बिहिबार, बैशाख १३, २०८१

चौथों संस्करणको मिस मगर नेपाल-२०१९ को तयारी अन्तिम चरणमा

पोखरा । एसटी क्रियशनको आयोजनामा हुन लागेको चौथो संस्करणको मिस मगर नेपाल-२०१९ को तयारी अन्तिम चरणमा पुगेको छ ।
प्रोमो भिडियो सार्वजनिक भएसँगै यही जेठ १० गते पोखराको होटल पोखरा ग्राण्डमा हुने ग्राण्ड फिनालेको तयारी समेत अन्तिम चरणमा पुगेको कार्यक्रम निर्देशक सुरज थापामगरले जानकारी दिनुभयो ।

मगर संस्कृतिको प्रत्यक्ष अवलोकन तथा अध्ययन भ्रमणका शिलशिलामा मिस मगर नेपाल–२०१९ का प्रतियोगीहरूसहितको टोली तनहुँको मगर होम स्टे रघु गाउँ पुगेको थियो ।
यस पटकको मिस मगर नेपालमा १० प्रतियोगीहरूले ताजका लागि प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगितामा सानिया पुनमगर, मेलिना श्रीसमगर, उषा अर्मजामगर, सनम गर्बुजामगर, केशरी रानामगर, मेलिना चोचाङ्गीमगर, सोनी पुनमगर, एलिसा बुढामगर, रिमांश थापामगर र अस्मिता तिलिजामगरले ताज पहिरिनका लागि अन्तिम प्रतिस्पर्धा गर्न लागेका हुन् ।
गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले उद्घाटन गर्ने मिस मगर नेपाल–२०१९ को प्रमुख निर्णायकका रुपमा नेपाल बार एशोसिएसनका केन्द्रीय उपाध्यक्ष अधिवक्ता सुरेन्द्र थापामगर, निर्णायक संयोजक पोखरेली युवा सांस्कृतिक परिवारका पूर्वअध्यक्ष शिव थापामगर, नेपाल मगर संघ, कास्कीका वरिष्ठ उपाध्यक्ष प्रेमबहादुर थापामगर, नेपाल मगर महिला संघकी केन्द्रीय सदस्य फूलकुमारी थापामगर, नेपाल मगर पत्रकार संघका केन्द्रीय सचिव एवं नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजका केन्द्रीय सदस्य मनोज घर्तीमगर र मिस मगर नेपाल–२०१४ की सेकेण्ड रनर अप मेनका पल्लीमगर निर्णायकका रुपमा रहने कार्यक्रम निर्देशक थापामगरले जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाल आइडल सिजन–२ की उत्कृष्ट ७ मा पर्न सफल गायिका नीलिमा थापामगर, बुगीवुगीकी फष्ट रनर अप प्रगति पुनमगरको विशेष गायन तथा नृत्य प्रस्तुती र मगर जातिको संस्कृति झल्कने विभिन्न सांस्कृतिक प्रस्तुती समेत रहने कार्यक्रम संयोजक इनिशा दुरामगरले जानकारी दिनुभयो ।

मिस मगर नेपाल–२०१९ का प्रतियोगीहरूले विभिन्न विषयमा विभिन्न प्रशिक्षकहरूबाट प्रशिक्षण लिएको प्रशिक्षण संयोजक रूद्र श्रीसमगरले जानकारी दिनुभयो ।
सन् २०११ मा नेपाल मगर संघ कास्कीको आयोजनामा प्रथम मिस मगर पोखरा भएको थियो । त्यसपछि सन् २०१२ मा मिस मगर पोखराको दोस्रो संस्करण र सन् २०१४ मा मिस मगर नेपालका नामबाट तेस्रो संस्करणको प्रतियोगिता भएको थियो ।