अष्ट्रिया । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान दर बेलेनसँग शिष्टाचार भेटवार्ता गरेका छन् । उपराष्ट्रपति पुनले स्थानीय समयअनुसार आज (सोमबार) अपरान्ह १२ बजे राष्ट्रपति भवन होफवर्गमा अष्ट्रियाका राष्ट्रपति बेलेनसँग शिष्टाचार भेट गरेका हुन् ।
भेटमा दुई देशको सम्बन्ध र आपसी सहयोग तथा सहकार्यका विभिन्न विषयमा छलफल भएका छन् । भेटमा उपराष्ट्रपति पुनले नेपाल र अष्ट्रिया मित्रवत् मुलुक भएको बताउँदै दुई देशबीचको सम्बन्ध थप प्रगाढ बन्दै आइरहेको बताए ।
उनले दुई देशबीच धेरै समानताहरु रहेको बताए । ‘नेपाल र अष्ट्रिया दुबै भूपरिवेष्ठित र पहाडी मुलुक हुनाले धेरै कुराहरु समान छन्’ भेटमा उपराष्ट्रपतिले भने, ‘अन्तर्राष्ट्रिय मामिलामा हाम्रा धेरै धारणा समान छन् ।
उपराष्ट्रपतिले नेपालसँग विभिन्न पक्षमा अष्ट्रियाले गर्न खोजिरेको सहकार्यप्रति खुशी व्यक्त गरे । उनले नेपाल वैदेशिक लगानीका लागि आधार भूमि भएको बताउँदै लगानीका लागि आग्रह गरे ।
‘प्राकृतिक सम्पदा, संस्कृति, पर्यटन, कृषि, केवलकार, जलविद्युतका क्षेत्रहरुमा अष्ट्रियासँग हामी सहकार्य गर्न सक्छौँ’, उनले भने, ‘यी क्षेत्रमा लगानीका लागि म अनुरोध पनि गर्दछु ।’ उपराष्ट्रपति पुनले अष्ट्रियाको अनुभव र विकास गरेको प्रविधि नेपालले सिक्न चाहेको समेत बताए ।
भेटका अवसरमा उपराष्ट्रपति पुनले यूरोपियन यूनियनले नेपाल वायु सेवा निगमको यूरोपियन गन्तव्यमा हुने उडानमा सहजीकरण गरिदिन आग्रह गरे ।
‘नेपाललाई हवाई सुरक्षा (सेफ्टी)मा धेरै सुधार गरेको छ । दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा छन्,’ उपराष्ट्रपतिले भने, ‘नेपालले हवाई सुरक्षामा गरेको सुधारका आधारमा यूरोपियन यूनियनले नयाँ दृष्टिकोण बनाउनेछ भन्ने विश्वास लिएको छु ।’
उपराष्ट्रपतिले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउन उच्चस्तरीय भ्रमणको आवश्यकता रहेको उल्लेख गर्दै नेपालका परराष्ट्रमन्त्री र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीको भ्रमणले सम्बन्ध थप सुदृढ् भएको बताए । उनले नेपालमा अष्ट्रियन दूतावास स्थापनाका लागि आग्रह समेत गरे । उनले आर–२० अष्ट्रियन विश्व शिखर सम्मेलनको सफलताको शुभकामना समेत व्यक्त गरेको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए ।
भेटमा अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान दर बेलेनले अष्ट्रिया र नेपालबीच धेरै कुरामा समानता रहेको बताएका छन् । उनले दुबै देश पहाडले भरिएको बताउँदै सम्बन्ध पनि प्रगाढ भएको बताए ।
‘अष्ट्रियाको भन्दा नेपालमा धेरै ठूला पहाडहरु छन् । नेपालमा अग्ला पहाड र अष्ट्रियामा होचा पहाड भए पनि हाम्रा सोंचाईहरु समान छन्,’ उनले भने ।
अष्ट्रियाका राष्ट्रपतिले अष्ट्रियाको हालको राजनीतिक प्रक्रियाबारे संक्षिप्त रुपमा अवगत गराउँदै त्यसका बाबजुद पनि अष्ट्रियन विश्व शिखर सम्मेलन उच्च प्राथमिकतामा राखि सफल बनाउन अष्ट्रिया सरकार प्रतिबद्ध रहेको बताए ।
अष्ट्रियाका राष्ट्रपतिले पोल्याण्डको कातोबिच भन्ने शहरमा सम्पन्न सिओपी २४ का दौरान सुरु गरिएको जलवायु परिवर्तन सम्बन्धी लक्ष्य बढाउने अभियानमा समर्थन गरिदिन अनुरोध गरे । उनले आफ्नो निमन्त्रणालाई स्वीकार गरेर अष्ट्रियाको भ्रमण गरेकोमा उपराष्ट्रपतिलाई धन्यवाद दिए ।
अष्ट्रियाका राष्ट्रपतिसँगको भेटमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, उपराष्ट्रपतिका निजी सचिव सुकबहादुर रोका, अष्ट्रियाका लागि नेपाली राजदूत प्रकाश कुमार सुबेदी, परराष्ट्र मन्त्रालयका सहसचिव भरतराज पौड्याल समेत सहभागी थिए ।
उपराष्ट्रपति पुनले आजै होफवर्ग संग्राहलयमा भइरहेको नेपाली कला प्रदर्शनीको अवलोकन भ्रमण समेत गरेका छन् ।

