शनिबार, बैशाख ०८, २०८१

नेपाली चित्रकलामा चम्कदैं २५ वर्षीय युवा मिलन

ललितपुर । नेपाली चित्रकलाको क्षेत्रमा आफनो उज्यालो भविष्य खोज्दै आएका मिलन सापकोटा यति वेला चित्रकलामा चम्कदैं आएका छन् ।
उमेरले २५ वर्ष पुगेका मिलनले चित्रकला थालेको २ वर्ष मात्र हुँदैछ । यो २ वर्षे अवधिमा विभिन्न व्यक्ति तथा सेलिब्रेटीहरुको तस्विर बनाएर यतिबेला उनी पनि सामाजिक संजालमा सेलिब्रेटी झैँ भएका छन् ।
सानो उमेरदेखि चित्रकलामा रुची भएपनि उनको चित्रकलाको यात्रा अलिक भिन्न छ । चित्रकला पेशा अंगाल्नु अघि उनले धेरै व्यवसायमा हात हालेको बताए । उनले चित्रकलाको सुरुवात गर्नु अघि जुत्ता पसल खोले, त्यसबाट सोचेजस्तो आम्दानी लिन नसकेपछि फाइनान्स, फामेर्सीहुँदै विभिन्न व्यवसायमा हात हाले तर हरेक व्यवसायमा उनी असफल रहे । असफलतानै सफलताको संकेत हो भन्ने कुरा बुझेर बचपनमा आफूँले बनाएको तस्बिरले विद्यालयमा शिक्षकहरुको स्याब्बासी पाएको कुरा संझेर उनले चित्रकलालाई निरन्तरता दिए ।
उनले युटुब तथा सामाजिक संजालबाटनै सिकेर यतिबेला उत्कृष्ट चित्रकारहरुको संज्ञामा आफ्नो नाम सुरक्षित गराइसकेका छन् ।
उत्कृष्ट चित्रकारहरुको संज्ञामा आफ्नो छुट्टै नाम दर्ता गराउनु उनका लागि चानचुने कुरा थिएन । उनले सुरु सुरुमा बनाएको केही तस्बिरहरु सामान्य मात्र थिए ।

एउटा सामान्य तस्विर बनाउन ८ देखि १२ घन्टा सम्म लाग्ने बताएका उनले स्केच अनुसारको राम्रै पारिश्रमिक पनि पाइरहेका छन् । एउटा मात्र अनुहार भएको स्केच बनाउँदा एक हजार देखि एक हजार पाँच सय सम्म लिने र दुईरतीन जना अनुहार भएको स्केच बनाउँदा तीन हजार देखि पाँच हजार सम्म लिने गरेको उनले बताए । सापकोटाले स्नातक तह उत्तीर्ण गरिसकेका छन् भने आगामी दिनमा पढाई र स्केच दुवैलाई निरन्तरता दिने बताए ।