टोकियो । कालिकोटको रास्कोटस्थित सामुदायिक अस्पताल निर्माण सहयोगका लागि जापानमा आर्थिक संकलन गरिएको छ । संकलित रकम २० लाख ६१ हजार २९५ जापानी येन सोमबार पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको हो ।
जापानमा उक्त रकम रास्कोट सामुदायिक अस्पताल निर्माणार्थ आर्थिक सहयोग अभियान टिम जापानको सक्रियतामा संकलन गरिएको हो । आर्थिक अभियान टिम जापानकै सहकार्यमा जापान बाहिरका देशबाट पनि २ लाख ९० हजार ३०७ रुपैया नेपालमा पठाइएको जानकारी पनि पत्रकार सम्मेलनमा गराइयो । यो रकम २३ जना सहयोगी दाताहरुबाट संकलन गरिएको हो ।
रकम नेपालमा उक्त अस्पताल निर्माणका लागि संयोजन गरिरहेका पत्रकार रबि लामिछानेलाई हस्तान्तरण गरिनेछ ।पत्रकार रबि लामिछाने सहितको टिम अहिले रास्कोट अस्पताल निर्माणका लागि काम गरिरहेको छ ।
रकम जापानमा बिभिन्न पेशा ब्यवसाय गरिरहेका ३सय ४१ जना सहयोगी नेपालीहरु बाट संकलन गरिएको रास्कोट अस्पताल निर्माण आर्थिक सहयोग संकलन टिम जापानका अभियन्ता मध्येका एक शिव तन्डुकारले जानकारी दिए ।रकम सोमबार इजीलिंक रेमिटट्यान्सका प्रतिनिधिलाई नेपाल पठाउनका लागि हास्तान्तरण गरिएको छ । रकम नेपालमा रबि लामिछाने फाउन्डेशनको खातामा जम्मा हुनेछ । इजिलिंक रेमिटट्यान्सले पनि उक्त अस्पताल निर्माणका लागि सहकार्य गरिरहेको थियो ।
आर्थिक संकलन अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद दिदै अभियन्ता शिव तन्डुकारले रास्कोट सामुदायिक अस्पतालले नेपालका दुर दराजका जनताहरुको लागि राहत हुने धारणा राखे ।‘आफु र आफन्तलाई धेरैले सहयोग गर्छन् तर मानवताको नाताले आफ्नो बाहेकलाई सहयोग गर्ने धेरै हुँदैनन्, तर हाम्रो अभियानमा मानवताको नाताले देश र गरिब जनताप्रति एकजिम्मेवार नागरिकको नाताले धेरै व्यक्तिहरूबाट आर्थिक तथा नैतिक सहयोग र साथ प्राप्त भएको छ। तपाईहरू सबै प्रति हाम्रो टीम हार्दिक कृतज्ञता व्यक्त गर्दछ।’ अभियन्ता तन्डुकारले भने ।
जापानमा रास्कोट अस्पतालका लागि ज्वाला संग्रौला , शिव तन्डुकार, एचबी ताम्राकार, अर्जुन लम्साल, समुन्द्र श्रेष्ठ, गिरिजा गैर्हे, दिपा घिमिरे, ज्याक खड्का, रविन शर्मा र दिपक बाबु नेपालको सक्रियतामा आर्थिक रकम संकलन गरिएको थियो ।
रविन शर्माले संचालन गरेको सोमबारको उक्त कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष मोहन घले, एनआरएनए अाइसीसी सदस्य कपिलदेव थापा, एनआरएनए जापानकी उपाध्यक्ष अनिता गुरुङ, कोषाध्यक्ष कालिका थापा, महासचिब बुद्धिराज घिमिरे लगायतले रास्कोट आर्थिक संकलन अभियानको प्रशंसा गर्दै आफ्ना धारणा राखेका थिए ।


तस्विर : दुर्गा प्रसाद आचार्य/जापान

