राखिएको छ । स्तम्भहरुलाई कलात्मक रुपमा एकापसमा जोडिएको छ भने रातो रङले सजाइएको छ । उक्त रङले आन्दोलनकारीको रगत खेर गएको छैन भन्ने सन्देश दिने गेलालले जानकारी दिनुभयो ।

सङ्ग्रहालयमा हाल १५० तस्वीर राखिएका छन् । सङ्ग्रहालय सजाउन जिम्मा पाएको राष्ट्रिय कला परिषद्ले फोटोग्राफर नारायणप्रसाद जोशी, गोपाल चित्रकार, मीन बज्राचार्य, सागर श्रेष्ठ, नरेश श्रेष्ठ, श्री डङ्गोल, श्रुति श्रेष्ठलगायत १२ जनाले खिंचेको तस्बीर राखेको छ ।

गणतन्त्र स्मारकअन्तर्गत सङ्ग्रहालयमा विसं २००७ सालअघिको मुक्तिमोर्चाको कारवाही, २००७ सालको क्रान्ति र प्रजातन्त्र घोषणा, २०१५ सालको आमनिर्वाचन र शपथ, २०३६ सालको जनमतसङ्ग्रह घोषणा र आमसभा, २०४६ सालको जनआन्दोलन, राजा ज्ञानेन्द्रको समयमा भएको आन्दोलनलगायत २०६२÷०६३ को दोस्रो जनआन्दोलनका तस्वीर राखिएका छन् ।