सोमबार, बैशाख ०७, २०८३

राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा सरकारबाट आठ पत्रकार सम्मानित

काठमाडौं । राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा सरकारबाट आठजना पत्रकार सम्मानित भएका छन् । मंगलबार राष्ट्रपति भवन शितल निवासमा आयोजित राष्ट्रिय पत्रकारिता दिवस तथा पुरस्कार वितरण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले आठ पत्रकारलाई सम्मानसहित पुरस्कृत प्रदान गरेकी हुन् ।

नागरिक खबर डटकमको प्रकाशक नेपालश्री मल्टिमिडिया प्रालिका अध्यक्ष रहेका डण्ड गुरुङ राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७५ बाट सम्मानित भएका हुन् । उनीसहित छ जना पत्रकार जनही एक लाख राशीको सो पुरस्कारबाट सम्मानित भएका छन् ।

वरिष्ठ पत्रकारिता सम्मान–२०७५ बाट बद्रीबिनोद प्रतीक र तीर्थ कोइराला सम्मानित भएका छन् । वरिष्ठ पत्रकारिता सम्मान जनही दुई लाख नगद राशीको छ ।
राष्ट्रिय पत्रकारिता पुरस्कारबाट खिलबहादुर भण्डारी, उमिद वागचन्द, माधव विद्रोही, निर्मला शर्मा र माला कर्ण पुरस्कृत भएका छन् ।

पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रेस स्वतन्त्रता लोकतन्त्रको सुदृढीकरणका लागि महत्त्वपूर्ण भएको बताइन् । उनले लोकतन्त्र र उत्तरयादी पत्रकारिताको सम्बन्ध घनिष्ठ रहेको उल्लेख गरिन् ।

‘लोकतन्त्र र पत्रकारिता एकको अनुपस्थितिमा अर्कोको उपस्थिति जीवन्त हुँदैन,’ राष्ट्रपति भण्डारीले भनिन्, ‘पत्रकारिताले सबैलाई उत्तरदायी बनाउनुपर्दछ । साथै आफै पनि उत्तरदायी हुनुपर्दछ ।’

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले यो वर्ष प्रेसका लागि स्वर्ण वर्ष भएको बताए । उनले प्रेस स्वतन्त्रतामाथि तरबार चलाइएको भनेर निराधार आरोप लगाइएको बताए ।
‘यो वर्ष प्रेसको लागि स्वर्ण वर्ष हो,’ उनले भने, ‘कसैले भने जस्तो प्रेसमाथि संकुचन लगाउने, तरबार चलाउने काम गरिएको छैन ।’

कार्यक्रमा पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले गणतन्त्र ल्याउन, विभिन्न तहका निर्वाचन सफल पार्न पत्रकार महासंघको महत्वपूर्ण भूमिका रहेको भन्दै समृद्ध नेपाल निर्माणमा पनि भूमिका हुने बताए ।